गाउँमै विद्यालय बनेपछि विद्यार्थी र अभिभावकमा खुसी

भावरसैनी गाउँमा पञ्चायतकालमा स्थापना भएको श्री ऐश्वर्य आधारभूत विद्यालयको भवन एकदमै जीर्ण अवस्थामा पुगेको थियो । हिउँदमा अत्यधिक धुलो र वर्षायाममा भवन भत्कने जोखिमपूर्ण अवस्थामा विद्यार्थी अध्ययन गर्न बाध्य थिए । तर, अब विद्यालयको तीनकोठे भवन बनेपछि विद्यार्थीसँगै अभिभावक पनि खुसी भएका छन् । 

दैलेखको नौमुले गाउँपालिका–२, भावरसैनीमा अवस्थित उक्त विद्यालयमा साढे ११ लाखको लगानीमा भूकम्पप्रतिरोधात्मक तीनकोठे नयाँ भवन निर्माण भएको छ । विश्व खाद्य कार्यक्रम र एभरेस्ट क्लब, दैलेखको संयुक्त साझेदारीमा वडा कार्यालयको १ लाख पचास हजार, एभरेस्ट क्लब, दैलेखको ७ लाख ६८ हजार र अन्य निर्माण सामग्री २ लाख ४५ हजार गरी जम्मा ११ लाख ६३ हजार रुपैयाँमा विद्यालय भवन तयार गरिएको निर्माण उपभोक्ता समितिका अध्यक्ष दीपबहादुर बुढा मगरले बताए ।

५८ घरधुरी रहेको उक्त गाउँमा २ सय ८९ जनसंख्या रहेको छ । सदरमुकामबाट अति नै विकट क्षेत्रमा रहेको उक्त गाउँका युवा विशेष गरी रोजगारीका लागि भारत जाने गर्छन् । गाउँमा नै पूर्वाधार निर्माणको काम हुँदा भावरसैनी र आसपासका ३२ जना बेरोजगार युवाले ४० दिनसम्म निरन्तर रोजगारीसमेत पाएका छन् । 

परियोजनाले सबै कामदारलाई बैंक खाता, खाता नहुनेका लागि रेमिट्यान्समार्फत व्यक्तिकै नाममा दैनिक ६ सयका दरले ४० दिनको २४ हजार रुपैयाँ उपलब्ध गराएकाले एभरेस्ट क्लबका परियोजना संयोजक टेकराज आचार्यले बताए । 

हाल विद्यालयमा ४८ जना छात्र र ४५ जना छात्रा अध्ययनरत छन् । कक्षा ५ सम्म मात्रै सञ्चालन भएको यस विद्यालयमा आगामी शैक्षिक सत्रदेखि कक्षा ६, ७ र ८ पनि सञ्चालन गर्ने योनजा रहेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बालाराम बुढा मगरले बताए । 





  • प्रकाशित मिति : बैशाख १९, २०७८ आइतबार १७:५३:२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया