कोरोना महामारी : यस्तो छ सुरक्षा निकायकाे तयारी
फरकधार / १८ बैशाख, २०७८

गत चैतदेखि एक वर्षको अवधिमा ७ हजार ३०० भन्दा बढी प्रहरी कोरोना संक्रमित भए । अहिले दोस्रो लहरको सुरुवातसँगै ७० भन्दा बढी प्रहरी कोरोना संक्रमित भइसकेका छन् ।

महामारी संक्रमण रोकथाम तथा नियन्त्रणका लागि प्रहरीले हरेक कार्यालयमा आइसोलेसन सेन्टर निर्माण थालेको छ । उपत्यकाका विभिन्न ठाउँमा ४०० भन्दा बढी बेडको आइसोलेसन निर्माण थालिएको छ । विगतमा निर्माण गरिएका आइसोलेसनलाई नै मर्मत सम्भार गरेर फेरि बनाउन थालिएको नेपाल प्रहरी प्रवक्ता वसन्तबहादुर कुँवरले बताए ।

संक्रमण फैलिरहेको, अस्पतालमा बेडको अभाव भइरहेको अवस्थामा आइसियू र भेन्टिलेटरको आवश्यक नपर्ने खालका बिरामीको उपचारका लागि आइसोलेसन निर्माण थालिएको उनको भनाइ छ । 

‘सबैतिरका अस्पताल भरिभराउ भइसकेका छन् । संक्रमितको संख्या दिन-प्रतिदिन बढ्दो छ । यस्तो अवस्थामा हरेक कार्यालयले यस अघिको व्यवस्थाअनुसार टेन्ट टाँगेर आइसोलेसन सेन्टर बनाइरहेका छौँ ,’ प्रवक्ता कुँवरले भने ।

यसअघि फ्रन्टलाइनरलाई सरकारले जोखिम भत्ता दिने बताएको थियो । तर, सुरक्षाकर्मीले अहिलेसम्म पाएका छैनन् । प्रवक्ता कुँवरले आफूहरूले कहिल्यै पनि भत्ता नमागेको र आफूहरू भत्ताको लागि भन्दा पनि आफ्नो कर्तव्य पूरा गर्नतिर लागेको बताउँछन् ।

पहिलो चरणको लहरको समयमा ५० हजारभन्दा बढी प्रहरी जनशक्ति परिचालन गरिएको थियो । दोस्रो लहरको समयमा त्योभन्दा बढी जनशक्ति परिचालन हुने कुँवरले जानकारी दिए । प्रहरीले जनचेतना फैलाउनेदेखि स्वास्थ्य सुरक्षा मापदण्डको पालना भए/नभएको समेत निगरानी गर्दै कारबाही गर्दै आएको छ । 

सशस्त्र प्रहरी सीमामा एन्टिजेन परीक्षण 

यता सशस्त्र प्रहरी बल समेत नेपाल–भारत सीमा नाकाबाट भित्रिने र बाहिरमाथि निगरानी राख्नुका साथै अन्य क्षेत्रमा समेत खटिएको छ । सशस्त्र प्रहरी बल प्रवक्ता डिआइजी राजु अर्यालले सशस्त्र प्रहरी बलले उपचारदेखि शान्ति सुरक्षासम्मको काममा अघि बढिरहेको बताए । पहिलो लहरको समयमा ३१ हजार सशस्त्र प्रहरी खटिएको थियो । अहिलेको समयमा अवस्था पहिलेको भन्दा जटिल बन्न सक्ने आँकलन गर्दै त्यही अनुसारको तयारी भइरहेको छ ।

विशेष गरी दक्षिणी नाकाबाट नेपाल आउने नेपालीलाई स्वास्थ्य निकायसँगको समन्वयमा एन्टिजेन परीक्षण गरिरहेको डिआइजी अर्यालको भनाइ छ । एन्टिजेन परीक्षणको क्रममा कोहीको रिपोर्ट पोजिटिभ आएको खण्डमा आइसोलेसन वा अस्पताल लैजाने काम समेत भइरहेको छ । 

सशस्त्र प्रहरीले विभिन्न जिल्लामा जारी निषेधाज्ञा कार्यान्वयन गर्ने क्रममा सवारी चेकजाँच तथा अन्य गतिविधिमा समेत सक्रिय भइरहेको उनको भनाइ छ । 

शव–व्यवस्थाको जिम्मा सेनाको काँधमा

कोभिड–१९ संक्रमणबाट मृत्यु भएकाकाे शव–व्यवस्थापनको जिम्मेवारी नेपाली सेनाको हो । नेपाली सेनाले अहिलेसम्म ३ हजार २०० भन्दा बढी शवको व्यवस्थापन गरिसकेको छ । 

कोरोना महामारीको सुरुवाती चरणमा शवको व्यवस्थापन गर्ने जिम्मेवारी पूर्ण रूपमा सेनालाई दिइएको थियो । तर, पछि कार्यविधि परिवर्तनसँगै परिवारजनले समेत शवको व्यवस्थापन गर्दै आएका छन् ।

नेपाली सेनाका प्रवक्ता सन्तोषवल्लभ पौडेलले शवको व्यवस्थापनसँगै आइसोलेसन निर्माण, बाहिरबाट आएकाहरूको व्यवस्थापन समेत गर्दै आएको जनाएका छन् ।  
सेनाले आन्तरिक र बाह्य गरी दुई प्रकारले तयारी थालेको छ । आन्तरिक अन्तर्गत संगठनभित्र भइरहेको तालिम, गोष्ठी सेमिनार जस्ता भिडभाड हुने कार्यक्रम बन्द गरेको छ । 

त्यस्तै, बाह्य तयारी अनुसार हरेक पल्टनमा आइसोलेसन सेन्टर, क्वारेन्टिनको व्यवस्था गर्ने काम भइरहेको प्रवक्ता रथी पौडेलले उल्लेख गरे ।

 नेपाली सेनाले अहिलेसम्म ३९ हजार जति सैनिकलाई कोरोना खोप लगाइसकेको छ । सात हजार जतिले दुवै डोज खोप लगाइसकेका छन् । सेनाले सीमानाकामा होल्डिङ सेन्टर बनाउने काम समेत गरिरहेको उनी बताउँछन् ।

त्यस्तै सेनाले १६ वटा वाहिनीमा बाहिनी एम्बुलेन्स समेत खडा गरेको छ । सेनाले आफ्ना अस्पतालमा सैनिक र उनको परिवारको उपचार गराउँदै आएको छ ।
जटिल प्रकारको कुनै केश आएको खण्डमा सर्वसाधारणको समेत सेनाको अस्पतालमा उपचार गरिने छ । सेनाले नेपाल सरकारले दिएको हेरेर जिम्मेवारी पालना गर्दै आएको र अबका दिनमा पनि दृढ भएर पालना गर्ने प्रवक्ता पौडेलले बताए । 

तीनवटै सुरक्षा निकायका प्रवक्ताहरूले यस्तो महामारीको समयमा आमनागरिकको स्वास्थ्य जोगाउनु प्रमुख कर्तव्य रहेको भन्दै त्यहीअनुसार अगाडि बढिरहेको जनाएका छन् ।

  • प्रकाशित मिति : बैशाख १८, २०७८ शनिबार १८:४५:५१,   अन्तिम अपडेट : बैशाख १८, २०७८ शनिबार १९:२१:२६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्


यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया