शनिबार नेपालमा कोरोनाले बनाएको रेकर्ड

नेपालमा कोरोनाभाइरस संक्रमणको दोस्रो लहरले भयावह स्थिति ल्याउँदै छ । अहिले विभिन्न जिल्लाका अस्पतालहरुमा नै बिरामीहरुको संख्या निकै बढिसकेको छ ।

केही अस्पतालहरुले आफूसँग भएको अक्सिजन सकिएको बताउन थालेका छन् ।

यहीबीच शनिबार नेपालमा कोरोनाभाइरस संक्रमितको संख्यामा रेकर्ड बनेको छ । शनिबार स्वास्थ्य मन्त्रालयले दिएको जानकारीअनुसार ५ हजार ७ सय ६३ जना कोरोनाभाइरस संक्रमित थपिएका छन् ।

नेपालमा कोरोनाभाइरस संक्रमण देखिएपछि एकै दिन यो संख्यामा संक्रमित थपिएको यो पहिलो पटक हो । 

१४ हजार ४ सय ३ जनाको पिसिआर परीक्षण गर्दा यो संख्यामा कोरोनाभाइरस संक्रमित थपिएको हो । त्यस्तै, शनिबार मात्रै नेपालमा कोरोनाभाइरसका कारण १९ जनाले ज्यान गुमाएका छन् । योसँगै नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ३ हजार २ सय ९८ पुगेको छ ।

यसअघि नेपालमा ५ कार्तिकमा सबैभन्दा धेरै कोरोनाभाइरस संक्रमित थपिएका थिए । त्यो दिन नेपालमा ५ हजार ७ सय ४३ जना संक्रमित थपिएका थिए । 



दोस्रो लहर सुरु भएपछि शुक्रबार पनि नेपालमा उल्लेख्य संख्यामा संक्रमित थपिएका थिए । शुक्रबार नेपालमा ५ हजार ७ सय २९ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो ।

योसँगै नेपालमा अहिलेसम्म ३ लाख २८ हजार ८ सय ९३ जनामा कोरोना संक्रमण भइसकेको छ । अनि २ लाख ८२ हजारभन्दा धेरैले कोरोना जितेका पनि छन् ।



पछिल्लो तथ्यांकअनुसार अहिले नेपालभर ४३ हजार २ सय १३ जना सक्रिय संक्रमित रहेका छन् ।

  • प्रकाशित मिति : बैशाख १९, २०७८ आइतबार ५:०:४४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया