किन बढ्दैछ नेपालमा कोरोना संक्रमण र मृत्युदर ?

१६ वैशाखमा नेपालमा कोरोनाका कारण ३५ जनाले ज्यान गुमाए । २४ घन्टामा मात्रै २६ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको विवरणमा उल्लेख गरिएको छ । 

यो नेपालमा कोरोना महामारी सुरु भएपछि एकै दिन मृत्यु हुनेको सबैभन्दा बढी संख्या हो ।

१५ वैशाखमा मात्र नेपालमा कोरोनाका कारण १७ जनाको मृत्यु भएको थियो । कोरोनाको पहिलो वेभले नेपालमा तवाही मच्चाउँदा गत वर्ष १९ कार्तिकमा एकै दिन ३० जनाको मृत्यु भएको थियो ।

तर, कोरोनाभाइरसको दोस्रो वेभ सुरु हुँदा अहिले मृत्युदर उच्च देखिन थालेको छ । 

मृत्युदर बढेको मात्र होइन, यसपटक कोरोनाबाट मृत्यु हुनेहरु उमेर समूहमा तात्विक भिन्नता देखिन थालेको छ । नेपालमा पहिलो चरणमा कोरोनाका कारण दीर्घरोगी, वृद्धवृद्धाहरुको मृत्यु बढी भइरहेको थियो । तर, पछिल्ला दिनका तथ्यांक हेर्ने हो भने २० वर्षदेखि ४० वर्षसम्मका युवा उमेर समूहका युवायुवतीले कोरोनाका कारण ज्यान गुमाएका छन् ।

देशभरका अस्पतालमा गम्भीर प्रकृतिका बिरामीको संख्या बढिरहेको र मृत्युदर दैनिक बढिरहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले पनि बताएका छन् । 



१६ वैशाखसम्मको तथ्यांक हेर्ने हो भने देशभर ३ सय ३७ जनाको आइसियूमा र १ सय ७ जनाको भेन्टिलेटरमा राखेर उपचार भइरहेको छ । भेन्टिलेटरमा राखेर उपचार भइरहेका बिरामीको अवस्थालाई निकै गम्भीर मानिन्छ ।

 



किन बढिरहेको छ संक्रमण र मृत्युदर ?

अहिले काठमाडौं उपत्यकाका अधिकांश अस्पतालमा बिरामीको उपचारका लागि बेड खाली छैनन् । उपत्यकाबाहिर देशभरका विभिन्न अस्पतालका चिकित्सकहरुले सामाजिक सन्जालमा आफ्नो अस्पतालमा बेड अब खाली नभएको बताउन थालेका छन् ।

अनि उनीहरुले लेख्ने गरेका छन्– बिरामीको चाप अहिले निकै बढिरहेको छ ।

हामीले पछिल्लो तथ्यांकलाई हेरेर यसबारे बुझ्न शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका क्लिनिकल अनुसन्धान इकाइ प्रमुख डा. शेरबहादुर पुनलाई सम्पर्क गरेका थियौँ । पुनले अहिले नै यो संक्रमण र मृत्युदर बढ्नुको एकिन कारण भन्न सकिने अवस्थामा नरहेको बताए ।

अहिलेको कोरोनाभाइरस म्युटेसन घातक भएको र यसले बढी असर गरिरहेको हुनसक्ने अनुमान गरिएको छ ।

‘विभिन्न अनुसन्धानले पनि अहिलेको भाइरस तिब्र गतिमा फैलिरहेको र बढी घातक रहेको देखाएको छ। तर, नेपालमा ठ्याक्कै के कारणले हो भन्ने विषयमा अनुसन्धान भएको छैन्,’ डा. पुनले भने । 

कोरोनाको पहिलो लहरमा वृद्धवृद्धा तथा दीर्घरोगीलाई बढी असर गरेको थियो । अहिले युवापुस्तामा बढी यसको प्रभाव देखिएको छ । 

डा. पुन अहिलेको कोरोनाको स्वरुप परिवर्तन नै यस्तो भएको हुनसक्ने अनुमान गर्छन् ।

‘यसमा भाइरसको स्वरुप परिवर्तन नै जिम्मेवार छ,’ उनले भने ।

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. कृष्णप्रसाद पौडेलले कोरोना भाइरसको संक्रमणदर कम भएपनि जटिलताहरू अन्य सरुवा रोगभन्दा बढी रहेको बताए । 

‘दादुरा भाइरस एक व्यक्तिबाट अर्को व्यक्तिमा सर्ने दर निकै बढी हुन्छ । कोरोनाभाइरस भने एक व्यक्तिबाट बढी तीन व्यक्तिलाई मात्र सर्छ। तर, यसले चाडै गम्भीर बनाउने, अस्पताल भर्ना हुने दर बढी गराउँछ,’ डा. पौडेलले भने । 

‘नेपालमा संक्रमणदर भारतको भन्दा बढी रहेको उनले बताए । भारतमा बढी जनसंख्या भएकाले संख्यामा बढी देखिएको हो । तर, संक्रमणदर भने नेपालको बढी हो,’ डा. पौडेलले भने । 

अहिले देखिएको बेलायती नयाँ भेरिएन्ट तीब्र गतीमा फैलिने तथा असर बढी गर्ने खालको रहेको पनि उनले बताए। अहिलेको नयाँ भेरिएन्टले ४० देखि ९० प्रतिशतसम्म बढी संक्रामक हुने भन्दै त्यसैको कारण संक्रमण र मृत्युदर बढी भएको उनले निष्कर्ष निकालेका छन् ।

 

मृतक र संक्रमितमा २० देखि ४० वर्षका बढी 

दोस्रो लहरको संक्रमणको समयमा मर्ने र संक्रमण हुनेमा धेरैजसो २० वषैदेखि ४० वर्ष उमेर समूहका रहेका छन् । स्वास्थ्य मन्त्रालयको तथ्यांक अनुसार पछिल्लो समय ज्यान गुमाउनेमा दीर्घरोगी, बृद्धबृद्धा भन्दा पनि बाहिरबाट हेर्दा स्वस्थ्य व्यक्तिको संख्या बढी छ । 

मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीले पछिल्लो समय कुनै लक्षण नदेखिएका व्यक्तिहरू एकाएक गम्भीर बन्न थालेको बताएका छन् । उनले अहिले बालबालिका समेत बढी प्रभावित भइरहेको भन्दै केही दिनभित्र नै भयाबह अवस्था सिर्जना हुने र नेपालका स्वास्थ्य प्रणालीले नै थेग्न नसक्ने बताए। 

 

६ दिन यता कोरोनाका कारण मृत्यु हुनेको संख्याः

बैशाख ११ गतेः १४ जनाको मृत्यु
बैशाख १२ गतेः २८ जनाको मृत्यु 
बैशाख १३ गतेः १२ जनाको मृत्यु 
बैशाख १४ गतेः १८ जनाको मृत्यु
बैशाख १५ गतेः १७ जनाको मृत्यु 
बैशाख १६ गतेः ३५ जनाको मृत्यु


संक्रमित संख्याः
बैशाख ११ गतेः २६१९ जना संक्रमित
बैशाख १२ गतेः ३१२२ जना संक्रमित
बैशाख १३ गतेः ३५५६ जना संक्रमित
बैशाख १४ गतेः ४५२४ जना संक्रमित
बैशाख १५ गतेः ४८९७ जना संक्रमित
बैशाख १६ गतेः ४९२८ जना संक्रमित

  • प्रकाशित मिति : बैशाख १७, २०७८ शुक्रबार १५:५४:३०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया