उर्लाबारी नगरपालिकाका मेयर फागो 'फरार आरोपी'

पटक पटक विवादमा पर्ने गरेका उर्लाबारीका मेयर खड्गबहादुर फागोको नाम एउटा अपराधसँग जोडिएको छ। अभद्र व्यवहार कसुरमा प्रहरीले फागोलाई ‘फरार आरोपी’ को सूचीमा राखेको छ।

उर्लाबारी नगरपालिका-९ का नारायण भनिने टंकबहादुर बस्नेतले अभद्र व्यवहार कसुरमा जाहेरी दिएपछि प्रहरीले मेयर फागोसहित भतिजा दुर्गाबहादुर फागोलाई पनि ‘फरार’सूचीमा राखेको हो।

नगरपालिकामा गुनासो लिएर पुगेका बस्नेतलाई गत चैत ३० गते कार्यालयमै निर्घात कुटपिटमा फागो र उनका भतिज संलग्न भएका थिए। उर्लाबारी–५ का विष्णुप्रसाद भण्डारीको निर्माणाधीन टहरो नगर प्रहरीले रोकिदिएपछि त्यसबारे बुझ्न बस्नेत नगरपालिका गएका थिए।  त्यही बेला बस्नेतलाई मेयर र उनका भतिजाले कुटपिट गरेको प्रत्यक्षदर्शी प्रेम बास्तोलाले जानकारी दिएका थिए।

कुटाई खाएका बस्नेतलाई प्रहरीले उल्टै पक्राउ गरेर अभद्र व्यवहारमा मुद्दा चलाएको थियो। १४ दिनपछि धरौटीमा छुटेका बस्नेतले मेयर र भतिजविरुद्ध अभद्र व्यवहार कसुरमै जाहेरी दिएका थिए। दुवै विरुद्ध बस्नेतले दिएको उजुरी जिल्ला सरकारी वकिल कार्यालय मोरङमार्फत आएपछि इलाका प्रहरी कार्यालय उर्लाबारी पक्राउ गर्नैपर्ने बाध्यतामा फसेको छ।

इप्रका उर्लाबारीका प्रमुख प्रहरी निरीक्षक राजाराम खड्काले उजुरी दर्ता भइसकेको बताए। उनले आरोपीलाई कानुनी दायरामा ल्याउने बताए। खड्काले अनुसन्धान भइरहेकाले तत्कालै पक्राउ गरिहाल्ने कुरा बताएनन्। 

फागोविरुद्ध जाहेरी दर्ता भएको एकसाता बितिसकेको छ। फागोले आफूलाई चोख्याउन अनेक प्रपञ्च गरेको आरोप पीडित पक्षले लगाएका छन्। फागो आफैँले भने कुटपिट अस्वीकार गर्दै आएका छन्। 





  • प्रकाशित मिति : बैशाख २०, २०७८ साेमबार १८:५५:७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया