निषेधाज्ञामा निर्माणका काम निरन्तर, काम नगर्नेलाई कालो सूचीमा राखिने
फरकधार / २१ बैशाख, २०७८

कोरोना भाइरसको दोस्रो लहर देखिएसँगै सुर्खेतमा एक हप्तादेखि निषेधाज्ञा जारी गरिएको छ । सुरुमा एक हप्ताको लागि निषेधाज्ञा जारी गरिए पनि गत वर्षजस्तै निषेधाज्ञा बढ्दै जाने देखिएको छ । तर, यो वर्ष विकास निर्माणका काम भने निरन्तर सुचारु भइरहेका छन् । निषेधाज्ञाको समयभित्र वीरेन्द्रनगरका थुप्रै सडक कालोपत्रे गरिएको छ ।

सडक निर्माण मात्रै नभएर अन्य पूर्वाधार निर्माणका काम पनि निरन्तर भइरहेका छन् । सरकारी क्षेत्रदेखि निजी क्षेत्रमा यो वर्ष पूर्वाधार निर्माणले निरन्तरता पाएको छ । 
गत वर्ष कोरोनाका कारण विकास निर्माणको बजेट फ्रिज भएको कर्णाली प्रदेश सरकारले चालु आर्थिक वर्षमा विकास खर्चलाई सत्र प्रतिशत बढाउने बताएको छ । कामदारले मास्कको प्रयोग गरेर काम गरिरहेका छन् ।

हाल वीरेन्द्रनगरमा प्रदेश सरकार, केन्द्र सरकार तथा नगरपालिकाको मातहतमा रहेका योजनाको निर्माण काम भइरहेको छ । वीरेन्द्रनगरस्थित सरकारी प्लानिङ क्षेत्र, घण्टाघर, फोरलेन सडक, तातोपानी लगायतका ठाउँमा सडक निर्माणका काम भइरहेका छन् ।

गत वर्षजस्तै कोरोनाका कारण निर्माणका काम रोक्न नमिल्ने भौतिक पूर्वाधार विकास मन्त्रालय कर्णाली प्रदेशको मातहतमा रहेका पूर्वाधार विकास निर्देशनालयका इन्जिनियर हरि शर्मा धितालले बताए । ‘सरकारले नै सुरक्षाका मापदण्ड अपनाएर निर्माणका कामलाई निरन्तरता दिन भनेको छ,’ उनले भने, ‘अहिले सोही अनुसार काम भइरहेका छन् । सुर्खेतको छिन्चु, मेहलकुना, वीरेन्द्रनगरस्थित प्लानिङ क्षेत्र सडक लगायतका थुप्रै क्षेत्रका एकैसाथ काम भइरहेको छ ।’

चालु आर्थिक वर्षका कार्यक्रम अन्तर्गत करिब ८० प्रतिशत प्रगति भएको भन्दै उनले केही समयमा नै निर्माणका काम सक्ने लक्ष्य लिएको बताए । कर्णाली प्रदेश सरकारले यो वर्ष मात्रै सुर्खेतमा ३९ किलोमिटर सडक पिच गर्ने लक्ष्य लिएको छ । जस अन्तर्गत हालसम्म झण्डै १५ किलोमिटर मात्रै पिच भएको छ । यो वर्ष सत्र प्रतिशत सडक पिच गर्ने निर्देशनालयले बताएको छ ।

विभिन्न बहानामा म्याद थप भएका निर्माण कम्पनीलाई यो वर्ष म्याद थप नहुने भएकाले तत्काल काम अघि बढाउन निर्देशनालयले आग्रह गरेका छ ।

काम नगर्नेलाई कडा कारवाही

कर्णालीका नवनियुक्त भौतिक पूर्वाधार विकासमन्त्री अमरबहादुर थापाले विभिन्न बहानामा काम नगर्ने कम्पनीलाई कालोसूचीमा राख्ने बताएका छन् । ‘निश्चित क्षेत्रमा निश्चित व्यक्तिलाई खटाएर काम गर्ने, सामान ढुवानीमा सरकारले सहजीकरण गर्ने गरेको छ,’ उनले भने, ‘कोरोना लगायतका अन्य बहाना बनाउने कम्पनीलाई हामीले कालो सूचीमा राख्ने छौँ । त्यसको लागि मैले सम्बन्धित कार्यालय प्रमुखहरूलाई लिस्ट पठाउन भनेको छु । लिस्ट आएपछि हामी तत्काल एक्सनमा जाने छौँ ।’ गत वर्ष कोरोनाको कारण न्यून मात्रामा विकास निर्माणका काम भएको अवस्थामा यो वर्ष सत्र प्रतिशत काम गर्ने लक्ष्य रहेको मन्त्री थापाको भनाइ छ । 


 सुर्खेतको वीरेन्द्रनगरमा भइरहेका सडक निर्माणको काम तस्बीरमा 

 

  • प्रकाशित मिति : बैशाख २१, २०७८ मंगलबार १७:९:८,   अन्तिम अपडेट : बैशाख २१, २०७८ मंगलबार १७:९:३०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्


यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया