अक्सिजन उद्योगी भन्छन्, 'कोरोना महामारीमा अभाव हुन दिँदैनौँ'
काठमाडौं उपत्यकामा मात्रै दैनिक ५ देखि ८ हजार सिलिन्डर ग्यास आवश्यक

मुलुकमा कोरोना भाइरसको दोस्रो लहर फैलिँदै गएको छ । दोस्रो लहरको कोरोना संक्रमण दर बढ्दै गएसँगै आमनागरिकले अक्सिजन पाइने हो कि होइन भन्ने चिन्ता व्यक्त गरिरहेका छन् । दोस्रो लहरको कोरोना संक्रमणको चपेटमा रहेको भारतमा अक्सिजन सपोर्ट नपाउँदा संक्रमितको ज्यान गइरहेको अवस्थामा नेपालमा समेत मेडिकल अक्सिजनको उपलब्धताको विषयलाई लिएर चिन्ता व्यक्त गर्न थालिएको हो ।

भारतमा जस्तै नेपालमा समेत अक्सिजनको अभाव हुने पो हो कि ? भन्ने आम मानिसको चासो र चिन्ताको विषय बनेको छ । कोरोना भाइरसको संक्रमण देखिएका बिरामीलाई सास फेर्न गाह्रो भएपछि अक्सिजनको सपोर्टमा राख्ने गरिन्छ । तर, अक्सिजन उपलब्धताको विषयबारे ठोस जानकारी नआउँदा आम नागरिकमा चिन्ता बढेको देखिन्छ ।

दैनिक ४० हजार सिलिन्डरको आवश्यकता पर्न सक्छ : संघ

कोरोना संक्रमितका लागि अत्यावश्यक अक्सिजन सिलिन्डर पर्याप्त मात्रामा नहुँदा चिन्ता बढ्दै गएको छ ।

नेपालमा कोभिड-१९ को दोस्रो लहरको संक्रमणसँगै जटिल अवस्थाका बिरामीलाई प्राणवायु अर्थात् अक्सिजनको अभाव हुने हो कि भन्ने चिन्ता बढेको छ । चिन्ता यसकारण पनि बढेको छ कि भारतमा अहिले गम्भीर अवस्थाका बिरामी अक्सिजनकै अभावमा ज्यान गुमाउन बाध्य भइरहेका छन् । यस्तो अवस्थामा भारतबाट नेपालमा अक्सिजनसहितको सिलिन्डर वा खाली सिलिन्डर पनि आउने सम्भावना छैन ।

मुलुकमा यति बेला करिब २५ हजार अक्सिजन सिलिन्डर उपलब्ध रहेको नेपाल अक्सिजन ग्याँस उत्पादक संघका अध्यक्ष गौरव शारडा बताउँछन् । अहिले नेपाललाई आफ्नै उत्पादनको अक्सिजनले मात्र नपुग्ने देखिएको उनको जिकिर छ । मुख्य गरी उपत्यकामा कोरोनाको महामारी अत्यधिक बढ्दै गएकाले उपत्यकामा अक्सिजन धेरै खपत हुन सक्ने देखिएको शारडा बताउँछन् । पछिल्लो समय कोरोनाको हटस्पट उपत्यका बन्दै गएको छ ।



अध्यक्ष शारडा भन्छन्, ‘यसरी उपत्यकामा कोरोना संक्रमणको स्थिति भयावह बनेमा दैनिक ६ देखि ८ हजार थान अक्सिजन सिलिन्डर आवश्यक पर्न सक्छ ।’ यस्तै, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले काठमाडौं उपत्यकामा मात्रै दैनिक ५ देखि ८ हजार सिलिन्डर ग्यास आवश्यक हुने तथ्यांक अक्सिजन उद्योगलाई उपलब्ध गराएको छ । साथै देशभर दैनिक ४० हजार सिलिन्डर अक्सिजनको माग हुन सक्ने अनुमान मन्त्रालयले गरेको छ ।

आवश्यक परेका बेला उपयोग गर्न सकिने गरी अक्सिजन उपलब्ध गराउने सरकारले पछिल्लो समय अक्सिजन उत्पादक (व्यवसायी)हरू सँग छलफल  गरेको संघले जनाएको छ ।



कति छन् अक्सिजन उद्योग ?

अध्यक्ष शारडाका अनुसार यति बेला मुलुकमा साना तथा ठूला गरी कुल २० वटा अक्सिजन उत्पादन गर्ने उद्योग रहेका छन् । जसमध्ये उपत्यकामा ८ उद्योग छन् भने उपत्यका बाहिर १२ वटा अक्सिजन उत्पादन गर्ने उद्योग छन् । ती सबै उद्योग पूर्ण रुपमा सञ्चालनमा आए दैनिक २५ हजार सिलिन्डर अक्सिजन उत्पादन गर्ने सक्ने शारडा बताउँछन् ।

यसका साथै केही ठूला अस्पतालमा आफ्नै अक्सिजन प्लान्ट समेत छन् । ती प्लान्टबाट उत्पादित अक्सिजन ती अस्पतालमा पर्याप्त मात्रामा पुग्ने गर्छ । तर, केही अस्पतालमा भने प्लान्ट बिग्रिएका कारण उद्योगका अक्सिजन र सिलिन्डरमा भर पर्नु पर्ने पछिल्लो अवस्था छ ।

काठमाडौं उपत्यकामा रहेका ८ वटा उद्योगमध्ये ७ वटाले उत्पादित अक्सिजन बजारलाई उपलब्ध गराउने गरेको शारडाले बताए । एउटा सिसा उद्योगले आफ्नो लागि मात्र अक्सिजन उत्पादन गर्ने गरेको छ ।  अन्य बाँकी उद्योगले भने बजारकै लागि उत्पादन गर्ने गरेको उनले जानकारी गराए ।

उपत्यकामा रहेका उद्योगहरू पूर्ण क्षमतामा सञ्चालन नहुँदै दैनिक ८ हजार सिलिन्डर अक्सिजन उत्पादन गर्न सक्ने उनले बताए । यस्तै, काठमाडौं बाहिर विराटनगर, रुपन्देही, दाङ लगायतका सहरमा थुप्रै अक्सिजन उद्योग रहेकाले उनीहरूलाई समेत सक्रिय बनाएमा अक्सिजनको अभाव नहुने उनको भनाइ छ । नेपालमा उत्पादन हुने अक्सिजनमध्ये ३० देखि ४० प्रतिशत औद्योगिक प्रयोगमा खपत हुने गर्छ ।

महामारी बढ्दै गएपछि पछिल्लो समय अक्सिजनको माग भने पहिलेको तुलनामा बढेको अध्यक्ष शारडा बताउँछन् । यस्तै ठूला उद्योगहरूमा समेत अक्सिजनको प्रयोग हुने हुँदा आगामी दिनमा अक्सिजनको अभाव हुन सक्ने उनको ठम्याइ रहेको छ ।

अक्सिजन प्रयोग हुने उद्योग बन्द गर्ने सरकारको तयारी

स्वास्थ्य तथा जनसख्या मन्त्रालयले अक्सिजन प्रयोग गरिने उद्योगधन्दा केही समयका लागि बन्द गर्न उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई आग्रह गरेको छ । मन्त्रालयले उद्योग मन्त्रालयलाई पत्र लेख्दै कोभिड-१९ का संक्रमितको उपचारमा अक्सिजन अभाव हुन नदिनका लागि उद्योगधन्दा केही समय बन्द गर्न आग्रह गरेको हो ।

मन्त्रालयका वरिष्ठ सहायक प्रशासक डा. समीरकुमार अधिकारीले  भारतमा संक्रमणको अवस्था खराब भई अक्सिजन नपाएर संक्रमितको मृत्यु भइरहेकाले नेपालमा पनि त्यस्तो अवस्था नआओस् भन्नका लागि त्यस्ता उद्योगधन्दा केही समय बन्द गर्न मन्त्रालयलाई केही दिन अघि नै पत्राचार गरिसकेको छ ।

पत्रमा ‘अक्सिजनसहित अक्सिजन सिलिन्डरको कालोबजारी, विदेश पैठारी भई स्वदेशमा अप्ठयारो हुने अवस्थाको सिर्जना हुन नदिन, नेपाली बजारमा प्रशस्त अक्सिजन र अक्सिजन सिलिन्डरको व्यवस्था गर्न तथा अस्पतालमा उपचारका लागि प्रयोग हुने अक्सिजन उद्योगधन्दामा केही समयका लागि प्रयोग बन्द गर्न वा बन्द गर्न नसकिने अवस्थामा निकै कम खपत गर्न’ उल्लेख गरिएको छ ।

अक्सिजनभन्दा सिलिन्डरको अभाव

नेपालमा अहिले २० देखि २५ हजार अक्सिजन सिलिन्डर रहेको अनुमान छ । ४० हजार सिलिन्डर आवश्यक परे १५ देखि २० हजारको हाराहारीमा थप सिलिन्डर आवश्यक पर्ने देखिन्छ । नेपालमा अहिले अक्सिजनको भन्दा सिलिन्डरको अभाव रहेको अध्यक्ष शारडाको भनाइ छ । गम्भीर प्रकृतिका बिरामी नबढे अहिलेकै सिलिन्डरले माग धान्ने भए पनि यस्ता बिरामी बढेमा १५ देखि २० हजार सिलिन्डरको माग हुने देखिएको छ ।

‘मेरै उद्योगमा ८ हजार सिलिन्डर छन्,’ अध्यक्ष शारडाले भने, ‘तर आलोपालोमा प्रयोग गरिएको सिलिन्डर फिर्ता नआउँदा अक्सिजन उत्पादन नै गर्न सकिएको छैन । अहिले अक्सिजन उत्पादनको होइन, सिलिन्डरको अभाव हो ।’

हाल प्रचलनमा रहेका ३७ लिटरको सिलिन्डर खरिदका लागि १८ हजार रुपैयाँ पर्छ । त्यस्तै, साना १० लिटरका सिलिन्डरको दाम १० देखि १२ हजार रुपैयाँसम्म छ । तर, अक्सिजनको दाम ठूलो सिलिन्डरको ४ सय रुपैयाँ र सानो सिलिन्डरको २ सय २५ रुपैयाँ पर्छ ।

धरौटी राख्ने र आलोपालो भरेर पठाउने गरिएकाले घरमा वा अस्पतालमा सिलिन्डर थन्क्याएर राखिदिँदा १८ हजार रुपैयाँ लगानी थन्किन्छ । अहिलेको महामारीको बेला त झनै सिलिन्डर थन्क्याएर राख्दा अक्सिजनकै अभाव हुने भएकाले आफूले लगेको सिलिन्डर खाली भए सकेसम्म चाँडो फर्काइदिए सजिलो हुने उनले बताए ।

‘हिजो आज अक्सिजनसँगै सिलिन्डर खोज्ने मानिसको संख्या पनि बढेको छ । एउटा भए पनि मलाई सिलिन्डर चाहियो भन्न थालेका छन् ।’ अक्सिजन उत्पादक संघका अध्यक्ष शारडाले भने, ‘मानिसहरुले सिलिन्डर लगेर घरमा भण्डारण गर्न लागेका छन् ।’ अध्यक्ष शारडाका अनुसार कोरोना संक्रमितको सपोर्टका लागि प्रयोग हुने अक्सिजनका सिलिन्डर धोएर तथा पूर्ण रुपमा सेनिटाइज गरेर पुनः प्रयोगमा ल्याइन्छ ।

२० हजार थान सिलिन्डर आयात गर्ने तयारी

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले २० हजार थान अक्सिजन सिलिन्डर आयातका लागि व्यवसायीलाई भन्सार छुट गरिदिन अर्थमन्त्रालयमा केही दिन अघि सिफारिस पत्र पठाएको थियो । अक्सिजन आयातकर्तासँगको छलफलपछि स्वास्थ्य मन्त्रालयले अक्सिजन सिलिन्डर आयातका लागि भन्सार छुट गरिदिन अर्थमन्त्रालयलाई सिफारिस पत्र पठाएको हो ।

उक्त सिफारिस पत्रलाई ध्यानमा राख्दै अर्थले सिलिन्डर आयातमा कर छुट गर्ने निर्णय पनि गरिसकेको छ । केही दिनअघि अक्सिजन सिलिन्डर आयातकर्ताले स्वास्थ्य मन्त्रालयलाई २० हजार थान अक्सिजन सिलिन्डर आयात गर्ने र त्यसका लागि सरकारले भन्सार छुटको व्यवस्था गर्नुपर्ने माग गरेका थिए । सरकारले त्यसको सम्बोधन गरेको हो ।

कोरोना संक्रमण तीव्र रुपमा बढेसँगै नेपालमा संक्रमतिको उपचारमा अक्सिजन अभाव हुने देखिएको छ । अक्सिजन अभाव हुने देखिएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले यसको व्यवस्थापनका लागि आयातकर्ता तथा मन्त्रालय अन्तर्गतका निकायसँग पटक-पटक छलफल गरेको छ ।

आयातकर्ताको प्रस्तावअनुसार स्वास्थ्य मन्त्रालयले भन्सार छुट गर्न अर्थ मन्त्रालयलाई पत्राचार गरेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले बताएका छन् । उनले भने, ‘अक्सिजन आयातकर्ताले भन्सार छुट गरिदिए तत्काल अक्सिजन सिलिन्डर ल्याउन सक्छौँ भनेपछि स्वास्थ्यले भन्सार छुट गरिदिन अर्थलाई सिफारिस गरेको थियो ।’

पछिल्लो समय कोरोना संक्रमणको दरसँगै अक्सिजन आवश्यक पर्ने बिरामीको संख्या पनि बढ्न थालेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

नेपालले भारतबाट अक्सिजन आयात गर्दै आएको छ । भारतमा कोरोना संक्रमण व्यापक रूपमा फैलिएसँगै उतै अक्सिजन अभाव हुन थालेको छ ।  संक्रमणको दर बढ्दै जाँदा भारतले अक्सिजन निर्यात बन्द गरे नेपालमा अक्सिजन अभाव हुन सक्ने भन्दै स्वास्थ्य मन्त्रालय अक्सिजन व्यवस्थापनको गृहकार्यमा लागको छ । स्वास्थ्य मन्त्रालयले अक्सिजन प्लान्ट, लिक्विड अक्सिजन प्लान्ट तथा अक्सिजन सिलिन्डर कुन खरिद गर्न सहज  हुन्छ, सोही अनुसार प्रक्रिया अघि बढाउने जनाएको छ ।

यता, स्वास्थ्य सेवा विभागको व्यवस्थापन महाशाखाका निर्देशक डाक्टर भीमसिंह टिंकरीका अनुसार स्वास्थ्य मन्त्रालयले  अक्सिजनको आयात र उपलब्धताको विषयमा आयातकर्तासँग नियमित छलफल गरिरहेको छ ।

डा टिंकरीका अनुसार स्वास्थ्य मन्त्रालयले  कोरोना संक्रमितको चाप रहेका भेरी अस्पताल, वीर अस्पताल, राप्ति स्वास्थ्य विज्ञान प्रतिष्ठान, राजविराज अस्पताल, हेटौंडा अस्पताल, सेती प्रादेशिक अस्पताल, पोखराको अस्पतालमा लिक्विड अक्सिजन प्लान्ट व्यवस्थापन गर्ने तयारी समेत गरिसकेको छ ।

  • प्रकाशित मिति : बैशाख १६, २०७८ बिहीबार ८:१०:९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया