माया त माया हो...
अस्पतालले बेड दिएन, पतिलाई बचाउन सकिनन्

भारतमा तीव्र गतिमा फैलिएको कोरोनाका कारण सर्वसाधारणले उपचार नै नपाइ ज्यान गुमाइरहेका छन्। कोरोनाको सुनामी आएपछि आर्थिक अवस्था कमजोर भएका सर्वसाधारणले भारतका अस्पतालमा बेड पाउनै मुस्किल भएको छ।

कोरोनाले फोक्सोमा गम्भीर संक्रमण ल्याएपछि निमोनिया ब्यहोरिरहेका कयौँ बिरामीले अक्सिजनको सहारा नपाउँदा सडकमै ज्यान गुमाइरहनु परेको छ। भारतमा एकपछि अर्को दिन कोरोना संकट बढिरहँदा कहाली लाग्दा र हृदयविदारक तस्बिर सार्वजनिक भइरहेका छन्।

भारतीय अनलाइन अमरउजालाले सार्वजनिक गरेको एउटा तस्विरले जो कोहीलाई पनि भावुक बनाउँछ। कोरोना संक्रमणपछि गम्भीर बिरामी परेका आफ्ना पतिलाई अस्पताल पुगेकी एक महिलाले पतिलाई बचाउन गरेको प्रयासले जो कोहीको हृदय हल्लाउँछ।

आइतवार अमरउजालाले सार्वजनिक गरेको उक्त तस्बिर भारतको उत्तरप्रदेशस्थित आगरा सहरको हो। जहाँ कोरोनाबाट गम्भीर बिरामी परेका आफ्ना पतिलाई अस्पताल लिएर गएकी ती महिलाले बेड नै पाउँदिनन्। ​

अक्सिजन अभावमा छटपटाइरहेका पति देखेर उनले मन सम्हाल्न सकिनन्। पतिको पीडा देखेर अत्तालिएकी ती महिलाले अटो रिक्सामै आफ्नो मुखबाट अक्सिजन दिन गरिएको प्रयासको फोटोले भारतको अहिलेको संकटको झलक दिइरहेको छ।



साधारणतया कोरोना संक्रमण सानो एउटा थुकको छिटाबाटै कयौँ मानिसमा सर्छ। अझ भारतमा फैलिएको कोरोनाको युके भेरियन्ट कयौँ गुणा छिटो फैलिन सक्छ।

यस्तोमा कोरोना भाइरसको दोस्रो लहरमा अक्सिजन संकटबीच उत्तर प्रदेशको आगरामा मानिसको मन हल्लाइदिने तस्बिर भाइरल भएको हो। यो घटना शुक्रवार दिउँसो करिब १ बजेको हो। त्यसबेला एकजना महिला आफ्ना बिरामी पतिलाई अटोमा लिएर एसएन मेडिकल कलेज पुगिन्। उनका पतिलाई सास लिन समस्या भएको थियो। 



तर अस्पतालमा बेड अभावमा तत्काल उपचार नपाएपछि पत्नीले आफ्नै मुखबाट पतिलाई अक्सिजन दिने प्रयास गरिरहिन्। तर उनको दुर्भाग्य लाखौँ कोसिसका बावजुद पतिलाई बचाउन सकिन्। 

कोरोका कारण आगराको आवास विकास सेक्टर नम्बर सात निवासी ४७ वर्षीय रवि सिंघलको अवस्था खराब भएको थियो। सास लिन समस्या भएपछि उनको अवस्था जटिल भएको थियो। 

त्यसपछि पत्नी रेणु सिंघल र परिवारका सदस्यले रविलाई श्रीराम हस्पिटल, साकेत हस्पिटल र केजी नर्सिङ होम पुर्‍याए। तर ती तीनै अस्पतालमा बेड खाली नभएपछि उपचार के भर्ना पनि गर्न सकेनन्।

अन्तिममा रेणु सिंघल अटोमा बिरामी पतिलाई लिएर एसएन मेडिकल कलेज पुगिन्। उनले पतिको अवस्था देखेर पटक पटक आफ्नै मुखबाट अक्सिजन दिने प्रयास गरिरिहन्। तर एसएन मेडिकल कलेजमा डाक्टरले हेरेपछि उनलाई मृत घोषित गरिदिए। तर रेणुलाई यो कुराको विश्वास नै भएन। उनका आँसु थामिन मानिरहेका थिएनन्। 

अक्सिजन संकटका कारण उत्तर प्रदेशस्थित आगराका ३४ निजी कोभिड अस्पतालमा गम्भीर बिरामीका लागि जीवन रक्षक उपकरण पनि उपलब्ध छैनन्। ३४ कोभिड अस्पतालमा अक्सिजन ग्यास नमिल्दा ३५० भन्दा धेरै नेजल क्यानुला, बाईपेप, भेन्टिलेटर बन्द छन्। बिरामीलाई त्यहाँ सिधै सिलिन्डरबाट अक्सिजन दिइँदैछ।

  • प्रकाशित मिति : बैशाख १३, २०७८ साेमबार १८:५२:५३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया