'दर्शकको भरोसा कहिल्यै गुम्न दिने छैन'

नेपालले घरेलु मैदानमा त्रिकोणात्मक टी–२० सिरिजको उपाधि चुम्यो । नेदरल्यान्डविरुद्ध १४२ रनको फराकिलो जित हात पार्दै नेपालले चुमेको यो उपाधि निकै खास रह्यो । यो उपलब्धि हासिल गर्दै गर्दा नेपालका केही खेलाडीले विश्व कीर्तिमानी बनाए । यस सिरिजअघि सायदै कसैले सुनेको नाम हो, कुशल भुर्तेल । उनले राष्ट्रिय टोलीबाट उमेर समूहका खेल त पहिल्यै खेलिसकेका थिए । सिनियर टोलीबाट अन्तर्राष्ट्रिय खेलमा डेब्यु भने यसै खेलबाट गरे । 

बुटबलमा जन्मेर हुर्केका उनी सानोमा निकै चञ्चले स्वभावका थिए । सानोमा फुटबल खेल्न घर नजिकैको मैदानमा जाने गर्थे । पछि साथीसंगतमा क्रिकेट खेल्न थाले । पाँचजनाको परिवार थियो, उनको । उनका बुबा रोजगारीका क्रममा कोरिया गएका थिए । बुबा नेपाल फर्किएपछि उनले कुशलको क्रिकेट झुकाव राम्ररी देखे । 

स्कुलको टुर्नामेन्टहरुमा भाग लिन लगाए । उनलाई क्रिकेट खेल्न प्रेरणा दिने पहिलो व्यक्ति थिए, उनका बुबा । उनी भन्छन्, ‘हाल जे छु, मेरो बाबाको सर्पोटको कारणले छु । मेरो बाबा नै मेरो क्रिकेटको पहिलो प्रेरणा पात्र हुनुहुन्छ ।’ क्रिकेटमा लाग्न उनको पूरै परिवारले निकै सहयोग गरे। 

पारिवारिक साथ र सहयोग पाएर उनले आफ्नो पहिलो क्रिकेट करियर सन् २०१२ मा सुरु गरे । २०१२ मा यू–१६ टोलीबाट नेपालको जर्सी लगाएर पहिलोपटक क्रिकेट खेल्न मलेसिया गए । खेल्न भनेर गएका उनको प्रतियोगिताको दोस्रो खेलअघि प्रशिक्षणका क्रममा हात भाँचियो । हात भाँचिएपछि उनले त्यो प्रतियोगिता गुमाउनुपर्यो । सन् २०१४ मा पहिलोपटक उनी रुपन्देही जिल्लाबाट सिनियर टोलीमा परे । त्यसबेला जिल्लाको सुपर लिग सिरिजमा उनले म्यान अफ दी सिरिजको उपाधि आफ्नो नाममा गरेका थिए । 

त्यसपछि उनी नेपालको प्रतिनिधित्व गरी २०१६ मा यू–१९ टोलीबाट बंगलादेशमा भएको प्रतियोगितामा सामेल भएका थिए । त्यसबेला उनी मिडल अडर ब्याट्म्यानको रुपमा खेल्थे । खेललाई कसरी राम्रो तरिकाले सक्ने भन्नेमा उनी लाग्थे । उनी भन्छन्, ‘त्यो बेला ७–८ नम्बरको ब्याट्म्यान थिएँ । खेललाई कसरी राम्रो फिनिसिङ दिने भन्नेतर्फ मेरो ध्यान हुन्थ्यो ।’ 



उनले २०१९ मा उनले सिनियर टोलीबाट एक दिवसीय क्रिकेट खेले । त्यस खेलमा भने उनले आफूले सोचेजस्तो खेल प्रदर्शन गर्न सकेनन् । उनी भन्छन्, ‘फरक शैलीको खेल थियो । त्यस खेलमा सोचको जस्तो खेल्न सकिनँ ।’ त्यस खेलमा राम्रो प्रदर्शन गर्न नसकेपछि उनी नेपाल फर्किएर आफ्नो कमजोरीलाई सुधार्नतर्फ लागे ।  



२०२० मा नेपालमा भएको दक्षिण एसियाली खेलकुद (साग)मा उनी सिनियर टोलीमा छनोट भएका थिए । छनोट भए पनि उनले त्यो खेल खेल्न पाएनन् । त्यसपछि भर्खरै सम्पन्न भएको त्रिकोणात्मक टी–२० सिरिज नै उनको अन्तर्राष्ट्रिय खेलमा डेब्यु थियो ।

 सिनियर टोलीबाट खेलेको पहिलो प्रतियोगितामा नै उनी म्यान अफ दी सिरिज भए । उनले टी–२० क्रिकेटको डेब्यु खेलमा नै लगातार ३ अर्धशतक बनाएर विश्व कीर्तिमान कायम गरे । उनले प्रतियोगिताको पाँच खेलमध्ये ४ खेलमा अर्धशतक बनाई उत्कृष्ट प्रदर्शन गरे । 

उनी यस खेलमा ओपनर ब्याट्म्यानको रुपमा देखा परे । प्रतियोगिताको पहिलो खेलमा आसिफ शेखसँगको उनको साझेदारीले अर्को विश्व कीर्तिमान बनायो । उनीहरुले ११६ रनको साझेदारी गर्दै नेदरल्यान्डविरुद्धको खेलमा नेपाललाई सहज जित दिलाए । 

पहिलोपटक सिनियर टोलीबाट घरेलु मैदानमा खेलेका उनी दर्शकको साथ र मायाले झनै पुलकित भए । मैदानमा खेल हेर्न जाँदा अर्काको नामको हुटिङ सुन्दा कसैले आफ्नो नामको पनि यसैगरी हुटिङ गरिदिए हुने जस्तो लाग्थ्यो, उनलाई । सन् २०१४मा नेपालले विश्वकप खेल्दा र त्यो बेला अरु खेलाडीको नाममा हुटिङ सुन्दा उनको मनमा पनि यो सपना पलायो । उनको यो सपना यही सिरिजबाट साकार भयो । 

यस सिरिजमा कोरोना भाइरसको महामारीका कारण प्रतियोगिताको दुई दिन मात्रै दर्शक मैदानमा आएर खेल हेर्न पाए । कोरोनाको महामारीका कारण रंगशालामा प्रवेश नपाए पनि नेपाली दर्शकले मैदानबाहिर रंगशालाको पर्खालमा उभिएर ‘कुशल...कुशल’को नारा लगाउँदा उनले आफ्नो सपना साकार भएको पाए । उनी भन्छन्, ‘दर्शकले कुशल... कुशल भन्दै गर्दा एकदमै धेरै प्रफुल्लित भएँ । 

दर्शकको यो माया र भरोसा कहिल्यै गुम्न दिने छैन ।’ आफ्नो तर्फबाट राम्रो गरेर देशको नाममा विश्वकप खेल्ने इच्छा छ कुशलको । उनी भन्छन्, ‘आफ्नो बेस्ट दिएर नेपालको तर्फबाट विश्वकप खेल्न चाहन्छु ।’ 

यस सिरिजअघि उनले सोचेका थिएनन्, सिरिजपछि यसरी चर्चामा आइन्छ भनेर । खेल्दै जाँदा आफ्नो उत्कृट दिने कोसिस गर्दै गर्दा उनले विश्व रेकर्ड बनाए । २–३ वर्षदेखि ओपनर ब्याटम्यान भएर खेलेका उनले यस खेलमा दिएको सफलता प्रशंसनीय छ । उनले यस सिरिजमा गरेको प्रस्तुतिले समग्र नेपाली टोली, कप्तान तथा कोच तथा उनको परिवारका सदस्यलाई निकै खुसी दिएको छ । 

  • प्रकाशित मिति : बैशाख १६, २०७८ बिहीबार २१:१६:९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया