गण्डकी प्रदेशसभा बैठक बस्दै, जोगिएला त मुख्यमन्त्री गुरुङको कुर्सी ?

आजदेखि गण्डकी प्रदेशसभाको विशेष अधिवेशन सुरु हुँदैछ । विशेष अधिवेशन अन्तर्गत आज दिउँसो २ बजे प्रदेशसभाको बैठक डाकिएको छ । 

प्रदेशसभाको पहिलो बैठकमा मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ विरूद्धको अविश्वास प्रस्ताव टेबुल हुनेछ । यसअघि, वैशाख १ गते आफूविरुद्ध अविश्वास प्रस्ताव आएपछि मुख्यमन्त्री गुरुङले संसदको चालु अधिवेशन अन्त्य गराएका थिए ।

जसको विरोधमा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टीलगायतका दलहरुले प्रदेश प्रमुख समक्ष समावेदन गर्दै विशेष अधिवेशन माग गरेका थिए ।

सोही आवेदनअनुसार आज प्रदेशसभा बैठक बस्न लागेको हो । बैठकको आज पहिलो दिन अविश्वास प्रस्ताव टेबल भएपछि सबै दलका नेताले आफ्ना धारणा राख्ने र भोलि मुख्यमन्त्रीले जवाफ दिने कार्यसूची तय भएको छ ।

मुख्यमन्त्रीको जवाफपछि भोलि नै अविश्वास प्रस्ताव निर्णयार्थ प्रस्तुत गरी मतदान हुनेछ । विपक्षी गठबन्धनले नयाँ मुख्यमन्त्रीमा नेपाली कांग्रेसका कृष्ण चन्द्र पोखरेललाई प्रस्ताव गरेको छ ।

६० जना सदस्य रहेको गण्डकी प्रदेशसभामा अविश्वास प्रस्ताव पास हुन ३१ मत आवश्यक हुन्छ ।





  • प्रकाशित मिति : बैशाख १३, २०७८ साेमबार ८:४६:८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया