प्रदेश २ को नाम ‘मिथिला भोजपुरा’ र राजधानी ‘जनकपुरधाम’ तोक्न कांग्रेसद्वारा प्रस्ताव दर्ता

नेपाली कांग्रेसले प्रदेश नम्बर २ को नाम ‘मिथिला भोजपुरा’ र राजधानी ‘जनकपुरधाम’ तोक्न प्रदेशसभा सचिवालयमा प्रस्ताव दर्ता गराएको छ । 

प्रदेशसभा सचिवालयका सचिव रञ्जित कुमार यादवले दिएको जानकारी अनुसार प्रदेशको नामकरण ‘मिथिला भोजपुरा’ हुनुपर्ने भन्दै नेपाली कांग्रेसका प्रदेशसभा सदस्य शिवचन्द्र चौधरीले प्रस्ताव दर्ता गराएका छन् । 

उनको प्रस्तावमा प्रदेशसभा सदस्यहरु मन्जु कुमारी र प्रमिला देवी दासले समर्थन जनाएका छन् । 

त्यस्तै, पार्टीका प्रमुख सचेतक प्रदेशसभा सदस्य उपेन्द्रप्रसाद कुशवाहाले प्रदेशको स्थायी राजधानी ‘जनकपुरधाम’ कायम हुनुपर्ने भन्दै प्रस्ताव दर्ता गराएका छन् । उनको प्रस्तावमा प्रदेशसभा सदस्यहरु नरेश कुमार यादव र विरेन्द्रप्रसाद सिंहले समर्थन जनाएका छन् । 

यसअघि, प्रदेशको नामकरण र स्थायी राजधानीका लागि नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी र नेकपा एमालेका सांसदहरुले प्रदेशसभा सचिवालयमा प्रस्ताव दर्ता गराइसकेका छन् ।

नामकरणका लागि जसपाका प्रदेशसभा सदस्य शैलेन्द्र कुमार यादव र माओवादी केन्द्रका प्रदेशसभा सदस्य भरतप्रसाद साह तथा राजधानीका लागि जसपाका प्रदेशसभा सदस्य परमेश्वर साह तथा माओवादी केन्द्रका प्रदेशसभा सदस्य भरतप्रसाद साहले प्रस्ताव दर्ता गराएका थिए । 



दुवै दलका प्रदेशसभा सदस्यहरुले प्रदेशको नाम ‘मधेश’ र स्थायी राजधानी ‘जनकपुरधाम’ कायम हुने गरी सचिवालयमा प्रस्ताव दर्ता गराइसकेका छन् ।

जसपाको तर्फबाट राजधानी ‘जनकपुरधाम’ को सवालमा परमेश्वर साहको प्रस्तावमा प्रदेशसभा सदस्यहरु चमेली देवी दास, सञ्चमाया मोत्तान र मिरा कुमारी साहले समर्थन जनाएका छन् भने नामकरण ‘मधेश’ प्रदेशको सवालमा शैलेन्द्र कुमार यादवको प्रस्तावमा प्रदेशसभा सदस्यहरु रानी कुमारी तिवारी र बबिता कुमारीले समर्थन जनाएका छन् ।



त्यस्तै, माओवादी केन्द्रको तर्फबाट राजधानी ‘जनकपुरधाम’ र नामकरण ‘मधेश’ प्रदेशको सवालमा संसदीय दलका नेता भरतप्रसाद साहले दर्ता गराएको प्रस्तावमा प्रदेशसभा सदस्यहरु जगतप्रसाद यादव र दिलिप कुमार साहले समर्थन जनाएका छन् ।

त्यस्तै, नेकपा एमालेले प्रदेशको नाम ‘जानकी’ र राजधानी ‘जनकपुरधाम’ हुनुपर्ने भन्दै प्रदेशसभा सचिवालयमा प्रस्ताव दर्ता गराइसकेको छ । यसअघि पनि पहिलो पटक भएको प्रदेशको राजधानी र नामको प्रस्तावमा नेकपाले राजधानी जनकपुर र नाम जानकी दर्ता गराएको थियो । 

प्रदेशसभामा कूल १०७ सांसद छन् । जसमध्ये आफ्ना चार सांसदलाई माओवादी केन्द्रले पदमुक्त गरिसकेको छ । अहिले सत्तारूढ जसपाका ५५, माओवादी केन्द्रका ७, एमालेका २१, कांग्रेसका १९ र नेपाल समाजवादी पार्टीका एक सांसद छन् ।

प्रस्ताव पारित गराउन १०३ सांसदको दुईतिहाइ अर्थात् ६९ सांसद चाहिन्छ । सत्तारूढ जसपा र माओवादी केन्द्रका सांसद जोड्दा ६२ पुग्छ । मधेस प्रदेश पारित गर्न अझै ७ सांसद आवश्यक पर्छ ।

प्रदेश २ सरकारले प्रदेशको नाम र राजधानी तोक्न नसकेको भन्दै कडा आलोचना भइरहेको समयमा प्रदेश सभाले वैशाख २ गते प्रदेशको नाम र राजधानीका लागि दिउँसो ३ बजेसम्म प्रदेशसभा सचिवालयमा प्रदेशको नामकरण र स्थायी राजधानी तोक्ने सम्बन्धी प्रस्ताव दर्ता गराउन आह्वान गरेको थियो ।

  • प्रकाशित मिति : बैशाख ९, २०७८ बिहीबार १५:३२:१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया