भगवान् भरोसामा प्रदेश २ का कोरोना संक्रमित

प्रदेश २ मा होम आइसोलेसनमा रहेका संक्रमितलाई सरोकारवाला निकायले बेवास्ता गरिरहेको पाइएको छ । संक्रमितलाई होम आइसोलेसनमा बस्न र स्वास्थ्यमा समस्या देखिए मात्र अस्पताल आउन सुझाब दिइए पनि होम आइसोलेसनमा बसेका संक्रमितसँग उनीहरुको स्वास्थ्य अवस्थाबारे कसैले कुनै सोधखोज गरेका छैनन् । 

होम आइसोलेसनमा बसेका संक्रमितलाई सम्बन्धित निकायबाट एक कल फोनसमेत आउँदैन, उनीहरु भगवान् भरोसामा बाँचिरहेका छन् । जनकपुरधाम उपमहानगरपालिका–२० का अनिल झा संक्रमित भई चार दिनदेखि होम आइसोलेसनमा बसेका छन् । तर, उनको स्वास्थ्य अवस्थाबारे कोभिड रेस्पोन्स टिमले अहिलेसम्म कुनै प्रकारको सोधखोज गरेको छैन ।
 
 ‘आफू संक्रमित भएपछि चिकित्सकले होम आइसोलेसनमा बस्न सुझाब दिए । संक्रमित भएको चार दिन भइसक्यो । ज्वरो, रुघाखोकी लाग्ने, घाँटी दुख्नेलगायत समस्याले म ग्रस्त छु,’ उनले भने, ‘तर, सम्बन्धित फोकल पर्सन वा सिआइसी टिमले मेरो स्वास्थ्य अवस्था बारे सोधीखोजी त के एक कल फोनसम्म गरेको छैन।’ थप कुनै समस्या परे कता जाने, के गर्ने भन्ने चिन्ताले उनलाई सताइरहेको छ ।
 
जनकपुरधामका प्रभासचन्द पोखरेलको अवस्था पनि उस्तै छ । होम आइसोलेसनमा बसेको तीन दिन भयो । तर, अस्पताल वा कोभिड रेस्पोन्स टिमका कुनै फोकल पर्सनले उनीसँग पनि अहिलेसम्म कुनै प्रकारको सोधखोज गरेको छैन । उनी आफ्नो सम्पर्कमा रहेका चिकित्सकको सल्लाहअनुसार घरमै औषधि खाइरहेका छन् ।
  
महोत्तरी जलेश्वरका पत्रकार दशरथ भण्डारीले होम आइसोलेसनमा भोग्दै आएको पीडाबारे भने, ‘आफ्नो परिवारका सम्पूर्ण सदस्य संक्रमित भएको ६ दिन बित्यो । तर, स्वास्थ्य कार्यालय वा कोभिड रेस्पोन्स टिमबाट एक कल फोनसमेत आएको छैन ।’

उनले भने, ‘स्वास्थ्य कार्यालयलाई जानकारी गराएपछि त्यहाँबाट अस्पतालमै आएर उपचार गराउन भनियो । तर, त्यहाँ गएपछि यहाँ अहिले कोरोनाको उपचार बन्द रहेको भन्दै फर्काइदियो ।’

स्वास्थ्य निर्देशनालयको तथ्यांकअनुसार प्रदेश २ मा २ हजार १३६ सक्रिय संक्रमितमध्ये २ हजार ४६ जना होम आइसोलेसनमा बसेका छन् । तर, तिनीहरुले अहिलेसम्म न कुनै उपचार पाएका छन् न त चिकित्सकीय परामर्श नै । कुनै निकायले अनुगमनसमेत गरेको छैन ।
 
यस सम्बन्धमा स्वास्थ्य निर्देशनालयका वरिष्ठ अधिकृत डा. कमलेशप्रसाद यादवले होम आइसोलेसनमा बसेकाहरुका लागि पहिला समस्या रहे पनि अहिले प्रत्येक स्थानीय तहमा सिआइसी टिम गठन गरी तिनीहरुको स्वास्थ्यअवस्थाबारे जानकारी लिइँदै आएको बताए ।
 
यता, जनकपुरधाम उपमहामनगरपालिका सिआइसी टिमका विनय पञ्जियारले केही दिन पहिलासम्म होम आइसोलेसनमा बसेकाहरुलाई समस्या रहे पनि अहिले त्यस्तो कुनै समस्या नरहेको बताए । जनकपुरधाम उपमहानगरपालिकामा ५ सदस्यीय सिआइसी टिम गठन गरिएको छ । प्रत्येक सदस्यलाई ५–५ वटा वडाको जिम्मेवारी दिइएको छ ।
 
उनले भने, ‘आफ्नो टिमले संक्रमित भएकाहरुको कन्ट्रयाक्ट ट्रेसिङदेखि अनुगमन गर्नेसम्मको जिम्मेवारी दिएको छ । प्रत्येक वडामा गई होम आइसोलेसनमा बसेकाहरुको अनुगमन गर्दै चिकित्सकीय परामर्शअनुसार औषधि लिन सल्लाह दिइरहेको छौँ, थप उपचारको आवश्यकता भएकालाई अस्पताल पुर्याउने गरिएको छ ।’

महोत्तरीको फोकल पर्सन प्रतिभा सिंहले होम आइसोलेसनमा बसेकाहरुको हेरचाह र अनुगमनको जिम्मेवारी स्थानीय तहअन्तर्गतको सिआइसी टिमलाई दिइएको बताइन् । 

उनले भनिन्, ‘डाटाका आधारमा सम्बन्धित स्थानीय तहले कन्ट्रयाक्ट ट्रेसिङ र होम आइसोलेसनमा बसेकाहरुको अनुगमन गर्ने हो । तर, सम्बन्धित स्थानीय तहले के कति कारणले अनुगमन गरिरहेको छैन, त्यो मलाई थाहा छैन ।’



यस प्रदेशका आठवटा जिल्लामध्ये कुनै पनि जिल्लामा सम्बन्धित फोकल पर्सन तथा सिआइसी टिमले होम आइसोलेसनमा बसेकाको हेरचाह, अनुगमन वा उपचार नगरेको आरोप लाग्दै आएको छ ।

यसवर्ष सरकारी बेवास्ताका कारण कोरोना संक्रमणको दोस्रो लहर निरन्तर बढिरहे पनि प्रदेशका कुनै पनि स्थानीय तहमा क्वारेन्टिन र आइसोलेसन अझै निर्माण गरिएको छैन ।



  • प्रकाशित मिति : बैशाख १८, २०७८ शनिबार १९:१९:२५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया