कोरोना कहर : कुन कुन जिल्लामा जारी भयो निषेधाज्ञा ?
५ सय बढी संक्रमित भएका स्थानमा कडा नियम

एक सातामै कोरोनाको दोस्रो लहरले डर लाग्दो रुप लिएपछि देशका विभिन्न स्थानमा धमाधम निषेधाज्ञा जारी हुन थालेको छ। संघीय सरकारले देशभर लकडाउन नगर्ने नीति लिएपछि संक्रमण धेरै फैलिएका जिल्लामा स्थानीय प्रशासनले निषेधाज्ञा जारी गर्न थालेका हुन्।

संघीय सरकारले कोरोना नियन्त्रणका लागि निषेधाज्ञा, लकडाउन र अन्य उपाय लागु गर्ने जिम्मेवारी स्थानीय प्रशासन र स्थानीय सरकारमै सुम्पिएको छ। अर्थतन्त्रलाई थप क्षति हुन नदिने रणनीति बनाएको संघीय सरकारले संक्रमण ५० सयभन्दा धेरै सक्रिय संक्रमित रहेका जिल्लामा क्रमश: कडाइ गर्दै जाने नीति लिएको हो।

अहिले देशका नौ भन्दा धेरै जिल्लामा ५ सयमाथि संक्रमित रहेका छन्। ५ सयमाथि सक्रिय संक्रमित रहेका जिल्लाहरुमा काठमाडौं, भक्तपुर, ललितपुर, बाँके, चितवन, दाङ र मोरङसहित रहेका छन्। 

कहाँ कहाँ निषेधाज्ञा 

उपत्यकामा 

काठमाडौं उपत्यकाका तीनै जिल्लामा बिहीबारदेखि लागु हुने गरी निषेधाज्ञा घोषणा गरिएको छ। बिहीबार राति १२ बजेदेखि एक साताका लागि निषेधाज्ञा जारी गरिएको हो।



स्थानीय प्रशासनले काठमाडौं उपत्यकामा एक साता लामो निषेधाज्ञा जारी गरेका छन्। काठमाडौं, भक्तपुर र ललितपुरका जिल्ला प्रशासन कार्यालयले वैशाख १६ गते विहान ६ बजेदेखि वैशाख २२ गते मध्यराति १२ बजेसम्मका लागि निषेधाज्ञा जारी गरेका हुन् ।

निषेधाज्ञा जारी भए अनुसार सार्वजनिक एवम् निजी सवारी साधन सञ्चालनमा वैशाख १६ गते बिहान ६ बजेदेखि २२ गते राति १२ बजेसम्म उपत्यकाभर रोक लगाइएको छ ।



नेपाल सरकारका कर्मचारी, बैंक, अत्यावश्यक क्षेत्रमा काम गर्ने कर्मचारी, सञ्चारकर्मीहरूलाई परिचयपत्रका आधारमा आवतजावत गर्न दिइने प्रशासनले जनाएको छ। प्रशासनहरुले काठमाडौं उपत्यकामा प्रवेश गर्ने सबैले अनिवार्य क्वारेन्टाइनमा बस्नुपर्ने नियम पनि तोकेको छ।

निषेधाज्ञामा काठमाडौँ उपत्यका भित्र निजी तथा सार्वजनिक यातायातका साधन सञ्चालन गर्न पूर्ण रूपमा बन्द गरिएको छ । यस्तै सरकारी कार्यालयहरु पनि अत्यावश्यकबाहेक सबै बन्द गरिएको छ।

‘निषेधाज्ञामा काठमाडौँ उपत्यका भित्र निजी तथा सार्वजनिक यातायातका साधन बन्द गरिएको छ',  काठमाडौंका प्रजिअ कालीप्रसाद पराजुलीले भने, 'कर्मचारीहरुलाई पनि पासका आधारमा मात्रै आउन जान दिइनेछ।'

सरकारको निर्णय

यसैबीच सोमबार बसेको मन्त्रिपरिषद् बैठकले काठमाडौं उपत्यकाका तीन जिल्ला, २०० भन्दा बढी संक्रमित भएका पहाडी जिल्ला र ५०० भन्दा बढी संक्रमित भएका तराईका जिल्लामा लकडाउन गर्ने निर्णय गरेको छ।

यससँगै पहिलो चरणमा ५ सय भन्दा धेरै संक्रमित भएका ९ बढी जिल्लामा लकडाउन हुने पक्का भएको छ। सोमबार दोस्रो लहरकै सबैभन्दा धेरै करिब ३५ सय संक्रमित भेटिएका थिए। काठमाडौंमा मात्रै १९ सय संक्रमित भेटिएका छन्।  

सुर्खेतमा भोलिदेखि

कोरोनाको दोस्रो लहरसँगै अवस्था भयावह हुन थालेपछि कर्णाली प्रदेशको राजधानी सुर्खेतमा एक सातालाई निषेधाज्ञा जारी भएको छ । कोरोना सङ्क्रमण फैलिँदै गएपछि चेन ब्रेक गर्न जिल्ला कोभिड–१९ विपद् व्यवस्थापन केन्द्रको आज बसेको बैठकले एक साताका लागि निषेधाज्ञा जारी गर्ने निर्णय गरेको हो ।

वैशाख १४ गते राति १२ बजेदेखि एक हप्तासम्म निषेधाज्ञा जारी हुने भएको छ। नागरिकको भीड कम गरी सङ्क्रमण फैलन नदिन निषेधाज्ञा जारी गरिएको सुर्खेतका प्रमुख जिल्ला अधिकारी छविलाल रिजालले बताए। 

प्रशासनले अत्यावश्यकीय सेवा प्रवाहका लागि खानेपानी, विद्युत्, बैंक तथा वित्तीय क्षेत्रमा सुरक्षा मापदण्ड पालना गर्न निर्देशन दिएको छ ।

बर्दियामा निषेधाज्ञा

बाँके र बर्दियामा पनि कोरोनाले भयावह रुप लिएको छ। खास गरी बाँकेमा सक्रिय संक्रमितकै संख्या २५ सय नाघेको छ। छिमेकी जिल्ला बर्दियामा पनि संकट बढ्दै गएपछि निषेधाज्ञा घोषणा गरिएको छ। बर्दियामा सङ्क्रमण दिनहुँ बढ्दै गएपछि जोखिम कम गर्न एक साताका लागि निषेधाज्ञा जारी गरिएको छ ।

जिल्ला प्रशासन कार्यालयमा बसेको बैठकले कोरोना भाइरसको जोखिम कम गर्न सोमबार राति १२ बजेदेखि लागु हुने गरी यही वैशाख १९ गतेसम्म निषेधाज्ञा जारी गरेको हो ।

निषेधाज्ञा अवधिभर स्वास्थ्यका मापदण्ड पालना गरी अत्यावश्यक सेवा तथा विकासनिर्माणबाहेक सम्पूर्ण सेवा र कार्यमा प्रतिबन्ध लगाइएको प्रमुख जिल्ला अधिकारी सन्तबहादुर सुनारले बताए।

बाँकेमा पनि 

दोस्रो लहरको कोरोनाले सबैभन्दा भयावह रुप बाँकेमा लिएको छ। बाँकेमा कोरोनाका बिरामीले उपचारसमेत पाउन नसक्ने अवस्था निम्तिएको छ। अस्पताल भरिभराउ छन् भने चिकित्सक र स्वास्थ्यकर्मी पनि धमाधम संक्रमित भइरहेका छन्। 

बाँकेमा सक्रिय संक्रमित नै २५ सय ५८ छ। त्यहाँको नेपालगन्ज र कोहलपुरमा यही वैशाख ९ गतेदेखि सात दिनका लागि निषेधाज्ञा जारी गरिएको छ। जुन अब जिल्लाभर कायम गरिएको छ।

जिल्ला प्रशासन कार्यालय बाँकेले  सोमवार रातिबाट लागू हुनेगरी निषेधाज्ञाको जारी गरेको हो। निषेधाज्ञा अवधिभर अतिआवश्यक कामबाहेक घरबाट ननिस्कन प्रशासनले आग्रह गरेको छ। 

एम्बुलेन्स, दमकल, शववाहन, सुरक्षाकर्मी र स्वास्थ्यकर्मीहरुले मात्रै सवारी साधन प्रयोग गर्न पाउने छन्। उक्त आदेशको अवज्ञा गर्नेलाई संक्रामक रोग ऐन, २०२० तथा स्थानीय प्रशासन ऐन २०२८ बमोजिम कारबाही गरिने छ। 

यसअघि वैशाख ९ बाट नेपालगञ्‍ज र कोहलपुरमा निषेधाज्ञा जारी गरिएको थियो। प्रमुख जिल्ला अधिकारी शिवराम गेलालले नेपालगन्ज, कोहलपुरमा गरिएको लकडाउन प्रभावकारी नभएर कोरोना फैलिँदै गएपछि जिल्लाभर जारी गर्नुपरेको बताए। बाँकेमा कोरोनाबाट ८५ जनाको मृत्यु भइसकेको छ। त्यहाँ बाहिरी जिल्लाबाट उपचारमा ल्याएका एक सय तीन जनाको मृत्यु भएको छ ।

कास्कीमा पनि 

कोरोना संक्रमण फैलिँदै गएपछि कास्कीमा पनि पनि निषेधाज्ञा जारी गरिएको छ। यही वैशाख १५ गते बिहानदेखि २१ गतेसम्म अत्यावश्यकबाहेक सबै काम बन्द गर्दै जिल्ला प्रशासन कार्यालय कास्कीले निषेधाज्ञा जारी गरेको हो।

कार्यालयले भिड हुने सबै क्षेत्र बन्द गरेको छ। तर काठमाडौंमा जस्तो सार्वजनिक र निजी यातायात रोकेको छैन। प्रशासनले बुधबारदेखि यातायातमा जोरबिजोर प्रणाली लागू गरेको छ।

कोभिड १९ व्यवस्थापन केन्द्र (सिसिएमसी)को आइतबार बसेको बैठकले सहरी क्षेत्रमा ५ सयभन्दा बढी सक्रिय संक्रमित भेटिएको ठाउँमा लकडाउनको निर्णय लिएको थियो। कास्कीमा सक्रिय संक्रमितको संख्या ६ सय ६४ छ। त्यहाँ कोरोनाबाट १२० जनाको ज्यान गएको छ। सोमबार थप २ जनाले ज्यान गुमाए।

कैलालीमा आंशिक

कोभिड–१९ संक्रमण बढ्न थालेपछि कैलालीमा स्थानीय प्रशासनले आंशिक निषेधाज्ञा जारी गरेको छ । प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजालको अध्यक्षतामा बसेको संकट व्यवस्थापन केन्द्रको बैठकले भिड हुने क्षेत्रमा रोक लगाएको छ।

जिल्ला प्रशासन कार्यालय कैलालीका अनुसार जिल्लाको धनगढी उपमहानगरपालिकाका सबै विद्यालय बन्द गरिएको छ। अरु स्थानीय तहलाई पनि १० दिनसम्म विद्यालय बन्द गर्न भनिएको छ। 

सिनेमा हल, पार्टी प्यालेस, डान्स बार, दोहोरी, नाचघर, क्लब, हेल्थ क्लब, जिमखाना, स्वीमिङ फुल, हाटबजार, फुटसल बन्द गर्न आदेश दिइएको सूचना अधिकारी शिवराज जोशीले बताए । 

जोशीले सभा, सम्मेलन र जुलुस गर्न बैशाख मसान्तसम्म रोक लगाइएको बताए। मठ, मन्दिर, गुम्बा, चर्च लगायतका धार्मिक स्थलमा जनस्वास्थ्यको मापदण्ड पूरा गरी नित्य पूजा, ध्यान र प्रार्थना मात्रै गर्न पाइने भएको छ ।

  • प्रकाशित मिति : बैशाख १३, २०७८ साेमबार २२:२३:५८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया