प्रधानमन्त्री केपी शर्मा ओलीले पछिल्लो समय माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग एकपछि अर्को बदला लिन थालेका छन्। आफूलाई सरकारबाट हटाउने अभियानमा लागिरहेका प्रचण्डसँग ओलीले देशदेखि विदेशसम्म पनि बदला लिन थालेका हुन्
सोमबार बसेको मन्त्रिपरिषद् बैठकबाट ओलीले माओवादी कोटाबाट नियुक्त भएका गण्डकी प्रदेश प्रमुख अमिक शेरचन र सुदूरपश्चिम प्रदेश प्रमुख शर्मिला त्रिपाठीलाई हटाएर आफू अनुकुल नियुक्ति दिएका छन्।
ओलीले गण्डकीमा चितवनकी सीता पौडेल र सुदूरपश्चिममा सप्तरीका गंगाप्रसाद यादवलाई नियुक्ति दिलाएका छन्। गण्डकीबाट हटेका अमिक शेरचनले आफूलाई जेलबाट हटे जस्तै भएको बताउँदै राष्ट्रपति विद्यादेवी भण्डारीलाई धन्यवाद नै दिएका छन्।
राजदूत पनि फिर्ता
ओलीले प्रचण्डका सहयोगी फिर्ता बोलाएर उनका पखेटा काट्ने अभियानलाई अझै निरन्तर दिइरहेका छन्। हिजो नै बसेको क्याबिनेटले अस्ट्रेलियाका लागि नेपाली राजदूत महेशराज दाहाललाई पनि फिर्ता बोलाएको छ। दाहाल माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका नातेदार पनि हुन्। उनलाई दाहालकै जोडबलमा अस्ट्रेलिया पठाइएको थियो।
तत्कालीन नेकपा रहँदा माओवादी केन्द्रको कोटामा अस्ट्रेलियाका लागि राजदूत बनेका दाहाललाई ओलीले आधा कार्यकाल नपुग्दै तानेका हुन्। त्यसअघि अस्ट्रेलियाका लागि नेपाली राजदूत लक्की शेर्पा मानव बेचबिखनसहितका मुद्दामा मुछिएपछि २३ पुस २०७५ मा बर्खास्त गरिएको थियो। त्यसपछि दाहाललाई माओवादीको कोटाबाट राजदूत बनाएर पठाइएको थियो।
तर फागुन २३ मा नेकपा खारेजीमा परेर माओवादी केन्द्र र एमाले ब्यूँतिएपछि ओलीले एकपछि अर्को निशाना प्रचण्डमाथि साँधिरहेका छन्। त्यही अभियान अन्तर्गत बालुवाटारमा आइतबार साँझ बसेको मन्त्रिपरिषद्को बैठकले दाहाललाई फिर्ता बोलाउने निर्णय गरेको हो।
परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले पनि दाहाललाई अस्ट्रेलियाबाट फिर्ता बोलाइएको जानकारी दिएका छन्। परराष्ट्र मन्त्रालयले दाहाल कार्यसम्पादन मूल्यांकनका कमजोर देखिएपछि फिर्ता बोलाउने निर्णय भएको जनाएको छ।
ओली सरकारले माओवादी कोटामा नियुक्ति लिएकाहरुलाई बिदा गर्ने नीति नै बनाएको छ। यसअघि प्रदेश २ प्रमुख तिलक परियारलाई हटाएर ओलीले राजेश अहिराज झालाई नियुक्ति दिलाइसकेका छन्। यसअघिका सरकारले जस्तै ओलीले पनि आफूइत्तरका दल र समूहबाट नियुक्ति लिएकाहरुलाई धमाधम हटाइरहेका छन्।
देउवाका मान्छे सुरक्षित
ओलीले प्रचण्डका मानिसमाथि एकपछि अर्को आक्रमण गरिरहेका बेला आफूप्रति केही नरम धारणा राख्दै आएका कांग्रेस सभापति शेरबहादुर देउवाका मान्छेलाई पनि केही गरेका छैनन्।
उनले सभापति देउवाको सिफारिसमा राजदूत बनेका दुईजनालाई भने नचलाएका हुन्। ओली क्याबिनेटले देउवाकी सासू प्रतिभा राणालाई अर्को व्यवस्था नभएसम्म जापानका लागि राजदूतमा यथावत राखेको छ। तर परराष्ट्र मन्त्रालयका अनुसार उनको कार्यसम्पादन मूल्याङ्कन अहिलेसम्मकै कमजोर छ। उनले नेपाली राजदूतका रुपमा जापानमा कुनै प्रभाव छाड्न नसकेको बुझाइ परराष्ट्रकै अधिकारीबीच छ।
राणालाई राष्ट्रिय प्रजातन्त्र पार्टीको कोटामा जापानका लागि राजदूत बनाए पनि जोडबल भने उनका जुवाईँ देउवाकै थियो। उनीसँग नियुक्त अन्य राजदूतहरु फर्किसकेका छन्। तर देउवासँगको आन्तरिक राजनीतिक साइनोका कारण प्रतिभा राणाबारे ओली मौन बसेका हुन्।
यसलाई एमालेभित्रै पनि देउवालाई रिझाइरहने ओलीको रणनीति मानिएको छ। प्रतिभा राणामाथि राजदूतका रुपमा जापानमा भन्दा काठमाडौंमै समय बिताएको आरोप लाग्ने गरेको छ। उनी राजदूतभन्दा बढी आफ्नो निजी काममै व्यस्त रहँदा जापानमा नेपालको प्रभाव शून्य रहेको टिप्पणी हुँदा पनि देउवासँगको सम्बन्धकै कारण ओलीले उनलाई फिर्ता नबोलाएको परराष्ट्र अधिकारीहरु नै बताउँछन्।
ओलीले आोमानस्थित राजदूत शर्मिला पराजुली ढकाललाई पनि फिर्ता बोलाएनन्। उनको पनि अर्को व्यवस्था नभएसम्मलाई पद जोगाइएको छ। त्यहाँस्थित नेपाली समुदायमाझ उनले आफूलाई ओली निकटका रूपमा चिनाउने गरेकी छन्। प्रतिभा भन्दा उनी क्रियाशील भने रहेको नेपाली समुदायको बुझाइ छ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।