जसपा : ओलीलाई सघाउन महन्थ ठाकुरले बटुले हस्ताक्षर, उपेन्द्रका पनि सांसद तान्दै
कार्यकारिणी समिति सदस्य पनि काठमाडौं आए

जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरले सांसद र कार्यकारिणी सदस्यलाई खाली कागजमा हस्ताक्षर गराएका छन्। शनिवार बसेको ठाकुर पक्षको अनौपचारिक बैठकको निर्णयानुसार यस्तो अभियान चलाइएको हो।

ठाकुरले आफूनिकट सांसद र कार्यकारिणी समितिको सदस्यहरुको हस्ताक्षर संकलन गरिरहेका छन्। केपी शर्मा ओली नेतृत्वको सरकारलाई विश्वासको मत दिन २७ वैशाखमा राखिएको विशेष अधिवेशनमा समर्थन गर्ने हेतुले हस्ताक्षर संकलन थालिएको हो।

ठाकुरले पार्टी विभाजन हुने पनि संकेत गर्दै आवश्यक कदम चाल्नुपर्ने जरुरी हुन सक्ने भनेर सांसदहरुलाई खाली कागजमा हस्ताक्षर गराइरहेका छन् ।

स्रोतका अनुसार तर त्यो कागज के प्रयोजनका लागि हो भन्‍ने खुलाइएको छैन। सांसदहरुसँग हस्ताक्षर गराएर त्यो कागज ठाकुर आफैले उनीनिकट एक सांसदले फरकधारलाई बताए ।

क-कसले गरे हस्ताक्षर

पछिल्लो तीन दिनमा ठाकुर पक्षले राजधानीमा उपलब्ध पूर्व राजपाका १२ सांसदहरुबाट हस्ताक्षर लिइसकेको छ । तीनजना नेताहरु राजधानी बाहिर रहेका हस्ताक्षर अझै बाँकी रहेको स्रोतले जनाएको छ । 



हस्ताक्षर बाँकी हुनेहरुमा शरद सिंह भण्डारी, निर्जला राउत र प्रमोद साह छन् । सांसद भण्डारीको परिवारमा कोरोना संक्रमित भेटिएकाले केही समय उनी होम आइसोलेसनमा छन्। त्यहीकारण उनको हस्ताक्षर हुन नसकेको हो।

त्यसैगरी सांसदद्वय राउत र साह राजधानी बाहिर  छन्। ती दुवैजनाको पनि हस्ताक्षर बाँकी नै रहेको ठाकुर पक्षका एक सांसदले बताए।



ठाकुर पक्षका नेताहरुले अहिलेसम्म पूर्व राजपाबाट महेन्द्र राय यादवको हस्ताक्षर गराउन नसकेको स्रोतको भनाइ छ । हस्ताक्षरमा आनाकानी गरिरहेकाले उनलाई ठाकुर पक्षले शंकाको नजरले हेरिरहेको छ। अहिलेसम्म पूर्व राजपाबाट १५ जनाको हस्ताक्षर ‘कन्फर्म’ भएको स्रोतको भनाइ छ ।

उपेन्द्रका ४ जना ठाकुर पक्षमा

पूर्व राजपाको हस्ताक्षर संकलन अभियानमा पूर्व सपाबाट पनि केही सांसदहरुले सघाउने भएका छन् । प्रधानमन्त्री ओलीले संसदबाट विश्वासको मत लिने भएपछि पूर्व समाजवादीका तर्फ चारजनाले महन्थ ठाकुरलाई सघाउने तयारी गरेको स्रोतले जनाएको छ। 

स्रोतका अनुसार सांसदहरु विमल श्रीवास्तव र उमाशंकर अरगरियाको नेतृत्वमा ती चार सांसदले ठाकुरलाई साथ दिएका छन् । ती चारैजनाले ठाकुरसँगै कुरा गरेर आफूहरु जेसुकै भए पनि साथ दिने जनाउ दिएका छन्। उनीहरुले विश्वासिलो काम पनि गरिसकेका स्रोत बताउँछ। तर त्यो विश्वासिलो काम अहिले गोप्य राखिएको स्रोतले जनाएको छ ।

२३ कार्यकारिणी सदस्यको हस्ताक्षर

ठाकुर र राजेन्द्र महतोले आफूनिकट सांसदसँगै कार्यकारिणी सदस्यलाई पनि काठमाडौं बोलाएका छन्। स्रोतका अनुसार देशभरबाट कार्यकारिणी समितिका सदस्य राजधानी आइसकेका छन् । केही आउने क्रममा छन् ।

सांसदसँगै ठाकुर पक्षले कार्यकारिणी समिति सदस्यहरुको हस्ताक्षर संकलन गरिरहेको छ। अहिलेसम्मको सूचना अनुसार कार्यकारिणी समितिका २३ जनाको हस्ताक्षर संकलन भइसकेको छ । यसमा पूर्व राजपाका ३ जनाले हस्ताक्षर गर्न अझै बाँकी छ।

महेन्द्र राय यादव, रमेश यादव र राजकिशोर यादवनिकट मानिने एकजना कार्यकारिणी सदस्यको हस्ताक्षर अझै बाँकी रहेको स्रोतले जनाएको छ । जसपामा ५१ सदस्यीय कार्यकारिणी समिति छ। 

सत्ता समीकरणको विषयलाई लिएर जसपा पूर्ववत् पार्टीको हैसियतमा फर्किसकेको  छ । एक वर्षअगाडि रहेको पूर्व राजपा र पूर्व सपाको हैसियतमा आफ्नो बैठक तथा निर्णयहरु गर्न थालेका छन्।

२३ फागुनमा सर्वोच्च अदालतले नेकपालाई साविकको दलमा ब्यूँताइदिएपछि जसपाभित्र यो खेल सुरु भएको हो । सरकार निर्माणमा जसपा निर्णायक बनेपछि आन्तरिक विवाद सुरु भइ फुटको संघारमा पुगिसकेको छ । 

सत्ता समीकरणको सवालमा जसपा भित्रका दुई गुटमध्ये एउटा ओली सरकारलाई सघाउने पक्षमा उभिएको छ भने अर्को विपक्षमा छ। यी दुई गुटको लडाइँले जसपा पनि तत्कालीन नेकपा जस्तै विभाजनको अन्तिम अवस्थामा पुगेको छ।

  • प्रकाशित मिति : बैशाख २१, २०७८ मंगलबार १३:४७:४३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया