समयमै उपचार नपाउँदा धनुषामा एक बिरामीको मृत्यु

धनुषामा समयमै उपचार पाउन नसकेपछि एक बिरामीको ज्यान गएको छ ।

ज्यान जानेमा जिल्लाको बटेश्वर गाउँपालिका वडा नम्बर-४ स्थित ससुराली घर बस्दै आएका करिब ४५ वर्षीय लोकबहादुर परियार रहेका छन् । 

गत चार दिनदेखि ज्वरो र रुघाखोकी लागेका परियारलाई अस्पताल पुर्‍याए पनि समयमै उपचार पाउन नसक्दा उनको मृत्यु भएको हो । 

श्वासप्रश्वासमा अचानक समस्या देखिएपछि उपचारका लागि उनी सोमबार राति करिब ८ बजे बटेश्वर बजारस्थित आरपी मेडिकल हलमा पुगेका थिए । तर, त्यहाँ उनको उपचार सम्भव नभएको भन्दै आरपी मेडिकल हलका सञ्चालक सुवोध साहले प्रादेशिक अस्पताल जान सुझाव दिए ।

उनलाई एम्बुलेन्समार्फत प्रादेशिक अस्पताल ल्याइए पनि अस्पतालले यहाँ आइसोलेसन सेन्टर खाली नरहेको भन्दै अन्यत्र लान भनेको थियो । एम्बुलेन्स चालक रामबाबु महतोले प्रादेशिक अस्पतालबाट फर्काएर बिरामीलाई जानकी हेल्थ केयर र रामजानकी अस्पताल पुर्‍याए । तर, ती अस्पतालहरुले परियारलाई भर्ना गर्न मानेनन् । त्यसपछि बाध्य भएर एम्बुलेन्स चालक महतोले उनलाई पुनः गाउँकै आरपी मेडिकल हल लगे । तर, त्यहाँ अक्सिजन नभएका कारण उनको मृत्यु भएको चालक महतोले बताए ।

उनले भने,‘बिरामीलाई जनकपुर लग्ने बेला श्वासप्रश्वासमा समस्या देखेपछि मैले एम्बुलेन्समै अक्सिजन लगाइदिएको थिएँ । यहाँ आउँदा अस्पतालले भर्ना गर्न मानेन । निजी हस्पिटल जाँदा पहिले नै पैसा डिपोजिट गर्न भन्यो । तर, आइसियुमा भर्ना हुन अस्पतालले मागे जति पैसा परियारसँग नहुँदा उनले मलाई फेरि घर पुर्‍याइदिनु भनेका थिए । मैले पुर्‍याई दिएँ । बिहान थाहा भयो, उनी बितिसके ।’ 



परियारको शवलाई नेपाली सेनाको टोलीले गाउँ नजिकैको खोलामा व्यवस्थापन गरेको र घटनाबारे अनुसन्धान भइरहेको प्रहरी चौकी बटेश्वरले जनाएको छ ।



  • प्रकाशित मिति : बैशाख २१, २०७८ मंगलबार १७:३२:४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया