विश्व क्रिकेटको सर्वोच्च निकाय आइसिसीले निकालेको नयाँ वरीयतामा नेपालले एक स्थान सुधार गरेको छ ।
यसअघि १४ औँ स्थानमा रहेको नेपाल १३ औँ स्थानमा उक्लिएको हो । नेपालले १८७ रेटिङ प्वाइन्ट पाएको छ ।
नेपालले भर्खरै सम्पन्न त्रिकोणात्मक टि-२० अन्तर्राष्ट्रिय सिरिजमा उत्कृष्ट प्रदर्शन गरेको थियो ।
नेपाल, नेदरल्यान्ड र मलेसिया सम्मिलित सिरिजको फाइनलमा नेदरल्यान्डमाथि १४२ रनको फराकिलो जित निकाल्दै नेपालले उपाधि हात परेको थियो ।
टि-२० वरीयतामा इङ्ल्यान्ड २७७ रेटिङ प्वाइन्टका साथ शीर्ष स्थानमा रहँदा २७२ रेटिङ प्वाइन्ट पाएको भारत दोस्रो स्थानमा छ ।
न्युजिल्यान्ड, पाकिस्तान, अस्ट्रेलिया, दक्षिण अफ्रिका, अफगानिस्तान, श्रीलंका, बंगलादेश र वेस्ट इन्डिज क्रमशः तेस्रोदेखि १० औँ स्थानमा छन् ।
नेपाल एकदिवसीय वरीयतामा पनि एक स्थान सुधार गर्दै १७ औँ स्थानबाट १६ औँ स्थानमा उक्लिएको छ ।
लामो समयदेखि कुनै एकदिवसीय अन्तर्राष्ट्रिय खेल नखेलेको नेपालले २४ रेटिङ प्वाइन्ट प्राप्त गरेको छ ।
एकदिवसीय वरीयतामा न्युजिल्यान्ड १२१ रेटिङ प्वाइन्टका साथ पहिलो स्थानमा रहँदा अस्ट्रेलिया ११८ रेटिङ प्वाइन्टका साथ दोस्रो स्थानमा छ ।
भारत, इङ्ल्यान्ड, दक्षिण अफ्रिका, पाकिस्तान, बंगलादेश, वेस्ट इन्डिज, श्रीलंका र अफगानिस्तान क्रमशः तेस्रोदेखि १० औँ स्थानमा छन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।