आइसियुबाट सांसद शाहीको वक्तव्य : बेहोस  भएर अस्पताल आएँ, जनमोर्चाको निर्णयमा प्रतिवद्ध छु

गण्डकी प्रदेश सांसद खिमविक्रम शाहीले राष्ट्रिय जनमोर्चा पार्टीको निर्णयप्रति प्रतिवद्धता कायमै रहेको बताएका छन्। राष्ट्रिय जनमोर्चाका सांसद खिमविक्रम शाहीले आफू बेहोस भएर अस्पताल भर्ना भएको भन्दै अतिरञ्जित शैलीमा प्रचार नगर्न आग्रह गरेका छन्।  

पोखराको चरक अस्पतालको आइसियुबाटै विहीबार विज्ञप्ति निकालेर बुधबार प्रदेशसभाको बैठकमा जान तयारी अवस्थामा रहेको बेला स्वास्थ्यमा समस्या देखिएपछि अस्पताल जाने क्रममा बेहोस भएको दाबी गरेका छन्। 

‘म सदनमा जाने भनेर तयारी अवस्थामा रहेका बेला अचानक बिरामी भई भाइलाई सम्पर्क गरेर स्वास्थ्योपचारका लागि अस्पताल लैजाने क्रममा म बेहोस भएछु', उनले भने, 'म अहिले अस्पतालमा उपचाररत छु।’

सांसद शाहीले आफ्नो स्वास्थ्यमा सुधार भइरहेकाले आफूविरुद्ध उठेका प्रश्नको जवाफ दिने पनि बताएका छन् । ‘मेरो स्वास्थ्यमा क्रमिक सुधार आएको महसुस भएको', उनले थपेका छन्, 'स्वस्थ भएपछि मेरोबारे उठेका प्रश्नबारे स्पष्ट पार्नेछु।’

सांसद शाहीले आफैं धारणा बनाएर खबर प्रकाशित नगर्न पनि पत्रकारलाई आग्रह गरेका छन् । पार्टीको निर्णय र संसदीय दलको बैठकमा गरिएको निर्णयमा आफ्नो पनि सहभागिता रहेकाले ती निर्णयप्रति सहमति रहेको पनि उनले बताएका छन् ।

शाही अहिले पोखरामा रहेको चरक अस्पतालको आईसीयूमा उपचाररत रहेका छन् । उनलाई कोरोना संक्रमण पुष्टि भएको बताइएको छ । पहिलो परीक्षणमा कोरोना पुष्टि भएका उनको दोस्रो रिपोर्ट नेगेटिभ आएको थियो। त्यसपछि गरिएको तेस्रो परीक्षणमा कोरोना देखिएको छ।



 



  • प्रकाशित मिति : बैशाख १६, २०७८ बिहीबार १४:२५:२७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया