संक्रमित बिरामीले भरिए अस्पताल : अधिकांशलाई अक्सिजन, नयाँलाई कहाँ राख्ने?
टेकु अस्पतालमा बिरामीहरुको उपचार हुँदै । तस्वीर : फरकधार

कोरोना भाइरस(कोभिड–१९) संक्रमणको दोस्रो लहरले नेपाल अहिले आक्रान्त छ। संक्रमणको दर तीब्र गतिमा बढिरहँदा अस्पतालमा संक्रमित बिरामीको चाप थेग्न नसक्ने अवस्थामा पुगेको जानकारी स्वास्थ्य मन्त्रालयले दिइसकेको छ। 

कोरोनाका नयाँ बिरामीलाई भर्ना गर्न सक्ने अवस्थामा अस्पताल नरहेको भन्दै सरकारले हात उठाइसकेको छ। स्वास्थ्य मन्त्रालयले शुक्रबार अपिल जारी गर्दै आफैँ सचेत हुन सर्वसाधारणलाई आग्रह गरेको छ। 

अस्पतालमा शय्याको अभावमा संक्रमित बिरामीहरू अस्पतालको पेटीमा राखिएको, शय्याको खोजीमा भौंतारिरहेको, श्वास फेर्न गाह्रो भएका बिरामीलाई भेन्टिलेटर, आइसियू नपाएको अक्सिजनको अभाव भएका जस्ता खबर आइरहेका छन्। 

नयाँ बिरामीले कोभिड वार्डमा भर्ना पाउन अर्का बिरामीको डिस्चार्ज वा मृत्यु कुर्नुपर्ने अवस्था अहिले देखिएको छ। 

नेपालगन्ज, धनगढी, वीरगन्जलगायत उपत्यका बाहिरका सहर कोरोना संक्रमणबाट बढी समस्याग्रस्त बनिरहेका छन्। काठमाडौं उपत्यकामा पनि संक्रमणको अवस्था निकै भयावह बन्न थालेको छ। 



स्वास्थ्य मन्त्रालयको पछिल्लो विवरण अनुसार काठमाडौं उपत्यकाका १४ अस्पतालका आइसोलेसनमा संक्रमित बिरामी राखिएको छ। सरकारी तथा विभागीय गरी १० र ४ निजी अस्पतालमा कोभिडको बिरामी उपचाररत छन्। 

कोभिड–१९ को उपचार गरिरहेका उपत्यकाका सरकारी अस्पतालका शय्याहरू भरिभराउ छन्। भेन्टिलेटर, आइसियू मात्रै नभएर कोभिड वार्डमै पनि कुनै बेड खाली नभएको अस्पतालका चिकित्सकहरूले बताइरहेका छन्।



सुरुबाटै कोरोना संक्रमितको उपचारमा जुटेको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुमा शय्याको कमी भएर विरामीलाई घर फर्काउनु पर्ने अवस्था छ।

टेकु अस्पतालसँगै पछिल्ला दिनमा धेरै संक्रमितको उपचार भइरहेको अस्पतालमा सशस्त्र प्रहरी अस्पताल, पाटन अस्पताल, त्रिवि शिक्षण अस्पताल लगायत  छन। वी।, निजामति कर्मचारी, वीरेन्द्र सैनिक अस्पताल प्रहरी अस्पताल, भक्तपुर अस्पताल, ,राष्ट्रिय आयुर्वेद अनुसन्धान तथा तालिम केन्द्रमा पनि संक्रमित बिरामीहरू राखिएका छन्। 
यसबाहेक उपत्यकाका ४ निजी अस्पतालले पनि कोभिड बिरामीको उपचार गरिरहेका छन्। जसमा ग्रान्डी,  ह्याम्स, मेडिसिटी र स्टार अस्पताल रहेका छन्। 

टेकुमा बिरामी फर्काउनु पर्ने अवस्था

टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल नेपालमा कोभिड–१९ संक्रमणको पहिलो केस भेटिएदेखि नै उपचारमा संलग्न छ। 

अहिले पनि कोभिडका बिरामीले सबैभन्दा पहिले नाम लिने अस्पतालमा टेकु अस्पताल नै पर्छ। हाल टेकु अस्पतालमा ६१ वटा आइसोलेसनमा छन्। यसअघि ६० आइसोलेसन रहेकोमा एक आइसोलेसन भर्खर थपिएको हो। यी सबै भरिएका छन्। नयाँ बिरामी आउँदा फर्काउनु पर्ने अवस्था रहेको उपचारमा संलग्न चिकित्सकहरू बताइरहेका छन्। 

यस अस्पतालमा चिकित्सक सरुवा रोग विशेषज्ञ डाक्टर शेरबहादुर  पुनका अनुसार आइसोलेसनमा भर्ना हुनेमा ३० देखि ३५ वर्ष उमेरका धेरै छन्। 

अहिलेको म्युटेन्ट स्वरुपले कुनै निश्चित उमेर समूहमा नभई सबैलाई आक्रमण गरिरहेको डा. पुनको भनाइ छ।‘अहिलेको कोरोना संक्रमण पहिलेको जस्तो लक्षणविहीन वा सामान्य लक्षण मात्रै देखिने खालको छैन, भर्ना नै गर्नुपर्ने जटिल अवस्थामा देखा परेको छ’ पुनले भने।   

कम उमेरका र अन्य रोग नदेखिएका संक्रमितहरूको मृत्युले गर्दा म्युटेन्ट स्वरुपको भयवाह बढदै गएको आँकलन पुनको छ। 


अस्पतालको आइसोलेसन फुल छ, सबैजसो बिरामीका जटिल लक्षण देखिएका छन्, डा. पुन भन्छन्, बेडको कमीका कारण नयाँ बिरामीलाई घर फर्काउने भन्दा अर्को उपाय छैन।’

सशस्त्र अस्पताल थपिएको शय्या पनि भरियो 

बलम्बुस्थित सशस्त्र प्रहरी अस्पतालमा यसअघि १४०  आइसोलेसन थिए। हाल उक्त संख्या बढाएर १५८ बनाइएको छ। ती सबै अहिले भरिएको अस्पतालका चिकित्सिक डाक्टर प्रविन नेपालले बताए। 

डा. नेपालका अनुसार ११ वटा आइसियूलाई बढाई १९ बनाइरहेको छ। ती सबै प्रयोगमा छन्। ८ वटा भेन्टिलेटर पनि भरिसकेका छन्। ‘अब शय्या थप्ने अवस्था छैन’ नेपाल भन्छन्, बिरामीको अवस्था पहिलेको भन्दा नाजुक छ।’ 

हालसम्म उपचारमा त्यति समस्या नभए पनि थप बिरामी आएमा राख्न नसक्ने अवस्था रहेको उनले बताए। अस्पतालमा अहिलेसम्म अक्सिजन तथा औषधीको समस्या भने छैन। आइसियूबाट कोही बिरामी ठिक भएर सामान्य आइसोलेसनमा आउने तथा थप समस्या देखिएर आइसियूमा सिफ्ट गर्ने क्रम चलिरहने उनले बताए। 

दोस्रो लहरपछि सशस्त्र प्रहरी अस्पतालमा उपचारका क्रममा ६ संक्रमितको मृत्यु भएको छ। 

पाटनमा आइसियू र अक्सिजनको कमी

पाटन अस्पतालमा २६० शैय्याको आइसोलेसन छ।  कोरोना शैयाको व्यवस्था छ। अस्पतालमा शुक्रबार सम्म १८० शैय्या भरिएका छन्।

यस अस्पतालमा भर्ना भएका संक्रमित बिरामी मध्ये धेरैको उमेर ४० वर्ष हाराहारी रहेको अस्पतालका डाक्टर रवि शाक्यले जानकारी दिए।
वृद्ध, बालबालिका,युवा पुस्ता सबै उमेरका संक्रमित अस्तपालमा रहेको  डा. शाक्यले सुनाए। 

उनका अनुसार बिहीबार पाटन अस्पतालमा २० जना भन्दा बढी संक्रमित बालबालिका थिए। शुक्रबार ११ जना बालबालिका आइसोलेसनमा उपचारतर छन्। 

सामान्य अक्सिजन चाहिने बिरामी भर्ना गर्न शय्या रहे पनि अक्सिजनको मात्रा बढी चाहिने तथा आइसियूमा नै राख्नु पर्ने बिरामी भने हाल अस्पतालले भर्ना गर्न सक्ने अवस्था नरहेको शाक्यले जानकारी दिए।

 यो म्युटेन्ट स्वरुपले पहिलेको तुलनामा संक्रमितहरू बढी सिकिस्त बनाउने भएकाले हाल आइसियूमा र अक्सिजनमा समस्या देखा परेको उनको भनाइ छ। 

पाटन अस्पतालमा दिनकै २ जनाको दरले कोरोना संक्रमितको ज्यान गई रहेको छ। ‘अहिले जति पनि बिरामी भर्ना हुन आइरहेका छन्। त्यसमध्ये ९० प्रतिशतलाई अक्सिजनको आवश्यकता देखिन्छ’ डा. शाक्यले भने। 

कोभिडको उपचार गराइरहेका अन्य अस्पतालहरू पनि नयाँ बिरामी भर्ना गर्नसक्ने अवस्थामा नरहेको जानकारी ती अस्तपालहरूले दिइरहेका छन्। 

अक्सिजन तथा औषधिको मात्रै नभएर संक्रमितको उपचारमा खटिने स्वास्थ्यकर्मीको अभाव पनि अस्पतालहरूले झेलिरहेका छन्। 

  • प्रकाशित मिति : बैशाख १८, २०७८ शनिबार १४:४२:६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया