लकडाउनको विकल्प खोज्न विराटनगरमा उद्योगी व्यवसायीको माग
फरकधार / १७ बैशाख, २०७८

विराटनगरका उद्योगी व्यवसायीहरूले लकडाउन कोरोना भाइरसको रोकथामको विकल्प नभएको भन्दै लकडाउन नगर्न सरकारसमक्ष माग गरेका छन् । शुक्रबार संयुक्त रूपमा विज्ञप्ति जारी गर्दै विराटनगरका उद्योगी व्यापारीहरूले कोरोना रोकथाम तथा नियन्त्रण गर्न निषेधाज्ञा र लकडाउन अन्तिम विकल्प नभएको भन्दै अन्य विकल्पबाट समाधान खोज्न सुझाएका हुन् । 

उनीहरूले संक्रमण भए उपचारका लागि अस्पतालको क्षमता विस्तार, स्वास्थ्य सावधानीको पूर्ण पालना र खोपले मात्रै कोरोना रोकथाम र नियन्त्रण हुने बताएका छन् । उद्योग संगठन मोरङ, मोरङ व्यापार संघ, विराटनगर व्यापार संघ, नेपाल उद्योग परिसंघ लगायतका संघ–संगठनहरुले संयुक्त लकडाउनले आर्थिक क्षेत्र धराशायी हुने विज्ञप्तिमा उल्लेख गरेका छन् ।

गत वर्षको लकडाउनले अझै उद्योग व्यवसाय उठ्न नसकेको अवस्थामा पुनः लकडाउन भए आर्थिक क्षेत्र धराशायी हुने विज्ञप्तिमा जनाइएको छ । उद्योगी राजु गोल्छाले लकडाउनले मात्रै समस्या समाधान नहुने बताए । उनले स्वास्थ्य मापदण्ड अपनाएर उद्योग सञ्चालन गर्न दिनुपर्ने बताए । 

सुनसरी मोरङ औद्योगिक काेरिडाेर क्षेत्रमा रहेका ६०० भन्दा बढी साना, मझौला र ठूला उद्योगमा ३० हजार भन्दा बढी मजदुर कार्यरत रहेका छन् । लकडाउनका कारण उद्योग बन्द गर्नुपरे उनीहरूको रोजीरोटी गुम्ने भन्दै औद्योगिक क्षेत्रमा लकडाउनको विकल्प खोज्न गोल्छाले सरकारसमक्ष आग्रह गरेका छन् ।

विज्ञप्तिमा सरकारले स्वास्थ्य मापदण्डको पालना, स्वास्थ्य क्षमता विस्तार र खोप कार्यक्रममा जोड दिनुपर्ने बताएका छन् ।

मोरङमा शुक्रबार मात्रै  १५३ कोरोनका नयाँ संक्रमित थपिएका छन् । मोरङमा ११ सयभन्दा धेरै सक्रिय संक्रमित रहेका छन् । 


 

  • प्रकाशित मिति : बैशाख १७, २०७८ शुक्रबार १८:३८:२१,   अन्तिम अपडेट : बैशाख १७, २०७८ शुक्रबार १८:३८:३७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्


यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया