कोरोनाले रोजगारी गुमाएका युवाहरुलाई गाउँमै रोजगारी
फरकधार / २१ बैशाख, २०७८

कोरोना भाइरसको दोस्रो लहरले देशको स्वास्थ्य क्षेत्र नराम्रोसँग प्रभावित भइरहेको छ । देशका झण्डै आधा जिल्लामा संक्रमण थेग्न नसक्ने अवस्थामा पुगेसँगै निषेधाज्ञा जारी गरिएको छ । रोजगारीका लागि भारत तथा देशका विभिन्न क्षेत्रमा गएका युवाहरु रोजगारी गुमाएर गाउँघर फर्किरहेका छन् । 

दैलेखमा एभरेस्ट क्लब र विश्व खाद्य कार्यक्रमले युवाहरुलाई लक्षित गरेर विभिन्न सामाजिक कार्य अघि बढाएका छन् । कोरोनाका कारण रोजगारी गुमाएका तथा प्रधानमन्त्री रोजगार कार्यक्रममा सूचीकृत बेरोजगार युवालाई कम्तीमा ४० दिन रोजगारी दिने उद्देश्यका साथ विभिन्न आयोजनाहरु अघि बढाइएको हो । 

जिल्लाको महाबु, भैरवी र नौमुले गाउँपालिकाको योजना तर्जुमाबाट छनोट भई आर्थिक स्रोतको अभावका कारण सञ्चालन हुन नसकेका योजना अघि बढाइएको छ । 

कृषि सडक, सिंचाइ कुलो, माटो संरक्षण, वृक्षरोपण, पानी घट्ट निर्माण जस्ता काम गरिरहेको परियोजना संयोजक टेकराज आचार्यले जानकारी दिए । 

‘नौमुले गाउँपालिकामा ७ वटा, महाबु गाउँपलिकामा ९ वटा र भैरवी गाउँपलिकामा १० वटा गरी २६ योजनाहरु छनोट गरिएको छ,’ उनले भने, ‘उक्त काम आउँदो जेठ महिनाभित्र निर्माण सम्पन्न हुनेछन् । बेरोजगार युवाहरुलाई कम्तीमा ४० दिनको रोजगार प्रदान गर्ने हाम्रो लक्ष्य हो ।’

तीन वटै पालिकाका १ हजार ४ सय युवाहरुका लागि ३ करोड ३६ लाख बजेट रहेको भन्दै उनले जिल्लाको दररेट अनुसार बैंक खातामार्फत् रकम भुक्तानी हुने बताए । यस्तै परियोजनाले सामाजिक सुरक्षा भत्ता बापत ६ सय जनालाई १ करोड ४४ लाख रुपैयाँ प्रदान गरेको उनको भनाइ छ ।

  • प्रकाशित मिति : बैशाख २१, २०७८ मंगलबार १४:४७:२७,  

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्


यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया