मनाङेको सत्तारोहण : प्रणालीमाथि प्रश्न, रमाइला किस्सा र व्यंग्य

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङविरुद्ध आएको अविश्वासको प्रस्तावपछि त्यहाँको राजनीतिमा नयाँनयाँ तरङ्ग देखिइरहेको छ । बुधबार अविश्वासको प्रस्तावमा मतदान हुन तयारी भइरहेका बेला मनाङबाट स्वतन्त्र उम्मेदवारका रुपमा प्रदेशसभा सांसद जितेका दीपक मनाङे एकाएक गायब भए । जनमोर्चाका सांसद खेम विक्रम शाहीलाई एक्कासी कोरोना लाग्यो। उनी आइसियुमा भर्नै भए । 

गायब भएका दीपक मनाङे  नामले चिनिने राजिव गुरुङलाई भोलिपल्टै मन्त्री पद मिल्यो । गुण्डा नाइकेका रुपमा परिचय  बनाएका र आपराधिक पृष्ठभूमि भएका मनाङे मन्त्री भएपछि एकाएक देशभरका सञ्चार माध्यम र सामाजिक सञ्जाल मनाङेमय बन्यो । 

मनाङे प्रदेश सकारको मन्त्री भएपछि सामाजिक सञ्जालमा  थरीथरीका प्रतिक्रिया आए । आइरहेका छन्। धेरैले सत्तारुढ दल एमालेको आलोचना गरे । एमालेकै माधव नेपाल पक्षका नेता कार्यकर्ताहरूले समेत मनाङेलाई मन्त्री बनाउने कामको तीब्र आलोचना गरिरहेका छन्। 

केहीले उनको बचाउमा अभिव्यक्ति दिइरहेका छन् । कानुन बमोजिम चुनाव जितेर आएकाले कानुन अनुसार मन्त्री किन बन्न नपाउने ? भन्ने तर्क एकथरीको छ । अब देशको राजनीतिमा नैतिकता खरानी भएको ठहर धेरैले गरेका छन् । धेरैले व्यंग्य गर्दै मनाङे मन्त्री भएपछि सुखी नेपाली समृद्ध नेपालको नाराले सार्थकता पाएको भनेका छन् । अब देश समाजवाद साम्यवादमा पुग्ने दिन धेरै टाढा नभएको भनेर झटारो हान्ने पनि थुप्रै छन् । 

अहिले नभएर उनलाई सांसद बनाउने बेलामै प्रश्न गर्नुपर्ने तर्क पनि धेरैको छ । अहिले राजनीतिको केन्द्रमा रहेका, सत्तामा रहेका नेताहरु पनि ज्यान मुद्दा खेपिरहेका, ज्यान मुद्दामा जेल बसेकाहरु भएकाले मनाङे मन्त्री बन्नु कुन नौलो कुरा होर भन्दै प्रश्न गर्नेहरु पनि धेरै छन् । 

रमाइला, रमाइला किस्सा बनाएर मनाङेको सत्तारोहणप्रति प्रतिक्रिया जनाउने हरु पनि थुप्रै छन् । 
हेरौं सामाजिक सञ्जालमा मनाङेले मन्त्री बनेपछि आएका केही प्रतिनिधिमूलक प्रतिक्रियाः



मन्त्री बनेपछि ओलीकै शैलीमा मनाङेले प्रतिक्रिया दिएकाले अब ओलीपछि देशलाई योगदान गर्ने पालो मनाङेको भएको भन्दै लेखक खगेन्द्र संग्रौलाले प्रतिक्रिया दिएका छन् । 



कार्टुनिस्ट रवि मिश्रले महाभारतको कथा प्रसंग जोड्दै मन्त्रीको रुपमा मनाङेको शपथग्रहणलाई व्यंग्य गरेका छन् । द्रोणाचार्यका चेला अर्जुनको दृष्टिमा ओलीतन्त्रमा दीपक मनाङे बाहेक केही नदेखिएको भन्ने कथा जोडेर मिश्रले व्यंग्य गरेका हुन्।

 

पत्रकार संजीव बगाले भने आफूले दीपक मनाङे भनेर नचिनी उनीसँगको पहिलो भेटको प्रसंग सम्झिएका छन् । 

२०६४ सालमा डिल्ली बजार जेलमा अनशन बसेका कैदी बन्दीको रिपोर्टिङमा जादा भित्र एक जनासँग एउटा विषयमा ठूलै विवाद भएको र त्यो व्यक्ति दीपक मनाङे रहेको कुरा बाहिर आएर साथीले सुनाएकाे उनले भनेका छन् । 

विमल नामका ट्विटेले मनाङका जनतासँग बसेर  मनाङेले खिचेको तस्वीरसहित सेयर गर्दै जनताको मत जितेर आएकाले उनको सम्मान गर्नुपर्ने बताएका छन् । उनलाई माननीयको भनेर सम्बोधन गर्नुपर्ने उनको भनाइ छ । 'आफ्नो निर्वाचन क्षेत्रका जनताको मन र मत जितेरै आएका हुन्, मतपत्र च्यातेर धाँधली गरेर होइन' उनले भनेका छन्। ​

संविधान र प्रचलित कानुनबमोजिम दीपक मनाङे मन्त्री योग्य भएकैले मन्त्री भएकाले त्यसको विरोध गर्नुको अर्थ नहुने तर्क केहीको छ । तर एक उपसचिवसहित पाँच कर्मचारीको जिम्मामा रहेको प्रदेशको सामाजिक विकास मन्त्रालय अन्तर्गतको युवा तथा खेलकुद महाशाखालाई सनक र लहडका भरमा मन्त्रालय बनाइनुबारे प्रश्न गर्नुपर्ने माग पनि केहीको छ ।

दीपेन्द्र विष्टले दीपक मन्त्री बन्नु मात्रै नभएर उनलाई चुनाव जिताउनु, उनलाई अदालतले उन्मुक्ति दिनु ने गलत भएको तर्क गरेका छन् । ‘जबसम्म हामी आफैँ गुन्डा फटहा चोर डाका हत्यारालाई भोट हालि जिताइ रहन्छौ ती मन्त्री प्रधानमन्त्री भनि रहन्छन् तब रोइलो मच्चाएर के काम ?’ उनले प्रश्न गरेका छन् ।  

ट्विटरमा कुबेर नामका व्यक्तिले रमाइलो किस्सा बनाएका छन् । कुनैबेला प्रहरीदेखि भागेर हिड्ने मनाङे मन्त्री भएपछि शपथका लागि प्रहरी लिन जाँदा पनि डराएर भागेको भन्ने किस्सा बनाएका छन् । 

‘एकाएक घरमा पुलिसको गाडी आएपछि दीपक मनाङे झ्यालबाट हामफालेर भाग्न थाले । पछि उनलाई यो पाली गिरफ्तारी होइन मन्त्रीको सपथ खुवाउन हो भनी लिएर आए’ 

मिस्टिका नामकी ट्विटेले मन्त्री बनेपछि खादा लगाएर हिँडिरहेका मनाङेलाई सलाम गरिरहेका प्रहरीको तस्बिर सेयर गर्दै हिजो यिनलाई समाउँदै खोरका जाक्दै गर्ने प्रहरीले उनलाई स्यालुट गर्नुपर्दा कस्तो हुँदो हो भनेर प्रश्न गरेकी छिन् । 

गणतन्त्र नेपालका अन्य नेता भन्दा दीपक मनाङे केहीमा कम नभएकाले उनी मन्त्री हुँदा किन रोइलो भन्दै रविन चाम्लिङले व्यंग्य गरेका छन् । 

‘मुद्दा खेपेका छैनन् की !जेल बसेका छैनन् की ! पैशा कमाएका छैनन्  !
गणतन्त्र नेपालमा अरु नेता भन्दा के मा कम छन मनाङे काम्रेड ? हेप्ने’ उनले भनेका छन् । 
 

  • प्रकाशित मिति : बैशाख १७, २०७८ शुक्रबार १८:५१:३९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया