जसपामा जात्रा : उपेन्द्र पक्षले हस्ताक्षर बटुल्यो, महन्थ पक्ष भन्छ : फर्जी निर्णय
महतो भन्छन् : कार्यकारिणी समितीको बैठक नै बसेको छैन

जसपा कार्यकारिणी समितिको ६ र १४ मा भएको भनिएको बैठकलाई अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतोले फर्जी भनेका छन्। 

अध्यक्ष उपेन्द्र यादव र डा. बाबुराम भट्टराई पक्षले बहुमत जुटाएर लुम्बिनी प्रदेशका ४ सांसद हटाएको दाबी गरिरहँदा ठाकुर–महतोले त्यसको प्रतिवाद गरेका हुन्। 

उनीहरुले ७ पुसयता जसपा कार्यकारिणी समितिको बैठक नबसेको बताएका छन्। उपेन्द्रको निर्णय गैरकानुनी भन्दै अध्यक्ष ठाकुर शुक्रबार नै निर्वाचन आयोग पुगेर निवेदन दिएका छन्। 

तर हालै बसेको भनिएको जसपा कार्यकारिणी समितिको बैठकका नाममा चारजना प्रदेश सांसद कारबाहीमा परेका छन् । अर्थात्, लुम्बिनी प्रदेशसभाका चार सांसदलाई पदमुक्त गर्न उपेन्द्र यादव पक्षका नेता सहसराम यादवले प्रदेशसभा सचिवालयमा बुझाएको पत्रमा २६ जना केन्द्रीय कार्यकारिणी समितिका सदस्यहरुको हस्ताक्षर छ ।

५१ सदस्यीय केन्द्रीय कार्यकारिणी समितिमध्ये २६ जनाको हस्ताक्षर बहुमतको कारबाही नै हो । तर यसमा लिइएका हस्ताक्षर नै फर्जी पाइएको छ।

यादवले प्रदेशसभा सचिवालयमा बुझाएको पत्रमा भनिएको छ, ‘जसपाको कार्यकारिणी समितिको वैशाख ६ र १४ गतेको बैठकले गरेको निर्णय अनुसार कारबाही भएको छ ।’



अब यहाँ कुरा सुरु गरौं वैशाख ६ गतेबाट । यो दिन जसपाको कार्यकारिणी समितिको बैठक नै नबसेको नेता केशव झाले जनाए । उनका अनुसार पुस ७ मा मात्रै जसपा कार्यकारिणी समितिको बैठक बसेको थियो। त्यसयता कार्यकारिणी समितिको कुनै बैठक नबसेको उनी बताउँछन् ।

अर्को यो दिन पनि केन्द्रीय कार्यकारिणी समितिको बैठक बसेको भनिएको छ । जबकी त्यो दिन पनि प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउत वीरगन्जको ठाकुरराम बहुमुखी क्याम्पसमा आयोजित एक अन्तरक्रिया कार्यक्रमका प्रमुख अतिथि थिए।



त्यसको तस्विर उनकै सहयोगीले सामाजिक सञ्जालमा राखेका छन् । तर यता काठमाडौंमा बसेको भनिएको जसपा बैठकको फर्जी हाजिरी विवरण बनाएर उनी उपस्थित भएको देखाइएको छ।

१४ गतेको कुरा गरौं । यो तीन दिन अगाडिको कुरा हो । यस दिन बिहान सबै मिडियामा न्यूज आयो–जसपाका ६ जना पदाधिकारीको बैठकबारे । अर्थात् यो दिन ६ जना पदाधिकारीको मात्रै बैठक बसेको थियो । तर त्यो पनि नेताहरुबीच झगडा भएपछि बैठक नै स्थगित गर्नुपरेको थियो ।

तर लुम्बिनी प्रदेशसभा सचिवालयमा बुझाएको पत्रमा १४ गते ललितपुरमा बसेको पार्टीको कार्यकारिणी समितिको बैठकले कारबाहीको निर्णय गरेको लेखिएको छ । 

फर्जी 

जसपाका वरिष्ठ नेता राजेन्द्र महतोले कार्यकारिणी समितिको बैठक अहिलेसम्म नबसेको र बैठक बोलाउने अधिकार अध्यक्ष महन्थ ठाकुरलाई रहेको बताएका छन् । उनले जसपाको नाममा गरिएको लुम्बिनीको कारवाही फर्जी भएको भन्दै त्यसले कानुनी मान्यता नपाउने बताए ।

अर्को कुरा यो दिनको बैठक ललितपुरमा भएको लेखिएको छ । जसमा २६ जनाको हस्ताक्षर छ । तर यो हस्ताक्षरमा प्रदेश २ का दुईजना उपस्थिति नरहेको स्रोतले जनाएको छ । 

‘१४ गते हाम्रो मुख्यमन्त्री लालबाबु राउत र अर्थमन्त्री विजय यादव प्रदेशतिरै थिए। अझ मुख्यमन्त्री त त्यो दिन कोरोनासँग सम्बन्धित बैठकमा बसेका थिए’, प्रदेश २ का भौतिक पूर्वाधार मन्त्री जितेन्द्र सोनलले फरकधारसँग कुरा गर्दै भने, ‘म होम आइसोलेसनमा छु, त्यही भएर सधैं उहाँहरुलाई रुमबाटै हेर्ने गरेको छु, उहाँहरुको गाडी पनि कहीँ गएको छैन ।’

तर मुख्यमन्त्री राउतका प्रेस सल्लाहकार आतिश मिश्राले काठमाडौं गएको दाबी गरे। ‘१४ गते मुख्यमन्त्रीज्यू काठमाडौंमा जानु भएको थियो । जरुरी काम भएकाले जानु भएको हो।’ 

फर्जी काम, फर्जी निर्णय

स्रोतका अनुसार जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव पक्षले अध्यक्ष महन्थ ठाकुर पक्षलाई थाहै नदिई केन्द्रीय कार्यकारिणी समिति बैठकको माइन्यूट तयार पारेको हो। 

महन्थ ठाकुरले निषेधाज्ञाको बेला कार्यकारिणी समिति बैठक बस्न नमानेपछि उपेन्द्र पक्षले बहुमत सदस्यको हस्ताक्षर जुटाएर कारवाही गरेको बताइएको छ।

स्रोतका अनुसार बैठक नगरी जसपा अध्यक्ष उपेन्द्र केही सांसदहरुको घरमा आफैँ पुगी सादा कागजमा हस्ताक्षर गराएका थिए । त्यही हस्ताक्षरलाई ‘मिस युज’ गरी माइन्यूट गरेर कारबाही गरिएको स्रोतको दाबी छ।

यसो भन्छन् उपेन्द्र

तर जसपा अध्यक्ष उपेन्द्र यादवले फरकधारसँग कुरा गर्दै विधिपूर्वक नै निर्णय भएको दाबी गरे।

‘चारजना सांसदमाथि पार्टीको निर्णयानुसार कारबाही भएको छ, त्यो पनि कार्यकारिणी समितिको बैठकबाट पास भएपछि’, उनले भने, ‘विधिपूर्वक कार्यकारिणी समितिको बैठक बसेर सबैलाई कारबाही गरिएको हो।’ 

उनले महन्थ र राजेन्द्रतिर लक्षित गर्दै केही नेताहरुले भनिरहेको जस्तै फर्जी नभएर नियमपूर्वक नै कारबाही गरिएको दाबी गरेका छन्। 

  • प्रकाशित मिति : बैशाख १७, २०७८ शुक्रबार २२:१४:३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया