आगामी बजेटमा तीन खर्ब घटाउने तयारी, नयाँ आयोजनामा हातै नहाल्ने !

सरकारले आगामी आर्थिक वर्ष २०७८–७९ को बजेट घटाउने तयारी गरिरहेको छ । आगामी आर्थिक वर्षको बजेट निर्माण प्रक्रिया चलिरहँदा सिलिङ घटाएर बजेटको आकार चालू आर्थिक वर्षभन्दा सानो बनाउने तयारी गरेको हो । बजेटको स्रोत व्यवस्थापनमा समस्या देखिने भएपछि विकास खर्चमा ठूलो कटौती गरी बजेटको आकार नै घटाउने  तयारी भइरहेको अर्थमन्त्रालय स्रोतले जानकारी दिएको छ । 

स्रोतका अनुसार सरकारले आगामी बजेट कोभिडलक्षित गर्नेछ । चालू आर्थिक वर्षमा कोरोना महामारी छिट्टै नियन्त्रणमा आउने अनुमान गरेर बजेट ल्याएकाले पछि जथाभावी रकमान्तर गर्नुपरेको थियो । सोही कुरालाई ध्यानमा राख्दै आगामी आर्थिक वर्षको बजेट कोभिडमुखी बन्न लागेको स्रोतको भनाइ छ ।

आगामी आर्थिक वर्षका लागि आउने बजेटमा सरकारले तीन खर्बभन्दा बढी घटाउने तयारी गरिरहेको छ । अर्थ मन्त्रालय बजेट महाशाखा स्रोतका अनुसार आगामी आर्थिक वर्षको बजेट १० खर्बको हाराहारीमा आउन सक्नेछ । चालू आर्थिक वर्षको बजेट सिलिङ १४ खर्ब ७४ अर्ब थियो । तर, सरकारले अर्धवार्षिक समीक्षाका क्रममा बजेटमा संशोधन गरी डेढ खर्बभन्दा बढी रकम घटाउँदै १३ खर्ब १४ अर्ब अनुमान गरेको छ । 

यद्यपि, राजस्वबाहेकका स्रोतमा दबाब सिर्जना भएपछि बजेट घाटामा रहने अनुमान गरिएको छ । बजेटको आन्तरिक र बाह्य स्रोतमा दबाब सिर्जना भएपछि आगामी आवको बजेट बनाउनुपूर्व नै चनाखो भएको स्रोतले जनाएको छ । ‘यही वर्ष स्रोतमा दबाब सिर्जना भएको छ । धन्न अहिलेसम्मको स्थितिमा आन्तरिक राजस्व लगभग लक्ष्यअनुसार नै उठिरहेको छ,’ मन्त्रालय स्रोत भन्छ,  ‘बाह्य स्रोतमा समस्या भइसकेको छ । आगामी आवमा यो समस्या झनै आउने अनुमान गर्दै बजेटको आकार घटाउने तयारी भइरहेको हो ।’

अर्थमन्त्री विष्णु पौडेलका आर्थिक सल्लाहकार डा. प्रकाश श्रेष्ठले पनि आगामी आर्थिक वर्षको बजेट घटाउनैपर्ने बताएका छन् । ‘चालू आर्थिक वर्षको बजेट खर्चको अवस्था नै कमजोर छ । त्यसमाथि स्रोतमा पनि दबाब परेको छ,’ फरकधारसँग कुरा गर्दै उनले भने, ‘आगामी आर्थिक वर्षमा कोरोनाले झनै अप्ठेरो पार्ने अवस्था सहजै अनुमान गर्न सकिन्छ । जसले बजेटको स्रोतमा झन् ठूलो दबाब पर्ला ।’ यसकारण बजेटको आकार घटेर आउने र त्यसैअनुसार मन्त्रालयले तयारी गरिरहेको सल्लाहकार डा. श्रेष्ठले बताए ।

पूर्वगर्भनर दीपेन्द्रबहादुर क्षत्रीले पनि आगामी आर्थिक वर्षको बजेटको आकार घट्नुपर्ने बताएका छन् । क्षत्रीले फरकधारसँग भने, ‘अहिले पनि खर्च नै नभएको अवस्था छ । आगामी वर्ष कोभिडको अवस्था झन् भयावह हुने देखिन्छ । यो अवस्थामा ठूलो बजेट ल्याएर के गर्ने ?’



 नयाँ आयोजनामा हातै नहाल्ने !

आगामी आर्थिकको वर्षको बजेटमा विकास खर्चमा ह्वात्तै कटौती गर्ने सरकारी तयारी छ । मन्त्रालय स्रोतका अनुसार सरकारले आगामी आवमा चलिरहेका विकास आयोजनाबाहेक नयाँ बजेट नल्याउने तयारी गरेको छ । 



यसले आगामी आर्थिक वर्षमा विकास क्षेत्र निकै प्रभावित हुने विश्लेषक बताउँछन् । १५औँ योजनाअनुसार धमाधम विकास निर्माण गर्नुपर्नेमा एक आर्थिक वर्षभरि ढुक्क भएर विकास निर्माण ठप्पप्रायः गर्नु योजनाविपरीत भएको विश्लेषक क्षत्रीको टिप्पणी छ ।

उनी भन्छन्, ‘सरकारले विकासका लागि काम नै गर्दैैन । समस्या समाधान बजेटले मात्रै हुने त होइन । हामी देखी नै रहेका छौँ, सरकारले विकास खर्च गर्दै नगर्ने आर्थिक वर्षको अन्तिममा आएर जथाभावी रकमान्तर गर्ने डरलाग्दो अवस्था ।’ तर, नयाँ आयोजनाबारे सोच्दै नसोच्ने परिस्थतिले त झन् भयावह स्थिति ल्याउने कुराचाहिँ १५ आयोजनाको सिद्धान्तविपरीत भएको उनले बताए । 

सरकारले आगामी आर्थिक वर्षको बजेट कार्यक्रमका लागि अहिले सुझाब संकलन गरिरहेको छ । यसैगरी, चालू आर्थिक वर्षको बजेट सर्वेक्षणका लागि पनि काम गरिरहेको अर्थ मन्त्रालयले जानकारी दिएको छ ।

संविधानअनुसार सरकारले जेठ १५ गते संघीय बजेट संसदमा प्रस्तुत गरिसक्नुपर्ने हुन्छ भने प्रदेश सरकारले असार १ गते बजेट ल्याइसक्नुपर्ने हुन्छ । यसैगरी, असार १० गतेभित्र स्थानीय तहले आफ्नो वार्षिक बजेट पेस गरिसक्नुपर्ने हुन्छ ।  

  • प्रकाशित मिति : बैशाख ११, २०७८ शनिबार २०:८:१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया