अस्पतालमा भरियो ठाउँ, सामुदायिक स्तरमा आइसोलेसन सञ्चालन

हाल कोरोना भाइरसको परिवर्तित(म्युटेन्ट) स्वरूपको संक्रमण व्यापक रूपमा फैलिएको छ । अस्पतालमा बेडको समस्या आउन थालको छ । बेडको अभावले बिरामीको बिचल्ली भएको समाचार यत्रतत्र सुनिन थालेको छ ।

नेपाल सरकारले पनि अस्पतालमा बेड छैन भनेर हात उठाइ सकेको छ । यस्तो अवस्थामा सामुदायिक स्तरका आइससोलेसन कक्ष सञ्चालन गर्न समुदाय जुर्मुराएको छ । 

ललितपुरको च्यासलमा सामुदायिक आइसोलेसन

झट्ट सुन्दा के यस्ता आइसोलेसन सुरक्षित होलान् त ? भन्ने लाग्छ । ललितपुरको च्यासलमा सामुदायिक आइसोलेसन सुरु गरिएको छ । च्यासः मंका खल, च्यासल युवा क्लब र च्यासल युवा रेडक्रस सर्कलले आफ्नै गुठीको भवनमा अस्थायी आइसोलेसनको व्यवस्था गरेका हुन् । 

अहिले गुठी भवनमा लहरै ४ वटा बेड राखेर अस्थायी आइसोलेसनको व्यवस्था मिलाइएको छ । उक्त आइसोलेसन अस्पतालमा बेड नपाउने विशेषतः गुठीकै व्यक्तिलाई लक्षित गरेर बनाइएको च्यासः मंका खलका अध्यक्ष श्याम व्यञ्जनकारले जानकारी दिएका छन् । अन्य व्यक्ति पनि अप्ठ्यारो अवस्था आई लागे यस आइसोलेसनमा बस्न पाइने उनले बताएका छन् । 



देशैभरी व्यापक रूपमा फैलिएको कोभिड १९ को प्रकोपले धेरै हानी नगरोस् भन्ने हेतुले आइसोलेसनको व्यवस्था गरेको उनी जनाउँछन् । आइसोलेसनका लागि बेड तथा ओढ्ने ओछ्याउनेको व्यवस्था भने ए डिभिजन लिगका बेला खेलाडीले प्रयोग गरेका सामग्रीलाई लिई गरिएको हो ।
गुठीबाट नै हालसम्म रुपैयाँको व्यवस्था मिलाइएको छ । फेसबुकमा आइसोलेसन निमार्ण गरेको खबर फैलिए पश्चात् रमेश अराध्यायले १५ हजार रुपैया सहयोग गरेका छन् । सबैलाई सहयोग पुग्ने हेतुले गरिएको कामले अहिले प्रशंसा बटुलिरहेको छ ।

डाक्टरको रूपमा भने अहिले समिरा व्यञ्जनकार मात्र रहेकी छिन् । युएस बंंगालको विमान दुर्घटना परी बाँच्न सफल एक मात्र डाक्टर हुन् उनी । उनले यसरी बिरामीको सहयोगमा जुट्न पाउँदा आफूलाई निकै खुशी अनुभूति भएको बताइन् । अक्सिजन नै दिनुपर्ने अवस्थाका बिरामी आए भने उनीहरूको उपचारमा समस्या हुने टोलका अध्यक्ष श्याम व्यञ्जनकारले बताउँछन् ।



नेपाल इन्जिनियरिङ कलेजमा १०० बेडको आइसोलेसन

नेपाल इन्जिनियरिङ कलेज भक्तपुरको सेमिनार हलमा हाल ४३ बेडको आइसोलेसन सञ्चालनमा ल्याइएको छ । पहिलो चरणको कोरोना कहरमा नेपाल सरकारबाट नै सय बेडको आइसोलेसनको अनुमति पाएको उक्त कलेजमा पुनः आइसोलेसन सञ्चालन गर्न लागिएको कलेज व्यवस्थापन प्रमुख मनोहर खनालले जानकारी दिएका छन्।

अहिले सञ्चालनमा ल्याइएका बेड पहिलो चरणकै बेड हुन् । पहिलो चरणका बेड पछिल्लो समय कोरोना केही मत्थर हुँदा थन्काइएको थियो । ‘बेड तथा अन्य सामान पहिलेकै चरणको हो । यसमा थपिएको छैन । अहिले ४३ वटा बेड छन् । आवश्यक परेमा हामी थप ५७ वटा बेड एक घण्टाभित्र नै तयार गर्न सक्छौँ ।’ खनालले भने । 

चाँगुनारायण नगरपालिकाले प्रकोप नियन्त्रण गर्नका लागि मानिसको सहयोगार्थ उक्त कार्य सञ्चालनमा ल्याएको उनले जानकारी दिएका छन् । नगरपालिकाको निर्णय अनुरूप आइसोलेसनका लागि कलेज प्रशासनले साथ दिएको हो । नेपाल इन्जिनियरिङ कलेजले सामाजिक दायित्व पुरा गर्न यो कार्यमा लागि परेको खनाल बताउँछन् ।
 
आइसोलेसनमा राखिएका बिरामीको स्वास्थ्य अवस्था बिग्रिएमा चाँगुनारायण नगरपालिका अस्पतालमा बिरामी सिफ्ट गरिने छ । नगरपालिकामा अहिले यो अवस्थाका लागि भनेर चौबिसै घण्टा बिरामीको उपचारार्थ डाक्टर खट्ने नगरपालिकाका मेयर सोमप्रसाद मिश्रले जानकारी दिएका छन् । 

‘पहिलेको सामान कत्ति पनि बिग्रिएको थिएन । हामीले यो काम गर्न सक्छौँ भन्ने लागेर नगरपालिकाको निर्णयलाई कदर गरेका हौँ ।’ व्यवस्थापक प्रमुख मनोहर खनालले उल्लेख गरे । आइसोलेसनमा हालसम्म बिरामी नभए पनि सोमबार साँझसम्ममा बिरामी आउने कुरा भएकाले तयारी पूरा गरिएको खनालले जानकारी दिएका छन् । 

कोरोना भाइरस एक व्यक्तिबाट अर्को व्यक्तिमा सजिलै सर्ने भएकाले यसको नियन्त्रणका लागि यो आइसोलेसन सञ्चालनमा ल्याइएको चाँगुनारायण नगरपालिकाका मेयर सोमप्रसाद मिश्रले बताए । 

काठमाडौं उपत्यकामा धेरै मानिस बाहिरबाट आएर भाडामा बसेका छन् । कोरोना लागि हालेमा घरबेटीले घरमा बस्न नदिने तथा सबैको घरमा आइसोलेसन बस्न मिल्ने व्यवस्था नहुनाले यस प्रकारको आइसोलेसनले सबै किसिमका मानिसलाई सहयोग पुग्ने हेतुले यो आइसोलेसन सञ्चालनमा ल्याउने निर्णय गरेको मिश्र बताउँछन् ।
  
आइसोलेसन सञ्चालनमा पानीको समस्या 

नेपाल इन्जिनियरिङ कलेज भक्तपुरमा सञ्चालनमा ल्याउन लागिएको आइसोलेसनमा पानीको समस्या भने देखिएको छ । १०० बेडको आइसोलेसनका लागि भनेर सञ्चालनमा ल्याउन लागिएको उक्त कलेजमा बिरामीका लागि भनेर आठवटा ट्वाइलेट तथा आठवटा बाथरुम रहे पनि त्यहाँ पानीको समस्या रहेको स्रोतले जनाएको छ । उक्त कलेजका व्यवस्थापन प्रमुख खनालले भने यो समस्या छिट्टै समाधान गर्नेतर्फ उनीहरू लागि परेको बताएका छन् । 

पहिलो कोरोना संक्रमणको बेलामा पनि यस प्रकारका सामुदायिक स्तरका आइसोलेसनले निकै सहयोगी भूमिका निर्वाह गरेका थिए । हाल पनि यस किसिमको कार्य स्वास्थ्य सावधानी अपनाइ गरेमा निकै प्रभावकारी हुने विशेषज्ञको राय रहेकाे छ । 


 

  • प्रकाशित मिति : बैशाख १९, २०७८ आइतबार १८:३९:५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया