पहिलो गीतबाटै हिट भएका युवराज
भन्छन् : जिन्दगीको हर पहिलो अनुभव खास हुन्छ

आकाशबाट पानी बर्सिरहेथ्यो, आमाका आँखाबाट आँसु । ती दुईमध्ये कुनको वजन भारी हुनुपथ्र्यो ? त्यतिबेला उनलाई थाहा थिएन। उनी अर्थात् अहिलेका लोकप्रिय गायक युवराज चौलागाईं । आफ्नै सपनाको भारीले गह्रुँगो बनाएको थियो । त्यो गह्रुँगो भारी बोकेर तय गर्नुपर्ने थियो एउटा लामो यात्रा ।

हुन त युवराजले सानैबाट दुई सपना देखे । एउटा गीत गाउने, अर्को खेलाडी बन्ने । तर, के खेल्ने थाहा थिएन । पहिलो सपना छाडेर गायनमा भन्दा पहिला उनी खेलतिर मोडिए । मार्सल आर्ट्स खेले । मार्सल आर्ट्सको ब्ल्याक बेल्ट हुन् उनी । खेलमा पनि केही गर्ने सपना थियो । तर, रहर थियो गीतसंगीत । सपनालाई रहरले जित्यो । उनले खेल छोडेर गायनमा आउने निधो गरे ।

खेलभन्दा प्यारो संगीत

खेल छाड्नै पर्ने कारण चाहिँ के थियो ? उनी भन्छन्, ‘केही थिएन’, ‘खेल्दै गर्दा संगीत बिर्सन सकिनँ । खेल र गीत–संगीत सँगसँगै लैजान सकिँदैन रहेछ । मेरो हृदयको भित्री कुनामा नै खेलमा भन्दा  गायनप्रति बढी झुकाव थियो । स्कुले जीवनदेखि नै गायनमा रुची थियो, स्वर सुनेर शिक्षकहरूले दिएको हौसला र देखाएको सपना थियो मसँग ।’ 

त्यही सपनाले जीवनको अर्को फेजमा काम ग¥यो । उनले खेल–मैदान छोडे । खेल मैदानसँगै गाउँ छोड्नु पर्यो । गाउँसँगै छोडियो घर । घरसँगै छोडिए बुबाआमा । बुवा आमासँगै छोडिएथ्यो युवराजको मन । मन छोडेर हिँडेका उनलाई सपनाले भने छाड्न सकेन ।  

घर छाड्दा आमाले टाँसिदिएका अक्षता आकाशबाट बर्सिएको पानीले पखालिसकेको थियो । तर, पानीले आमाको माया र सम्झनालाई पखाल्न सकेन । उनले यात्राभरी आमालाई सम्झिए । हिँड्ने बेला आमाले मलिन अनुहार बनाएर मसिनो स्वरमा, ‘काठमाडौं गएर कसरी टिक्ने होस् बाबु ?’ भनेको सम्झिए । त्यही यात्रामा हरायो, उनले लगाएको सुनको औँठी । त्यसले झन् धेरै उनको मन भाँचियो । काठमाडौं झर्दै गर्दा यसैगरी मन कति पटक दुख्यो उनैलाई थाहा भएन । जे होस्, उनले गायक बन्ने सपना बोकेर काठमाडौं टेके।



कुहिरोको काग जस्तै

त्यतिबेला गीत गाउन के गर्नुपर्छ ? साधना के हो ? सिकाइ के हो ? केही थाहा थिएन । उनी एक किसिमले कुहिरोको काग जस्तै भएका थिए। तर मनमा एउटै धोको थियो ‘गीत गाउँछु, स्टार बन्छु’ । गीत संगीतमा लागेका कोहीसँग चिनजान थिएन । परिवारमा पनि संगीतमा झुकाव र लगाव भएका कोही थिएनन् । 
काठमाडौं आएको ७ महिना त उनी के गर्ने, कसरी अगाडि बढ्ने अन्योलमै सडक नापेर गुजारे । त्यतिबेला उनले जसलाई भेटे साथी बनाए, मित्रवत व्यवहार गरे । तर, संगीत यात्राको सुरुवात गर्ने मेसो पाउन सकेनन् । उनको मनबाटै गायक बन्ने रहरले छाडेन ।



अनि सिके संगीत

काठमाडौं आएको ७ महिनापछि उनलाई लाग्यो, अब संगीत सिक्नुपर्छ । त्यसपछि इलाहावाद विश्वविद्यालयमा संगीत अध्ययन गरे । धेरै समय संगीत सिकाइमै बित्यो । त्यतिबेला रेडियोको ठूलो क्रेज थियो । रेडियोका गीतसंगीत कार्यक्रम नबिराइ सुन्थे । 

आफ्नो गीत पनि यसैगरी रेडियोबाट बजोस् भन्ने लाग्थ्यो । तर, पत्याउने कसले ? उनी भन्छन्, ‘म भर्खर संगीत सिक्दै गरेको मान्छे । रहर र संगीतमा केही गरौँ भन्ने एकखालको हुटहुटी त थियो मनमा । तर, सुरुमै कसले पत्याउने ? एकदमै गाह्रो थियो काम पाउन । आफैँ लगानी गरेर गीत गाउन पनि सोचेको जस्तो सजिलो थिएन ।’

पहिलो गीत

उनका गुरु थिए राम सिटौला र श्यामसुन्दर आचार्य । गुरुहरूले बुझेछन् युवराजको मनमा दौडिरहेको तुफानी बेग । उनका लागि गीत तयार भयो । शब्द, संगीत गुरुद्वयको थियो । युवराजले पहिलो पटक स्टुडियोमा स्वर भर्ने मौका पाए । गीत थियो, ‘मेरो मायालाई तिम्ले बुझ्न सकेनौँ ।’

पहिलो पटक स्टुडियोमा पस्दाको क्षण सम्झँदै भन्छन्, ‘त्यो डर, उत्सुकता र खुशी अझै याद छ । त्यतिबेला गर्न सक्छु कि सक्दिन भन्ने बेग्लै डर थियो । डरसँगै सपनाको पूरा हुने गोरेटो खनिएकाले मन पनि फुरुङ्ग थियो ।’

गुरुहरूको त्यो बेलाको हौसला सम्झिँदै भन्छन्, ‘मेरो स्वरको प्रकृति थाहा थियो । पहिलेबाटै उहाँहरूले हौसला दिनु भएको हो । उहाँहरूले मेरो स्वरबाट केही आशा राख्नु भएको थियो । त्यो आशालाई निराशामा बदल्नु हुँदैन भनेर मिहिनेत गरेको थिएँ ।’ 

जति नै मिहिनेत र आफूमा विश्वास भए पनि पहिलो काममा उनको मन डरायो। डरका बाबजुत उनले धेरै टेक खानु परेन । ‘मैले पहिलो पटक नै गीत गाउन सक्दा गुरुहरूको अनुहारमा छुट्टै चमक थियो’, उनले सुनाए, ‘जुन चमक उहाँहरूकै सिकाइको उपज थियो ।’

गीत रेकर्ड गर्न स्टुडियो पस्दा उनको उनी निकै डराएका थिए । तर, त्यस्तो भएन । राम्रोसँग गाए । गीतले राम्रो प्रतिक्रिया पायो । त्यतिबेला उनको गीत रेडियोमा खूब बज्यो । जति पटक रेडियोबाट बज्थ्यो, उति नै उनका खुट्टा नाच्न थाल्थे । यो क्रम निकै दिनसम्म चल्यो ।

पहिलो अनुभव विशेष

त्यतिबेला अहिले जस्तो युट्युबसहितका इन्टरनेट मल्टिमिडिया थिएनन् । म्यूजिक भिडियो हेर्ने भन्दा सुन्ने चलन थियो । पहिलो गीतले युवराजलाई स्थापित गरायो । सांगीतिक क्षेत्रमा युवराज चौलागाईंको अलग परिचय बनाइदियो। तर, यो गीतको म्यूजिक भिडियो अझै बनेको छैन । 

‘बनाउने रहर छ । गीत फेरि रेकर्ड गराएर म्यूजिक भिडियो बनाउने धोको छँदैछ।’

उनले त्यसपछि कयौँ गीत गाए । तीमध्ये कति हिट भए । ‘थुप्रैसँग काम गरेँ । तर, पहिलो अनुभव खास हुँदो रहेछ’, उनले बिट मार्दै भने, ‘पहिलो पटक मौका दिने मान्छे खास लाग्ने रहेछन्।’ 

  • प्रकाशित मिति : बैशाख १६, २०७८ बिहीबार १८:४२:६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया