आफ्नो सपनामा दृढ डानी आल्भेस

डानी आल्भेस विश्व फुटबलमा ख्याति कमाएको नाम हो । यी ब्राजिलियनले युरोपका विभिन्न क्लबबाट व्यावसायिक फुटबल खेलेर धेरै प्रसिद्धि कमाए ।

आल्भेस १६ वर्षपछि ब्राजिल फर्किए, १९ वर्षको हुँदा उनले छाडेको ब्राजिल र अहिलेको ब्राजिलमा धेरै भिन्नता पाए । ब्राजिलमा धनी र गरिबबीच बनेको ठूलो खाडलले आल्भेसलाई निकै दुःखी बनाएको छ ।

एक तथ्यांकका अनुसार ब्राजिलमा गत वर्ष मात्र १९ लाख मानिसले आफूलाई चाहिने खानासम्म पनि जुटाउन सकेका थिएनन् र आधाभन्दा बढी जनसंख्या खाद्य समस्याबाट गुज्रिरहेको थियो । यसको मतलब उनीहरूले राम्रोसँग २ छाक खान पाउने कुराको कुनै ग्यारेन्टी छैन ।

‘मैले केही बुझ्न सकिरहेको छैन, कसरी हाम्रो समाजमा यस्तो परिवर्तन आयो । म अचम्ममा छु । म ब्राजिलमा रहुञ्जेल यस्तो कहिल्यै देखेको थिइनँ । हामी आफ्नै खेतबारीमा अन्न उत्पादन गर्थ्यौँ । त्यही बाँड्थ्यौँ र खान्थ्यौँ । हामीसँग पैसा हुँदैन थियो तर कहिल्यै भोकले मर्नुपर्ने अवस्था थिएन’, आल्भेसले ब्राजिल छाड्नुअघिका दिन सम्झिए ।

आल्भेसले १६ वर्ष युरोपमा बिताए । उनले सेभिल्ला, बार्सिलोना, युभेन्टस, पेरिस सेन्ट जर्मन (पिएसजी) जस्ता चर्चित क्लबबाट खेले । विभिन्न क्लबबाट ४० भन्दा बढी उपाधि हात पारे । केही सम्पत्ति कमाए अनि ब्राजिल फर्किए ।

ब्राजिल फर्किएपछि उनले स्थानीय क्लब साओ पाओलो क्लबमा आबद्ध भए जुन क्लबको उनी सानैदेखि समर्थक थिए । 



डानी आल्भेसलाई प्रशिद्धि दिलाउने काम स्पेनिस क्लब बार्सिलोनाले गरेको हो ।

सन् २००८ मा सेभिल्लाबाट बार्सिलोना आएपछि उनको चर्चा हुन थाल्यो । उनले ८ वर्ष क्याप नोउमा बिताउँदा ६ ला लिगा, ३ च्याम्पियन्स लिग, ३ क्लब विश्वकप गरी २३ उपाधि जिते ।



उनले लियोनल मेसी, अन्द्रेस इन्यिस्टा, जाभी, जेरार्ड पिके जस्ता उत्कृष्ट खेलाडीको माझ आफूलाई स्थापित गराए ।

आल्भेस बार्सिलोना पुगेकै वर्ष पेप ग्वार्डिओला क्लब मुख्य प्रशिक्षक बने । उनीहरूले निकै नजिक बने र १४ उपाधिसँगै जिते ।

ग्वार्डिओला सन् २०१२ मा बार्सिलोना छाडे । आल्भेस त्यसको ४ वर्षपछि इटालियन क्लब युभेन्टस पुगे । 

ग्वार्डीओला म्याचेस्टर सिटीको प्रशिक्षक बनेपछि आल्भेसलाई क्लबमा ल्याउन चाहेका थिए तर उनी फ्रेन्च क्लब पिएसजी पुगे ।

‘मैले खेलाडीका रूपमा जति सफलता प्राप्त गरें त्यसमा ग्वार्डिओलाको पनि निकै ठूलो भूमिका छ । उनले फेरि मलाईसँगै खेलाउने इच्छा देखाएका थिए तर म पिएसजी लागेँ, यो मेरो गलत निर्णय थियो’, आल्भेसले भने ।

सिटी आल्भेसलाई भित्र्याउने पहिलो क्लब भने थिएन । सन् २००६ मा लिभरपुलले सेभिल्लाबाट उनलाई ल्याउन इच्छा देखाएको थियो ।

‘सेभिल्लामा छँदा लिभरपुरले मलाई भित्र्याउने प्रस्ताव गरेको थियो, लिभरपुर जान तयार पनि थिएँ तर अन्तिममा स्थानान्तरण प्रक्रिया सफल हुन सकेन’, उनले भने ।

अहिले मेसी बार्सिलोनामा रहने वा नरहने कुनै टुङ्गो छैन तर आल्भेस भने उनी  क्याप नोउमै रहून् भन्ने चाहन्छन् ।

‘म मेसी क्याप नोउमै रहून् भन्ने चाहन्छु किनकि मेसी बार्सिलोनाकै लागि जन्मिएका खेलाडी हुन् । त्यसैले उनी त्यहाँ रहनुको कुनै विकल्प छैन ।’

‘कुनै बेला मेसीले मलाई सम्झाएका थिए, उनले मलाई भनेका थिए बार्सिलोना जस्तो न्यानो अर्को कुनै क्लब छैन तर मैले क्लब छाडे किनकि म बार्सिलोनालाई आफ्नो महत्त्व देखाउन चाहन्थेँ । मैले क्याम्प नोउ फर्कने प्रयास नगरेको पनि होइन तर अवसर नै मिलेन’, आल्भेसले बताए ।

आल्भेस अहिले ३७ वर्षका भए । उनले अहिले न त आफ्नो भविष्यको योजना बनाएका छन् न सन्यासको नै ।

आल्भेसले सपना देखेका छन् साओ पाओलोलाई घरेलु लिग उपाधि दिलाउने ।

साओ पाओलोले सन् २०१२ देखि कुनै उपाधि नजितेकाले पनि आल्भेसमा क्लबलाई उपाधि दिलाउने भोक जागेको हो । 

आल्भेसले चोटका कारण सन् २०१८ को विश्वकप गुमाए । ब्राजिलमा उनको अभाव प्रष्टै देखिन्थ्यो ।

सन् २०१९ को कोपा अमेरिकामार्फत् उनले उत्कृष्ट पुनरागमन गरे । ब्राजिललाई उपाधि दिलाउन महत्त्वपूर्ण भूमिका खेले र आफूलाई एक उत्कृष्ट खेलाडी सिद्ध गराए ।  

लामो समय सेन्टर ब्याकका रूपमा देखा परेका आल्भेस केही वर्ष यता भने एट्याकिङ मिडफिल्डरका रूपमा खेलिरहेका छन् ।

ब्राजिलमा आल्भेसलाई मिडफिल्डरका रूपमा त्यति रुचाइएको छैन, त्यसले उनलाई दुःखी बनाएको छ । 

‘यहाँ जोसुवा किमिच जस्ता विदेशी मिडफिल्डरलाई रुचाइन्छ तर मैले मिडफिल्डबाट खेलेको राम्रो मानिँदैन’, उनले गुनासो पोखे, ‘मैले पिएसजीबाट पनि मिडफिल्डमै खेलेको थिएँ । म जुन स्थानबाट पनि खेल्न सक्छु ।

आल्भेसको सबैभन्दा ठूलो सपना हो सन् २०२२ को विश्वकप खेल्ने । त्यसका लागि उनी निकै मिहिनेत गरिरहेका छन् । 

‘मलाई थाहा छ ब्राजिलियन टिममा पर्न त्यति सहज छैन । सपना पूरा गर्न संघर्ष गर्नुपर्छ, जबसम्म म ज्युँदो छु तबसम्म आफ्नो लक्ष्य प्राप्तिका लागि संघर्ष गरिरहन्छु’, आल्भासले उत्साहित हुँदै भने ।

आल्भेसको जन्मभूमि ब्राजिलमा अहिले कोरोना महामारीको दोस्रो लहरले भयावह स्थिति सिर्जना गरेको छ । यहाँ ४ लाखभन्दा बढीले ज्यान गुमाइसके । जसमध्ये आधाभन्दा बढीले त बितेका केही महिनामा आफ्नो ज्यान गुमाएका हुन् ।

मैदान बाहिरको दृष्यले आल्भेसको पनि मन आक्रान्त बनाएको छ तर उनी यी कुराले आफ्नो लक्ष्य प्राप्तिमा कुनै बाधा नगरोस् भनेर सचेत छन् । 

(यो सामग्री दी गार्डियनबाट साभार गरिएको हो ।)

  • प्रकाशित मिति : बैशाख १९, २०७८ आइतबार १८:५१:३७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया