कोरोना भाइरस संक्रमणबाट मंगलबार बिहान कैलालीमा थप ६ जनाको मृत्यु भएको छ । सेती प्रादेशिक अस्पतालमा उपचाररत ६ जनाको ज्यान गएको हो ।
धनगढी उपमहानगरपालिका-७ की ७७ वर्षीया महिला र साेही नगरपालिका-१३ का २२ वर्षीय पुरुषको मृत्यु भएको हो । महिलाको वैशाख १२ गते पिसिआर रिपोर्ट पोजेटिभ आएको थियो भने पुरुषको सोमबार मात्रै रिपोर्ट पोजेटिभ आएको थियो ।
यस्तै कञ्चनपुरको भिमदत्त नगरपालिका-१२ घर भएका ७१ वर्षीय पुरुषको पनि अस्पतालको इमर्जेन्सी वार्डमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रशासन कार्यालय, कैलालीका सूचना अधिकारी शिवराज जोशीले जानकारी दिए । उनको एन्टिजेनबाट चेक गर्दा रिपोर्ट पोजेटिभ आएको थियो । मंगलबार बिहान ३ बजे उनको मृत्यु भएको हो ।
दार्चुलाको मालिका-अर्जुन गाउँपालिका -८ का ६६ वर्षीय पुरुषको अस्पतालको इमर्जेन्सी वार्डमा सोमबार राति ९ बजे मृत्यु भएको छ । त्यस्तै गरी बझाङका २६ वर्षीय पुरुषको पनि अस्पतालको इमर्जेन्सी वार्डमा सोमबार राति साढे १० बजे मृत्यु भएको हो । सेतीमै उपचाररत बर्दियाका ३० वर्षीय पुरुषको पनि मृत्यु भएको छ । सोमबार श्वासप्रश्वासमा समस्या देखिएपछि उनलाई अस्पताल भर्ना गरिएको थियो । उनको राति २ बजे उपचारको क्रममा मृत्यु भएको हो ।
एकै दिन १४ जनाको मृत्यु
सुदूरपश्चिममा कोरोना संक्रमणको दोस्रो लहर फैलिएसँगै पछिल्लो एक साता यता मृत्युदर बढ्दै गएको छ । सोमवार मात्र सुदूरपश्चिमका विभिन्न अस्पतालमा उपचार गराइ रहेका १४ जनाको एकै दिन ज्यान गएको छ । यो अहिलेसम्मकै सर्वाधिक संख्या हो । सोमवार कंचनपुरमा ६, कैलालीमा ५, बझाङमा २ र दार्चुलामा १ गरी १४ जना संक्रमितको ज्यान गएको हो । प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार यस अघि आइतवार एकैदिन १२ जनाको ज्यान गएको थियो ।
सुदूरपश्चिममा वैशाखको दोस्रो सातादेखि मृत्युदर बढेको हो । गत २०७६ चैतको १४ गते पहिलो संक्रमित देखिएको दुई महिनापछि २०७७ जेठ १८ गते पहिलो संक्रमितको मृत्यु भएको थियो । दोस्रो लहर सुरु हुन अघिसम्म कोरोनाको संक्रमणले सुदूरपश्चिममा मृत्यु हुनेको संख्या ५७ जना मात्र रहेको स्वास्थ्य निर्देशनालय दिपायलको तथ्यांकले बताएको छ ।
वैशाख १ गतेदेखि सोमबारसम्म ६९ जनाको कोरोना संक्रमणले मृत्यु भएको निर्देशनालयका हेमराज जोशीले जानकारी दिए । बिहीवार यता ५ दिनमा मात्र ५२ जनाको संक्रमणबाट ज्यान गएको छ । सुदूरपश्चिममा अहिलेसम्म २ हजार २४३ सक्रिय संक्रमित रहेका छन् । पहिलो र दोस्रो चरण गरेर कोरोना संक्रमणबाट सुदूरपश्चिममा अहिलेसम्म १२६ जनाको ज्यान गएको निर्देशनालयले जनाएको छ ।
गेटा मेडिकल कलेजमा अस्थायी कोभिड अस्पताल
कैलालीको गेटा मेडिकल कलेजमा अस्थायी कोभिड अस्पताल बनाउन तयारी थालिएको छ । कैलालीका प्रमुख जिल्ला अधिकारी खगेन्द्र रिजालले दुई हजार अटाउने आइसोलेसन बनाउने योजना रहेको र पहिलो चरणमा पाँच सय शय्याको उपचार केन्द्र संचालन गर्ने तयारी सुरु भएको बताए । आइसोलेसनमा कोरोनाका बिरामीलाई अक्सिजन, आइसियु र भेन्टिलेटरको समेत व्यवस्था हुने उनले जानकारी दिएका छन् ।
जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्रका अध्यक्षसमेत रहेका कैलालीका प्रमुख जिल्ला अधिकारी रिजालको नेतृत्वमा र्यापिड एक्सन टिमसमेत बनाइएको छ । आइसोलेसन व्यवस्थापनका लागि गेटामा विद्युत जडान, खानेपानी व्यवस्थापन, स्वास्थ्य सामग्री तथा उपकरण व्यवस्थापन भइरहेको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।