रेस्लिङ आफैंमा कठिन शारीरिक खेल हो । यसलाई सानै उमेरमा आत्मसाथ गरेर लागेकी खेलाडी हुन् अस्मिता सुनार । खोटाङमा जन्मे-हुर्केकी अस्मिता १६ वर्षकै उमेरमा काठमाडौं आएर रेस्लिङ खेल्न थालिन् । खेलको यात्राले उनलाई एउटा उपनाम थपिदियो ‘जुरेली’ । गुरु हिमालयन टाइगर (भरतबहादुर विष्ट) ले उनलाई यो नाम दिएका हुन् ।
परिवारको सहमति बेगर नै उनी यसमै रमाउन थालिन् ।
२२ वर्षीय अस्मिताले आफ्नै संघर्षले अर्को उपनाम जोडिन ‘रेस्लर लेडी’ । हालसम्म उनले तीनभन्दा बढी अन्तर्राष्ट्रिय खेलमा नेपालको प्रतिनिधित्व गरेकी छन् ।
खेल जीवनमा संघर्षका कथा सबैका आआफ्नै हुन्छन् । त्यसमा पनि महिला खेलाडीले भोग्ने कठिनाइ बेग्लै ।
महिनावारी, महिला खेलाडीका लागि व्यवधान खडा गर्ने एउटा कडी हो । उनको मासिक चक्रको आफ्नै कथा छ ।
महिनावारी हुँदा बार्नु परेको पीडा
१४ वर्षको उमेरमा अस्मिता पहिलो पटक रजस्वला भइन् । उनी खोटाङमै थिइन् । घरमा बसिरहेकी उनलाई आफ्नो गोप्य अंगबाट बगेको रगत देखेर अलिकति डर लाग्यो । बिस्तारै सम्हालिइन् । यो मासिक धर्म हो । उनले ठम्याइन् । त्यसबेला उनी कक्षा ९ मा पढ्थिन् ।
गाउँघरमा महिनावारी हुँदा कपडाको प्रयोग गर्नु पर्थ्यो । उनले पनि त्यसै गरिन् । उनलाई पहिलो पटक महिनावारी हुँदा अर्काको घरमा लगेर लुकाइयो । सात दिनसम्म घरको धुरी हेर्न हुँदैन भनियो । उनले आफ्नो घर हेर्नसम्म पनि पाइनन् । ती सात दिन सात वर्ष जस्तै बिताइन् ।
घरमा असाध्यै माया पाएर हुर्केकी उनी हजुरआमाकी असाध्यै प्यारी थिइन् । महिनावारी भएर घरबाहिर बस्नुपर्दा उनले हजुरआमाको काख एकदमै सम्झिइन् ।
पढेर महिनावारी के हो ? जानकारी लिएकी अस्मिताले परेर भोगिन् । यता नछुनू उता नछुनू भनेको सुन्दा र भोग्दा मनभित्र कता-कता विद्रोहको भावना उम्लेर आउँथ्यो । त्यही व्यवहारले छोरा र छोरीबीचको सामाजिक भिन्नता थाहा पाइन् । ‘खाएका प्लेटहरू पनि कसैले नछुने गरी छुट्टै राख्नुपर्ने’, उनी भन्छिन्, ‘छोरा र छोरीको विभेद मैले महिनावारी भएपछि धेरै थाहा पाएँ ।’
त्यसपछिका महिनावारीमा उनले घरै त्याग्नु त परेन, तर आफ्नै घरमा पराई जस्तै भएर बस्नुपर्ने कुराले भने पीडा दिइरह्यो । भोक लाग्दा खान नपाइने, मन लागेकै ठाउँमा जान नपाइने थुप्रै बन्देजहरू महिनाबारीले लगायो । ‘घरमा भएका पुरुषभन्दा फरक हुँदा दुःख लाग्दो रहेछ’, उनले भनिन्, ‘नछुनु भनेका ठाउँमा लुकेर सबैतिर छोएँ । खै त आकाश खसेन क्यारे ।’
महिनावारीकै समयमा रिङमा
रेस्लिङ खेलमा अन्य खेलभन्दा बढी शारीरिक पीडा भोग्नुपर्ने हुन्छ । उनी भन्छिन्, ‘रिङमा उत्रिँदा आफ्नो ज्यानको बाजी राखेर खल्छौं । आफ्नो ज्यान केही भई हालेमा पनि आफैं जिम्मेवार हुन्छु भनेर हस्ताक्षर गरेर रिङमा छिर्नुपर्छ ।’ यस्तो खेलमा शारीरिक पीडा, उचाल्ने र पछार्ने यसै पनि भइरहेको हुन्छ ।
‘महिनावारीका बेला रिङमा उत्रिन निकै गाह्रो हुन्छ’, उनी भन्छिन्, ‘पेट दुख्ने पीडा एकातिर प्रतिद्वन्द्वीलाई परास्त गर्न आफूले गर्नुपर्ने संघर्ष यी बेग्लै पाटा हुन् ।’ उनले प्रतियोगिताकै समयमा महिनावारीको पीडा थुप्रैपटक बेहोरेकी छन् ।
‘प्रतियोगिताकै बेला महिनावारी भइरहेको हुन्छ । त्यसैका कारण रिङबाट बाहिरिनु भने परेको छैन ।’ उनी महिनावारीलाई सामान्य रूपमा लिन्छिन् । प्रायः राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगिता भइरहेका बेला महिनावारी हुने गरेको उनको अनुभव छ । खेलमा धेरै तौल उचाल्नुपर्छ । तौल बढी उचाल्दा सामान्यभन्दा ३० प्रतिशत बढी रगत बग्ने उनी सुनाउँछिन् ।
प्रशिक्षक जुरेली
सानै उमेरबाट रेस्लिङ क्षेत्रमा लागेको भएर होला २२ वर्षकै उमेरमा १२ जना विद्यार्थीकी गुरु बनेकी छन् उनी । उनी भन्छिन्, ‘हाम्रो पालामा केटासँग ट्रेनिङ गर्नुपर्थ्यो । अहिले हामी ट्रेनिङ गराउँछौं । छोरी मान्छेलाई छोरामान्छेसँग ट्रेनिङ लिँदा धेरै ‘अप्स्ट्रयाक’ आउँथ्यो अहिले सिक्न खोज्ने छोरीमान्छेलाई मै सिकाउँछु उनीहरूलाई निकै सजिलो हुन्छ ।’
महिला भएपछि कहाँ हान्दा के असर पर्छ भन्ने खुल्न विद्यार्थीहरूलाई सजिलो हुने उनको अनुभव छ । विद्यार्थीहरूलाई महिनावारीको कुरा बताउँदा उनी आफ्नै उदाहरण दिने गर्छिन् ।
खेल जीवनमा प्रतियोगिता र ट्रेनिङ निकै महत्त्वपूर्ण हुन्छन् । महिनावारी हुँदा वा नहुँदा जहिल्यै आवश्यक पौष्टिक खाद्यपदार्थमा ध्यान दिनुपर्ने जुरेलीले बताइन् । डाइटमा उनी प्रोटिनयुक्त खानेकुराहरू बढी खाने गर्छिन् । खेलमा लागेपछि महिला पुरुष दुवैले खाने कुरामा ध्यान दिनुपर्ने उनले बताइन् । स्वास्थ्य वर्धक खाना खानु पर्छ । डाइटसँगै ड्रेसअप पनि महिनावारीका बेला एकदमै महत्त्वपूर्ण हुन्छ । उनी भने महिनावारीको समयमा टाइट कपडा लगाउँछिन् । लामो र चौडा आकारका प्याडको प्रयोग गर्छिन् । खेलको समयमा ३/४ वटा प्याड र टाइट कपडा लगाएर मात्र रिङमा उत्रिन्छिन् ।
महिलाले महिनावारी हुनुलाई नकारात्मक रूपमा लिनु हुँदैन । उनी भन्छिन्, ‘हरेक महिलालाई यो मासिक चक्र हुनु जरुरी छ । यदि कसैलाई समयमा महिनावारी हुँदैन । आवश्यकभन्दा बढी मात्रामा रगत बग्छ, शारीरिक पीडा बढी हुन्छ भने डाक्टरसँग परामर्श लिनुपर्छ । महिलाका लागि महिनावारी अत्यावश्यक कुरा हो ।’
खेल क्षेत्रमा लागेका महिलाहरूले महिनावारीलाई अत्यावश्यक र सामान्य प्रकृतिक प्रक्रियाको रूपमा लिई आफ्नो खेलमा ध्यान दिनुपर्ने उनले बताइन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।