'जनता रह्यो भने त देश रहन्छ नि !'
चन्द्र भण्डारी, नेता,नेपाली कांग्रेस
फरकधार / २० बैशाख, २०७८

कोरोना भाइरस भनेको मानिसहरुले, वैज्ञानिकहरुले आंकलन नगरेको एउटा अदृश्य भाइरस हो । जुन मानवका सामु आइपरेको छ । जो शक्तिशाली थिए, सम्पन्न थिए, तिनीहरुले केही न केही रुपले क्षतिका बाबजुद पनि यसबाट बाहिर निस्कन सफल भएका छन् । भलै हामी नेपाल जस्तो वा भारत जस्तो देशको कारणले ती भाइरसहरु बढेका हैनन् । 

शक्तिशाली देशहरुले प्रकृतिको आंकलन नगरी जथाभावि गर्दा प्राकृतिक रुपले हामीलाई समस्याहरु आएका छन् । त्यसको सबैभन्दा ठूलो जिम्मेवारी हामीले लिनु परिरहेको छ । तथापि संकटबाट हामी बाहिर निस्कन सक्दैनौँ । यो संकटको समाधान हामीले समेत मिलेर गर्नुपर्छ र यो मानवीय समवेदना हो । 

तर, यो सरकारले पनि सँगसँगै महत्वपूर्ण भूमिका निभाउन पर्छ । जनतालाई अक्सिजन चाहिन्छ कि, अस्पतालको शैय्या चाहिन्छ कि, आइसियू चाहिन्छ कि, भेन्टिलेटर चाहिन्छ कि भन्ने जस्ता कुराहरुलाई ध्यानमा राखेर हेर्नुपर्ने अवस्था छ ।
 
हामीले अहिलेसम्म विकास गरेका हस्पिटलहरु धेरै खोलियो । तर, त्यसमा जनताको पहुँच छ कि छैन भनेर जनताले पहिले नै आंकलन गर्नुपर्छ । सरकारी अस्पतालहरु हामीले कमजोर बनाएका छौँ । किनभने, निजी अस्पतालहरुबाट फाइदा लिएर । त्यसकारण शिक्षा र स्वास्थ्य निःशुल्क पाउनुपर्ने भन्ने भनाइ छ विश्वभरि नै, यस्तै बेलाका लागि पनि भनिएको हो । 

यो संकटको बेलामा सरकारले सबै जनतालाई सेवा उपलब्ध गराउन पर्छ । त्यो राज्यको दायित्व हो । किनभने, मानिस छ र त देश छ, देश छ र त अर्थतन्त्रको कुरा गरिएको छ । मानिस नै छैन भने त कसको उपचार गरिन्छ र ? कतिपय बहुलठ्ठी कुराहरु पनि हाम्रो समाजमा नसुनिएको होइन्, तर हामीले अहिलेको राज्यको दायित्व के हो ? प्राथमिकता के हो ? नेतृत्वको प्राथमिकता के हो ? भन्दा जनताको सुरक्षा हुनुपर्छ ।  

यहाँ थोरै अस्ट्रेलियाको प्रसंग जोडौँ । भारतमा रहेका ९ हजार अस्ट्रेलियनहरुलाई देश फर्कियौ भने ५ वर्ष जेल बस्नुपर्छ भनेर निर्णय गर्यो । राज्य त कठोर हुँदो रहेछ नि । हामीले हाम्रा जनताहरु बाहिरबाट नेपाल आउनुहुँदैन भनेका होइनौँ । शासन चलाउने शैली, विश्वका लिडरहरु रातभर नसुतेर कुन बच्चालाई कस्तो भएको छ भनेर आफैं स्वास्थ्य सामग्री पठाउने गरेका छन् । 

त्यो टेक्नोलोजीको विकास २/४ जनालाई मोबाइलमा कुरा गर्नका लागि त हैन होला ? कुन अस्पतालमा बिरामीको कस्तो हालत छ भनेर हेर्नका लागि होला नि त । दोस्रो कुरा राज्यका सबै अंगहरु छ, ती अंगहरुलाई जनताले तलब किन खुवाएको ? यो संकटको बेलामा बोल्नु पर्दैन ? भारतको हाइ कोर्टले दिल्ली सरकारले गरेको कुराहरु वा अरु प्रदेशले गरेका कुराहरु केन्द्रीय सरकारले तुरुन्त अनुमति दे, हैन भने मानहानीको मुद्दा लगाइदिन्छु भन्छ । हाम्रो अगाडि टुलुटुलु अक्सिजन नपाएर मानिस मरेको हामी हेर्न सक्दैनौँ भन्छ । भनेपछि अदालतले त्यत्रो निर्णय गर्ने रैछ नि । 

हाम्रा सामाजिक संघ संस्थाहरु अहिले अक्सिजन किनेर पनि दिन सक्छौँ भनेर अभियान चलाउन पर्यो नि । राज्यले गरेन भने चुनौती दिनुपर्यो नि । बिरामी कुरुवाहरुले खान पाएका छैनन्, औषधि यही बेलामा महँगिएको छ । आजको दिनमा सबै देशले भारतलाई औषधि लगायत अन्य स्वास्थ्य सामग्री दिन तयार भएको छ । भने, हाम्रा निकायहरु के गरेर बसिरहेका छन् । यो संकटको बेलामा हामी धेरै आलोचना गरेर वा नर्भस भएर बसेर पनि हुँदैन् । त्यसकारण सरकारले जसरी गर्नुपथ्र्यो त्यो गरेन भन्ने प्रष्ट देखिएको छ ।
 
तेस्रो, हामी टेक्नोलोजीमा एकदमै अगाडि पुगिसकेका छौँ । रातारात शैय्याहरु निर्माण गर्न सकिने अवस्था छ । हिजोजस्तो माटो, ढुंगा खोजेर गर्न पर्ने अवस्था पनि अहिलेको हैन । हजारौँ बेडको अस्पताल एकैठाउँमा अक्सिजन सहितको बनाउन सक्छौँ । र, सबै रिटायर्ड डाक्टरहरु, युवा डाक्टरहरुलाई हामीले लिएर सबैलाई एकैपटक स्थायी किन गर्न सक्दैनौँ ? हिजो ०४६ सालपछि शिक्षकहरुको स्थायी गरेको जस्तै गरी । 

त्यसो हुँदा स्वास्थ्यकर्मीमा पनि काम गर्ने जाँगर बढ्छ, उनीहरु पनि खुसी हुन्छन् । हामीले जसलाई रोग लागेको छैन, यति धेरै आयुर्वेदिक क्याम्पसहरूले निकालेका औषधिहरुलाई पूर्वतयारी अनुरुप खुवाउन त सक्छौं नि । रोग नलागोस् भनेर हामी सबै एकैठाउँमा उभिऔँ, यो संकटको बेलामा जसले गलत काम गर्छ, नाजायज फाइदा उठाउँछ, त्यसलाई कानुनी कठघरामा बाँधेर अघि बढ्न सक्छौँ । यसो गर्ने हो भने हामी यो महामारीलाई नियन्त्रणमा ल्याउन सक्छौँ । 

लकडाउन मात्र यसको समाधान होइन । संसारकै अवस्था हेर्दा, आज अमेरिकन डाक्टरहरुले भारतलाई दिएको सुझाव हेर्दा पनि लकडाउन मात्र समाधान होइन । तर, लकडाउन गर भनिरहँदा अरु पनि सुविधा देउ भनिएको छ नि । औषधि, अक्सिजन, खाना सबै जनतालाई दिनुपर्यो । अरु पनि तयारी गर । तिमीसँग छैन भने जनतासँग माग तर जनताका लागि गर । यही सोचले अघि बढ्यौँ भने भयानक अवस्था नआउन पनि सक्छ ।
 
०७० सालपछि हरेक ठाउँमा स्वास्थ्य चौकी पुर्याउने नीति बनाएको थियो सरकारले । त्यसअनुसार भवनहरु बने । तर, तिनीहरुलाई आवश्यक डाक्टरहरु थिएनन्, ल्याब थिएन, कर्मचारी थिएनन् । हामीले भवन त बनायौँ तर, त्यसभित्र राख्ने कुनै कुरा थिएन । त्यसकारण मैले सरकारलाई बारम्बार सुझाव दिएको छु, नेपालमा जतिपनि डाक्टर उत्पादन भएका छन्, ती सबै विदेशी उत्पादन भएका छन् । नेपाली छैनन् । हामीले अर्बौं खर्च गरेपनि फाइदा लिन सकेका छैनौं । 

अहिले पढेका विद्यार्थीहरु फास्ट ब्रेन हुन् । तिनीहरुसँग टेक्नोलोजी पनि छ, जसले गर्दा डाक्टर, इन्जिनियर जति छन्, तिनीहरुले भ्याकेन्सी नै खोलिदियोस् । त्यहाँ दलाली छ, माफिया तन्त्र छ । नेपालमा बस्न चाहने र देश बनाऔँ भन्ने मतलब नै भएन । हाम्रो नेताहरु भित्र अत्यन्तै धेरै कमजोरीहरु छन्, महत्त्वाकांक्षा छन्, मनै भ्रष्ट छ, त्यसलाई अंकुश लगाउन हाम्रा नेताहरुले सकेनन् । त्यसले गर्दा पर्दाफास भयो र नांगो चरित्र देखियो ।
 
समयअनुसार के कुरालाई प्राथमिकता दिने त भन्ने पनि भएन । जसको कारण नेपाल अप्ठेरो अवस्थामा पुग्यो र त्यसको असर नेपाली जनताले भोग्न बाध्य भए । कोरोनाले पहिलो कुरा त कमजोर मान्छेहरुलाई समात्यो । तर, नेपालमा त कस्तो भइदियो भने शक्तिशालीलाई समाइदियो । आफूलाई राम्रा योजनाहरुलाई खाइदियो, निकायलाई खाइदियो, कानुनलाई नै खाइदियो । त्यसले गर्दा यो देश अस्तव्यस्त भयो । 

कानुनले काम नगर्ने, नेपालमा पहिला पहिला हामीले हेर्ने भारतीय सिनेमाजस्तो अवस्था देखिन थाल्यो । जनतालाई बलात्कार गर्ने, लुट्ने र एउटा अफिसर अघि बढेर जनतालाई मारिदिने अवस्था देखिन्थ्यो, सोही अवस्थामा नेपालको राजनीतिक माहोल पनि पुगेको छ । यो अवस्थामा जहाँ हामी अस्तव्यस्त थियौँ, अत्यन्तै भ्रष्ट थियौँ, हाम्रो राज्यप्रतिको चिन्तन नै थिएन, जनताले हामीलाई मतमात्र दिएका थिए । त्यो बेलामा कोरोना आएर सर्यो र हामी अप्ठेरो अवस्थामा छौँ ।
 
हामीसँग पैसा छ, हामीसँग विकास खर्च नभएको पैसा छ । अर्कोतिर, एक वर्षपछि निस्कने विद्यार्थीहरु पनि छन् हामीसँग । तिनीहरुलाई अहिले हामीले फिल्डमा पठाउन तिर सोच्नुपर्यो । राज्यसँग विकासमा काम नभएर थन्किएको पैसालाई पालिकाहरुमा डाक्टरहरु सहित पठाउनुपर्छ । उहाँहरुलाई हामीले सुविधा दिन सक्नुपर्यो । रातारात अस्पतालहरु बनाउन सक्छौँ । अहिलेसम्म अक्सिजनको उति धेरै अभाव भइसकेको छैन । समय छ नि त हामीसँग । यदी छैन भने राज्य इमानदार भएर जनतासँग माग्नुपर्यो । राज्यसँग इच्छाशक्ति हुनुपर्यो । 

हाम्रो जस्तो देशमा केही गर्नै नसकिने भन्ने हुनै सक्दैन नि । सरकार उत्तरदायी भयो भने अझै यो महामारीलाई नियन्त्रणमा ल्याउन सकिन्छ । भारतमा देखिएको भयावह अवस्था र सरकारको लापरवाही अवस्थाले असहज परिस्थिति निर्माण हुनसक्छ । सरकारको गैरजिम्मेवारीपन र हाम्रो लापरवाही दुवैले कोभिडको यो समस्या भयावह बन्दैछ । 

यो अप्ठ्यारोसँग जुध्न र समाधान निकाल्न त जनताले मत दिएर सरकार बनाएको हो । राम्रो व्यवस्थापन सरकारले गर्यो भने अझैपनि हामी जुध्न सक्छौँ । हामीसँग कमजोर मनस्थिति बनाएर केही छैन भन्ने अवस्थामा गएर हुँदैन, सबैकुरा छ भनेर त्यसको प्रयोगमा लाग्नुपर्छ । 

जनता रह्यो भने त देश रहन्छ नि ! ​(कुराकानीमा आधारित)

  • प्रकाशित मिति : बैशाख २०, २०७८ साेमबार ९:३५:४६,   अन्तिम अपडेट : बैशाख २२, २०७८ बुधबार ८:४९:२०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्


यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया