‘विवाहलाई सम्झौता भन्दामाथि सोच्यो भने दुर्घटना हुन्छ’
फरकधार / १३ बैशाख, २०७८

आमाको काखमा लुट्पुटिने समय। चाहेका हर कुरा भेटिने भण्डार जस्तै लाग्थ्यो आमाको हात। संसारका हर खुसी भेटिने मायालु काख। यो काख ६ वर्षको कलिलो उमेरमै खोसियो। आमाको मृत्युपछि बुवाले कान्छी आमा भित्र्याए। यही उमेरबाट बुवासँग दूरी बढ्यो। जिन्दगीको यो पाटोलाई हेर्ने हो भने डा. कृष्णहरि बरालको बाल्यकाल केही दुःखद् रह्यो। 

आमाको मृत्युपछि हजुरबुवा हजुरआमाका प्रिय भएका उनको जीवन अन्य हिसावले भने त्यत्ति कष्टकर भएन। कृष्णहरि बरालको बाल्यकाल कमिलासँग खेलेर बित्यो। उनी बाटोमा हिँड्दै गरेका कमिलालाई घाम पानीबाट जोगाउन सुरक्षित घर बनाउँथे र सारिदिन्थे। उनलाई लाग्थ्यो पानीमा भिज्दा यी कमिलाहरूलाई कति धेरै जाडो हुँदो हो। 

कमिला र माहुरीसँग खेल्न मन पराउने बराललाई स्कुल भने भेडाले तान्यो । सायद उनी ७ वर्षका थिए। आमा गुमाएको पछिल्लो साल हुनुपर्छ। उनका पिताले उनलाई ‘भेडा हेर्न जान्छस् केटा हिँड्’ भनेर घरबाट लगेका थिए। भेडा हेर्न घरबाट निस्किएका उनी स्कुल पुगे। गोठालो भनेर उनलाई बुवाले स्कुल लगेका रहेछन्। उनलाई अहिले सम्झिँदा स्कुल नै भनेको भए पनि जान्थेँ होला, किन बुवाले त्यसो भनेर लानुभयो भन्ने लाग्छ। त्यसपछि सुरु भयो बरालको स्कुले जीवन। 

उनले पढ्ने स्कुल दुईकोठे थियो। २ जना मात्रै थिए शिक्षक पनि। तर पढाइ हुन्थ्यो ७ कक्षासम्मको। डा. बरालले यही दुईकोठे ७ कक्षासम्मको अध्ययन  पूरा गरे।

उनको नामकरण कृष्णहरि भनेर त्यही स्कुलमा भएको हो। त्यसअघि उनलाई गाउँमा सबैले सुब्बा सा'ब भनेर बोलाउँथे। कृष्णहरि बराल नाम उनका गुरु गुञ्जेश्वरले राखिदिएका हुन। 

सानैबाट भलाद्मी बराल गुरुहरूका आदर्श चेला थिए। उनले स्कुल जीवनमा जम्मा २ पटक गुरुको गाली खाएका छन्। एक पटक छन्द कविता पढेको निहुँमा, अर्को चितुवाको पासो हेरेको निहुँमा। नत्र उनी पढाइमा अब्बल विद्यार्थी थिए।

सिन्धुलीपछि जनकपुरको यात्रा 

७ कक्षासम्म आफ्नै गाउँमा पढेपछि उनी जनकपुर हानिए। जनकपुरमा उनले बीएसम्मको अध्ययन गरे। जनकपुरले बराललाई पढ्न मात्रै होइन लेख्न पनि सिकायो। लेखेका कुराले स्थानिय पत्रपत्रिकामा स्थान पाए। तिनै पत्रपत्रिकाबाट सुरु भएको हो डा. कृष्णहरि बरालको लेखन कार्य। 

त्यो समय प्रेम पत्र लेख्ने खूब चलन थियो। गाउँमा रहदा बरालको मनमा कोही बसेनन्। एक त गाउँका स्कुलमा छोरी मान्छे निक्कै कम हुन्थे। अर्को उनको उमेर पनि कच्चै थियो। अध्ययनका लागि जनकपुर पुगेपछि भने महिलाहरूको संख्या पनि बाक्लै देखिन्थ्यो। 

त्यहाँको गाउँ र त्यहाँका मान्छेसँग बरालको मन डराउँथ्यो। त्यसैले पनि पत्रको प्रयोग हुने त्यो समय उनले प्रेम पत्र कोर्न पाएनन्। अहिले सम्झिँदा लाग्छ जीवनमा एउटा पाटोको अनुभव छुटि गएछ उमेर र डरसँगै। 

बरालको राजधानी यात्रा 

अहिलेको काठमाडौं त्यो बेलाको नेपाल थियो। काठमाडौं आउनेहरू नेपाल जाने भन्थे। फर्किएपछि नेपाल गएर आएको भन्थे। नेपाल (काठमाडौं) गएर आएको भनेपछि गाउँमा अर्कै इज्जत हुन्थ्यो।

काठमाडौंबाट फर्किने गाउँलेका घरमा झण्डै एक महिना भीडभाड हुन्थ्यो। काठमाडौं आउन अहिलेको जस्तो सहज थिएन। त्यसैले पनि धेरैलाई काठमाडौंका बारेमा उत्सुकता थियो। काठमाडौंबाट फर्किनेहरूलाई ‘कस्तो रहेछ नेपाल?’ भनेर सोध्ने जमात ठूलो हुन्थ्यो।

सिन्धुलीबाट काठमाडौं आइपुग्न ४ दिनको पैदल यात्रा गर्नुपर्थ्यो। त्यो अप्ठ्यारोबाट काठमाडौं आइएला भनेर कृष्णहरि बरालले कहिल्यै सोचेकै थिएनन्। न त उनको सपना नै थियो। उनको सपना जनकपुर वरिपरि मात्रै फैलिएको थियो। उनले जनकपुरमै जागिर खाने उद्देश्यले बैकको अफिसरका लागि फारम भरेका थिए। तर, संयोगले त्यसको परीक्षा काठमाडौंमा हुने भयो। परीक्षा दिन काठमाडौं आएका उनी त्यसपछि काठमाडौंमै बसे।

३३ सालमा बीए पास गरेर काठमाडौं पसेका सुरुवाती दिनमा एउटै यात्राको बाटोमा ३ पटकसम्म हराए। बाटोमा जति पटक हराउँदै भेटिँदै गरेपनि उनको लेखनको बाटो राजधानी छिरेपछि भने झन मजबुत बन्दै गयो।

बरालको सांगीतिक यात्रा 

भालेको डाँक भन्दा पहिला हजुरआमाले गाउने श्लोकबाट प्रभावित भएर साहित्य लेखनमा लागेका बराललाई लेखनमा उनका पिताको पनि भरणपोषण थियो। उनी लेखेर पत्रपत्रिकामा पठाउँथे तर स्थान पाउँन निक्कै गाह्रो थियो। 

लेख्नु प्रकाशन हुन नपाउनु त्यो भन्दा ठूलो समस्या केहि थिएन जस्तो लाग्छ उनलाई।

जनकपुरमै हुँदा उनी रेडियो नेपालको प्रश्नोत्तर कार्यक्रममा खूब चिठ्ठी लेख्थे। त्यही बाटोबाट उनी रेडियो नेपाल पनि तानिए। रेडियोमा गीत रेकर्ड भएर बज्ला र आज गीतकारका रुपमा यो स्थान बन्ला भनेर उनले सपनामा पनि सोचेका थिएनन्। उनी भावले भित्रबाट घचघच्याएर लेख्थे। संयोगले काठमाडौं आए। काठमाडौं आउँदा उनी छक्क परेका थिए। काठमाडौं सहर देखेर। 

राजधानी आउनुअघि लेख्न छाप्न नपाउनु मात्रै समस्या झेलेका बरालका जीवनमा राजधानी प्रवेशसँगै अरु थुप्रै समस्याहरू थपिए। स्कुल पढाउन थाले। रेडियो गए। गीत रेकर्डिङको बाटो खुल्यो।

रेडियोको पत्रमञ्जूषामा खसालेका १० गीतबाट सांगीतिक यात्राको थालनी गरेका बरालका त्यही समय ६ वटा गीत स्वीकृत भएर रेडियोमा रेकर्ड भए। उनको पहिलो गीत ‘म भक्त हुँ यो देशको’ परिबन्दले रेकर्ड भएको हो। तर, त्यो गीतले जुन किसिमको लोकप्रियता हासिल गर्यो, त्यसयता उनले कहिले पछाडि फर्किनु परेन। 

प्रेम र जीवनका कुरा 

बराललाई प्रेम प्रकृति र विवाह संस्कृती हो भन्ने लाग्छ। उनलाई प्रेमका पनि प्रकार हुन्छन् भन्ने लाग्छ। धेरै माया प्रेमका गीत लेखेका बराल साइनो र सम्बन्ध अनुसारको प्रेम फरक हुने बताउँछन्। बरालले पनि प्रेमलाई मागी विवाहमा परिवर्तन गरेका हुन्। प्रेम भनेर विवाहअघि उनकी श्रीमतीसँग उनको उति ठूलो दोस्ती थिएन। 

तर, विवाह अघि नै आफ्नी श्रीमतीसँग चिनजान भएका हिसाबले आफूले आंशिक रुपमा प्रेम तथा मागी विवाह दुवै गरेको बताउँछन्। तर, उनले विवाहलाई केवल जीवन ज्यूने सम्झौता मात्रै हो भनेका छन्। विवाहलाई सम्झौता भन्दा माथि सोच्यो भने अप्ठ्यारो हुने उनको बुझाइ छ। 

  • प्रकाशित मिति : बैशाख १३, २०७८ साेमबार १३:३३:३९,   अन्तिम अपडेट : बैशाख १३, २०७८ साेमबार १७:१६:७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्


यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया