प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना भाइरसविरुद्धको खोप अभियानमा नेपाल भारतपछि पहिलो रहेको दाबी गरेका छन्। सोमबार राष्ट्रका नाममा सम्बोधनका क्रममा प्रधानमन्त्रीले यस्तो बताएका हुन्।
उनले अनेक अप्ठ्याराबीच नागरिकलाई निशुल्क खोप दिइरहेको बताए। 'अप्ठ्याराकै बीचमा हामीले कोभिड–१९ विरुद्ध सबैलाई निःशुल्क खोप उपलब्ध गराउने प्रक्रिया शुरु गरिसकेका छौं', उनले भने, 'आफ्ना देशवासीलाई कोरोनाविरुद्ध खोप लगाउनेमा हामी दक्षिण एसियामै भारतपछि पहिलो मुलुक हौं।'
ओलीले नेपालमा हालसम्म २१ लाख नागरिकलाई पहिलो डोज खोप दिइसकेको पनि बताएका छन्। 'हालसम्म करिब २१ लाखलाई पहिलो डोज खोप लगाइसकिएको छ', उनले भने, 'दोस्रो डोज खोप लगाउन आरम्भ गरिएको छ। अहिलेसम्म झण्डै ३ लाख ७० हजारले दोस्रो डोज खोप लगाइसकेका छन्।'
यस संख्यामा स्वास्थ्यकर्मी लगायत अन्य अग्रपंक्तिमा खटिने व्यक्तिहरूले खोप लगाएको पनि उनले बताए। त्यस्तै ओलीले कोरोनाको पहिलो लहरमा जस्तै दोस्रो लहरको संकटमा पनि नागरिकस्तरबाट सहयोग अपेक्षा गरेका छन्।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।