सरकारले सिडिएसबाट नेप्सेको लगानी झिक्ने तयारी
फरकधार / २० बैशाख, २०७८

सरकारले सिडिएस एण्ड क्लियरिङ लिमिटेडबाट नेपाल स्टक एक्सचेन्ज नेप्सेको लगानी झिक्ने बारे छलफल सुरु गरेको छ । अर्थ-मन्त्रालयले नेप्सेको लगानी घटाएर मन्त्रालयबाट नै लगानी गर्ने गरी छलफल सुरु गरेको हो ।

मन्त्रालय स्रोतका अनुसार आगामी आर्थिक वर्षको बजेटमा नै यसबारे व्यवस्था हुने छ । हाल सिडिएसमा नेप्सेकै शतप्रतिशत लगानी रहेको छ । सिडिएसको पुन:संरचना गर्दा नेप्सेको लगानी पुरै झिक्ने वा घटाउने र अर्थ-मन्त्रालयले लगानी गर्ने सम्भावना रहेको स्रोतले जनाएको छ । त्यस्तै सिडिएसमा रणनीतिक साझेदार ल्याउने बाटो पनि खुला राखिने भएको छ ।

चालु आर्थिक वर्षको वार्षिक बजेटमा पनि नेप्से र सिडिएसको पुन:संरचना गर्ने विषय उल्लेख भएको थियो । सोहीअनुसार नेप्सेले पुन:संरचनाका लागि मन्त्रालयमा विभिन्न मोडल प्रस्ताव गरिसकेको छ । सिडिएसले भने डिडिए गरेपछि मात्र पुर्नसंरचनाको प्रस्ताव गरिने जनाएको छ । यद्यपि, सिडिएसले प्रस्ताव पठाउनु अगाडि नै यसबारे मन्त्रालयबाट नै निर्णय हुने सम्भावना बढेको हो ।

सेयरबजार तथा सेयर लगानीकर्तासँग सम्बन्धित धेरै काम प्रत्यक्ष रूपमा सिडिएससँग जोडिएको तर संचालक समितिदेखि अन्य विषयमा समेत नेप्सेको हस्तक्षेप रहेकाले पनि यसलाई अलग्गै र बलियो संस्था बनाएर अगाडि बढ्नुपर्ने निष्कर्षका साथ सरकारले बजेटमा यस्तो व्यवस्था गर्न लागेको स्रोतले बताएको छ ।

  • प्रकाशित मिति : बैशाख २०, २०७८ साेमबार १५:२१:२६,   अन्तिम अपडेट : बैशाख २०, २०७८ साेमबार १५:२२:१८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्


यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया