‘सन् २०२१ मा विश्वभर करिब ११ लाख जनसंख्या गरिबीको रेखामुनि पुग्ने’
फरकधार / २० बैशाख, २०७८

कोभिड-१९ महामारीका कारण विश्वव्यापी रूपमा बहुआयामिक गरिबी दर उच्च देखिएको छ । महामारीको प्रभावकै कारण विश्वभरका १० करोड मानिस अति गरिबीको चपेटामा पर्ने अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ) ले जनाएको छ । त्यस्तै संयुक्त राष्ट्रसंघले पनि केही महादेशमा गरिबीको दर पछिल्लो ३० वर्षयताकै बढी देखिने चेतावनी दिएको छ ।

आइएमएफकाअनुसार महामारीका कारण दिगो विकाससँग सम्बन्धित आधारभूत लक्ष्य प्राप्त गर्न अल्पविकसित र विकासशील देशहरूका लागि थप चुनौतीपूर्ण हुनेछ । यस्तो अवस्थामा ती देशहरूले तत्कालका लागि मानिसको जीवन रक्षासँगै दीर्घकालीन लगानीका रूपमा स्वास्थ्य, शिक्षा, भौतिक पूर्वाधार तथा अरू अत्यावश्यक सेवामा ध्यान पुर्‍याउनुपर्ने सुझावसमेत दिइएको छ ।

मुद्रा कोषको नयाँ अध्ययनले विकासोन्मुख देशलाई दिगो विकास लक्ष्यहरू हासिल गर्न सहयोग पुर्‍याउन दीर्घकालीन विकास बढाउन, बढी राजस्व परिचालन गर्न र निजी क्षेत्रको लगानी आकर्षित गर्नसक्ने नीति सहितको रूपरेखा बनाउनुपर्ने आवश्यकता पनि औंल्याएको छ ।

महामारीकैबीच केही देशहरूले महत्त्वाकांक्षी रूपमा गार्हस्थ उत्पादनलाई सुधार गरे पनि प्रायः कम आय भएका विकासोन्मुख देशले शहस्राब्दी विकास लक्ष्य तथा दिगो विकास लक्ष्य प्राप्त गर्न आवश्यक स्रोत जुटाउन सक्षम नहुने पनि आइएमएफको अध्ययनले देखाएको छ । साथै, सानो अर्थतन्त्र भएका देशका लागि दातृ निकाय तथा अन्तर्राष्ट्रिय समुदायबाट सहयोगको खाँचो रहने पनि प्रतिवेदनमा उल्लेख गरिएको छ ।

आइएमएफले महामारीको संकट निवारणका लागि हालसम्म विश्वभरका ८६ वटा मुलुकलाई १ खर्ब १० अर्ब बराबरको आपतकालीन वित्तीय सहायता उपलब्ध गराइसकेको जनाएको छ । यस्तो सहायता पाउने मुलुकमा ५२ वटा न्यून आय भएका मुलुक छन् । आइएमएफको सहायता प्रतिबद्धता भने अहिले उपलब्ध गराएको रकमको दोब्बर बराबर छ ।

त्यस्तै महामारीका कारण २०२० को सुरुवाततिर ४ करोड ९० लाख प्रभावित भएकोमा महामारीको विश्वव्यापी संकट मानिएको २०२१ को मध्यतिर १० करोड ८० लाख व्यक्ति कोभिडबाट प्रभावित हुनसक्ने अनुमान गरिएको छ ।

  • प्रकाशित मिति : बैशाख २०, २०७८ साेमबार १६:५:४८,   अन्तिम अपडेट : बैशाख २०, २०७८ साेमबार १६:२१:०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्


यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया