'आमाको सम्पूर्ण जिन्दगी सन्तान रहेछन्'
ऋचा भन्छिन् : संघर्ष गरेपछि हरेक कुरा सम्भव हुने रहेछ

२०६२/६३ मा जनआन्दोलन जारी थियो । धनगढी आन्दोलनको मोर्चामा पुगेकी थिइन् ऋचा लुइँटेल । आन्दोलनको मोर्चामा भेटिए सीतापुर गौघाट बाँकेका उमेश निरौला । त्यसबेला उमेश खेतान ग्रुपको ‘रुची, मायोज चाउचाउ’ मा जागिर खान धनगढी पुगेका थिए ।  

ऋचा भने धनगढीमै ‘एनजीओ’ चलाएर बस्थिन् । उनी चिनिएकी साहित्यकार भइसकेकी थिइन् । सामाजिक जीवन बिताइरहेकी ऋचाका लागि कसैसँग चिनजान र भेटघाट हुनु नौलो थिएन । उमेशसँगको भेट र चिनजान पनि नौलो लागेन उनलाई । 

यो भेटअघि चिनजान नभए पनि उमेश र ऋचाको पारिवारिक सम्बन्ध रहेछ । कामको सिलसिलामा धनगढी नै बस्ने भएपछि उमेश र ऋचाका परिवारको भेटघाट बाक्लियो । 

बाक्लिएको भेटले तय गरेको हो ऋचा–उमेश सहयात्राको बाटो । त्यही वर्ष मंसिर २८ गते परिवारको स्वीकृतिमा उमेशकी दुलही बनेर ऋचाले माइती आँगन छोडिन् । 

दुवै किसानका छोराछोरी । उनीहरुले भोगेका उतारचढाव उस्तै थिए । सोच, सपना र योजना पनि समान । तर, बिहेपछि परिवारले बुहारीबाट ठूलो अपेक्षा राख्दो रहेछ।

ऋचा गृहिणीमा सीमित भएर वर्षौंदेखिको आफ्नो भविष्यको गोरेटो भत्काउने पक्षमा थिइनन् । बिहेअघि नै उनले श्रीमानलाई भनेकी थिइन् । त्यसैले बिहेपछिको पारिवारिक जीवनले उनको सामाजिक जीवनमा असर गरेन । ऋचाको उडानमा श्रीमान् सधैँ चालक बनेर साथ दिइरहे । 



सोचे जस्तो नहुने

बच्चाभन्दा पहिले करिअर बलियो बनाउने योजना थियो ऋचाको । तर, सबै सोचेको जस्तै नहुने। विवाहको सात महिनापछि गर्भवती भइन् । 



यतिबेला श्रीमान् महेन्द्रनगर सरुवा भइसकेका थिए । गर्भ बसेको केही सातामै ऋचाको भात पानी बन्द भयो । त्यो समय जे खाए पनि पेटमा कम, बाहिर ज्यादा गयो । 

२५ वर्षसम्म सिटामोल पनि नखाएकी उनी दीर्घरोगी झैँ भइन् । बिरामी हुन थालेपछि न उनको कामले गति लिन सक्यो न उर्वर सपनाको व्यवस्थापन नै गर्न सकिन् । 

ठीक त्यही बेला श्रीमान महेन्द्रनगरबाट डडेल्धुरा सरुवा भए । ऋचाको बसाई धनगढी थियो । सासुससुरा नेपालगन्जबाट १७ किलोमिटरभित्र गौघाट गाउँमा बस्थे । 

ऋचाको स्थिति झन् झन् जटिल बन्दै गयो । उनले संस्थाको जिम्मेवारी सम्हाल्न सकिनन् । साथीलाई जिम्मेवारी सुम्पेर श्रीमानसँग डडेल्धुरा पुगिन् । 

एकातिर आमा बन्ने खुशी, अर्कातिर हरदिन चुनौतीपूर्ण स्थिति । ऋचा निक्कै विचलित भइन् त्यसबेला । पहिलो गर्भ भएकाले गर्भावस्थामा आउने अप्ठ्यारा र असहजबारे ज्ञान पनि थिएन उनलाई । 

गर्भ सात महिनाको हुँदा ऋचा एकदिन बेहोस भइन् । होसमा आउँदा उनी नेपालगन्ज अस्पतालको बेडमा थिइन् । बेहोस भएपछि श्रीमानले अस्पताल लगेका थिए । 

त्यसबेला डाक्टरले उनका श्रीमानलाई भनेका थिए, ‘आमालाई बचाउनु छ भने बच्चा माया मार्नुस् ।’ उनका श्रीमानलाई लागेछ, ‘बोट भए फल फेरि लाग्छ ।’ उमेश एबोर्सनका लागि तयार भए । एबोर्सन तयारी चल्दै गर्दा ऋचाको होस् आयो । 

बाबुको मनले माने पनि आमाको मनले कहाँ मान्दोरहेछ र आफूभित्रको कोपिला मार्न । बरु ऋचाले यही बेला थाहा पाइन्, ‘एउटी आमाको मातृत्वमा कस्तो शक्ति हुने रहेछ ।’ उनले बल्ल ‘अब आमा बन्दैछु’ भनेर मीठो अनुभूति गरिन् । उनीहरु घर फर्किए । 

सन्तानको खुसी

यसपछि ऋचाको सोच्ने तरिका सामान्य समयभन्दा फरक हुँदै गयो । पहिलो सन्तान भएकाले ऋचामा छोरा वा छोरी भन्ने चाहना भएन । उनलाई केवल स्वस्थ बच्चा जन्माउनु थियो । स्वस्थ आमा बन्नु थियो । श्रीमानलाई भने छोराको अपेक्षा र चाहना थियो । ‘श्रीमानले त्यसबेला छोराको चाहना राख्नुका बेग्लै कारण थिए,’ ऋचाले सुनाइन् । 

२०६४ माघ २४ गते उनी पहिलो पटक आमा भइन् । ऋचाले भेरी अस्पतालमा छोरालाई जन्म दिइन् । पहिलो पटक छोरालाई स्पर्श गर्दा ९ महिनासम्म भोगेका सबै हन्डर क्षणमै दूर भइदिए । सुत्केरीपछिका दिन रमाइलो सँगै बिते । घरपरिवारको मनग्य साथ पाइन् । 

‘सुत्केरी अवस्थामा आफैंलाई बिर्सिएर स्याहार्नु हुने सासू आमाको म सधैं प्रशंसक हुँ । सबै बुहारीको भाग्यमा यस्तो स्याहार लेखिएको हुँदैन’, ऋचाले नेपाली समाजको उत्पीडन सम्झिँदै भनिन् । 

पुर्वेलीहरुको एउटा विशेषता छ, सुत्केरीको खानपान र आराममा विशेष ख्याल राखिन्छ । ऋचाले पनि परिवारको मनग्य साथ पाइन् । छोरो एक महिनाको भएपछि माइती जाने चलन  छ । उनी गइन् र दुई महिनापछि डडेल्धुरा फर्किइन् । 

फेरि सन्तान

बच्चा हुर्काउने क्रममा  ऋचाको करिअरमा निक्कै असर पर्यो । उनले शून्यमा  फर्किएर केबल आमाको भूमिका मात्रै निर्वाह गरिन् । छोरो दुई वर्ष भएपछि उनलाई लाग्यो, ‘काममा फर्किनुभन्दा अर्को जन्माएर हुर्काएपछि पाँच वर्ष त जाला, तर फेरि हराउनु पर्दैन ।’ श्रीमान् श्रीमतीको सल्लाहमा अर्को बच्चा जन्माउने निर्णय गरे । 

दोस्रो पटक भने गर्भावस्थामा ऋचालाई उति साह्रो भएन । पहिलो जस्तो चुनौती र अप्ठ्यारो पनि देखिएन । ९ महिना कसरी बिते उनैलाई पत्तो भएन । जेठो छोरो २ वर्ष आठ महिनाको हुँदा ऋचाले अर्को छोरो जन्माइन् । उनलाई यसपटक छोरीको चाहना थियो । तर, उनले भ्रूण परीक्षण गरिनन् । सोचिन् ‘छोरी भए राम्रो, नभए पनि मेरो भाग्य र भविष्य हो ।’ 

छोरीको चाहाना पूरा भएन् । उनले आफ्नो भाग्य सम्झेर स्वीकार गरिन् । जन्मिएको १५ दिनमा छोरालाई निमोनिया देखियो । बच्चालाई ‘एनआइसियु’मा राख्नुपर्यो । ऋचाको मन कयौं पटक टुक्रियो । सानो छोरो हुर्काउन ऋचालाई निक्कै दुःख भयो । 

अनि पुरानै लय 

छोरो हुर्किँदै थिए । ऋचाको संघर्ष सकिएकै थिएन । श्रीमानको सरुवा डडेलधुराबाट पाल्पा भयो । त्यसबेला ऋचाको मनले भन्यो, ‘दुई बच्चा च्यापेर सधैं श्रीमानको पछि लागेर न मेरो क्यारियर बन्छ न बच्चालाई सजिलो हुन्छ ।’ डेरामा बसेर पढ्नु पर्दाको पीडा बेहोरेकी ऋचालाई लाग्थ्यो, ‘सन्तानलाई डेराको जीवन दिनुहुँदैन ।’
 
कान्छो छोरो ४ महिनाको भएपछि उनले आफ्नै सक्रियतामा नेपालगन्जमा घर बनाइन् । श्रीमानलाई पाल्पा पठाएर उनी छोराहरुसहित नेपालगन्ज बस्न थालिन् । नेपालगन्जमै जेठो छोरो स्कुल जान थाल्यो । कान्छो छोरो दुई वर्ष ६ महिना पुगेपछि ऋचा बल्ल साहित्य सिर्जना, जागिरे र सामाजिक जीवनमा फर्किन् । 

बच्चा घरमा छोडेर काममा फर्किएकी उनलाई पहिले जस्तो सहज भएन । थुप्रै चुनौतीपूर्ण स्थिति सामना गर्नुपर्यो । छोराहरु हुर्किँदै गर्दा थुप्रैपटक बिरामी परे । त्यही बेला श्रीमान् साथमा थिएनन् । उनी निक्कै अत्तालिन्थिन् । श्रीमान् साथमा नहुँदा थुप्रै उल्झन व्यहोर्नुपर्ने । 

तर, ती सबै घटनाक्रमलाई ऋचाले सिकाइको एक अध्याय मानिन् । त्यसैले हरेक परिस्थितिको सामना गर्न सजिलो भयो । दुई बच्चाको उमेर धेरै फरक नहुँदा हुर्काउन निक्कै सजिलो भयो । उनीहरु एकअर्काका साथी भइदिए । 

पहिले जस्तै सक्रिय

अहिले ऋचा सामाजिक जीवनमा त फर्किएकी छिन् । तर, घर व्यवहार सम्हाल्दै, दुई छोरा हुर्काउँदै। सामाजिक साहित्यिक कर्मसँगै व्यावसायिक काममा संलग्न भएकी उनले कयौँ जटिलताहरू भोगेको बताइन्। 

जुनसुकै परिस्थितिमा पनि पुरुषले आफ्नो पेशा बदल्नु पर्दैन । महिलाको भने पूरै जिन्दगी फेरिने रहेछ । ऋचाको अनुभवले यही भन्छ । हाम्रो समाजको वास्तविकता पनि यही हो । तर, ऋचाको १५ वर्षे गृहस्थ जीवनले सिकाएको कुरा हो, ‘संघर्ष गरेपछि हरेक कुरा सम्भव हुन्छ ।’ त्यही संघर्षले नै काम र लेखनमा फर्किन सकेको उनले बुझेकी छन्। 

सघाउँछन् छोरा

अहिले त दुवै छोरा ऋचालाई सघाउने भइसकेका छन् । उनका हरेक सुख दुःखमा साथ दिने भएका छन् । आमाका सिर्जना सुनेर ताली बजाउने भएका छन् । ऋचाका लागि छोराहरु ज्ञानको भण्डार भएका छन् । उनी हरेक दिन छोराहरूबाट नयाँ नयाँ पाठ सिकिरहेकी हुन्छिन् । ‘बच्चाबाट धेरै कुरा सिक्ने अवसर मिलेको छ’, उनले सुनाइन्, ‘अथाह माया गर्छन् अहिले, बाबुहरू उत्साही छन् र जिम्मेवार पनि।’

छोराछोरीको सपना बाबुआमासँगै जोडिएर आउँदो रहेछ । उनको ठूलो छोरा अलिक गम्भीर स्वभावका छन्, कान्छो चञ्चले । ‘अति मायालु छन दुवैजना’, उनले सुनाइन्, ‘उनीहरु देशको असल नागरिक बनून् हाम्रो चाहना र सपना यही हो।’

  • प्रकाशित मिति : बैशाख १८, २०७८ शनिबार ११:४९:४५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया