कोरोनापीडितकाे क्रन्दन : बरु बेड चाहिँदैन, अक्सिजन देऊ

बिरामी भन्छन्– उपचार देऊ, नेता भन्छन्– आफ्नालाई बेड देऊ, सरकार भन्छ– बिरामी बचाऊ, अस्पतालले न बचाउन सक्छ, न बेड दिन ।

बाँच्ने आशामा दाङको बेलझुण्डीमा सञ्चालित कोरोना अस्पतालको गल्लीको भुइँमा कम्मल बिछ्याएर अक्सिजनको सहारामा बाँचिरहेका यी व्यक्ति तुलसीपुर–८ का प्रेमबहादुर डाँगी हुन् ।

अक्सिजन नभए उनको जीवन तल–माथि जे पनि हुन सक्ने भन्दै अस्पतालले चेतावनी दिएको छ । तर, उनका लागि चलाइएको अक्सिजन सिलिण्डर रित्तिने बेला भइसकेको, तर अर्काे सिलिण्डर दिने अवस्था नरहेको अस्पतालले उनलाई सुनाइसकेको छ । 

आफन्त उनलाई टाढैबाट नियालिरहेका छन् । न बोल्न सक्ने, न हेर्न सक्ने अवस्था रहेका उनका लागि बेड नदिए पनि अक्सिजन त दिए हुन्थ्यो भन्दै उनका आफन्त अस्पतालसँग उनको जीवनको भीख मागिरहेका छन् ।  उनका भाइ सूर्यबहादुर डाँगीले दुखेसो पोखे, ‘बाँच्छ कि दाइ भन्ने आशामा अस्पताल त ल्याएँ, तर, सास यहीँ जाने हो कि भन्ने चिन्ता छ । अक्सिजन छैन भन्छन्, भएको रित्तिने बेला भइसक्यो । 

यो पीडा डाँगीको मात्रै होइन । यस्तै पीडा भोगेर अक्सिजनको अभावमा अस्पतालमा तुलसीपुर–९ बेलुवा निवासी ४८ वर्षिय एक पुरुषको ज्यान गइसकेको छ । अक्सिजन अभावका कारण बिरामी बचाउन नसकिने अवस्थामा अस्पताल पुगेको छ । 

सरकारले अक्सिजनको व्यवस्था अझै गर्न सकेको छैन । अस्पतालसँग ल्याउन सक्ने सामर्थ्य पनि छैन । जसका कारण बिरामीले मृत्यु पर्खनुपरिरहेको कहालीलाग्दो अवस्था छ । 



मंगलबार दाङको बेलझुण्डीमा सञ्चालित कोरोना अस्पतालमा ४६ जना कोरोना संक्रमित बिरामी उपचाररत अवस्थामा छन् । २५ बेडको अनुमतिमा सञ्चालित अस्पताल मा ४० जना संक्रमित अक्सिजनको सहारामा बाँचिरहेका छन् । बेडको अभावका कारण केही बिरामी भुइँमै पल्टिएका छन् । 

अस्पतालभित्र बिरामीको अवस्था निकै बेहाल छ । बिरामीहरु बाँच्ने आशामा छटपटाइरहेका छन् । ‘बिरामी बचाउन मुस्किल छ, दुई–चारजना बिरामी अक्सिजनको अभावमा मरिसके, करिब ४० जना बिरामी अक्सिजन अभावको जोखिम मोलिरहेका छन्,’ अस्पतालका व्यवस्थापक भन्छन्, ‘नेता, जनप्रतिनिधिहरु फोन गर्छन्, हाम्रो मान्छेलाई बेड चाहियो भन्छन्, बिरामी र अस्पतालको हालतबारे कसैले सोध्दैनन् ।’ 



जसका कारण बिरामीलाई बचाउने कोसिस कतिपय अवस्थामा व्यर्थ भइरहेको पीडा उनले पोखे । यो पीडा अस्पतालको मात्रै होइन, बिरामी र उनका आफन्तले अझ धेरै भोग्नुपरिरहेको छ ।

‘बिरामी बचाउने केले सरकार ?’

‘सरकारले जसरी पनि बिरामी बचाउने निर्देशन दिन्छ । त्यो धर्म हाम्रो हो । तर, कसरी र केले बचाउने सरकारले उत्तर दिँदैन,’ अस्पतालमा कार्यरत चिकित्सक डा. रामेश्वर देवकोटाले भने, ‘अस्पतालले अब थेग्न सक्ने अवस्था छैन ।  

अक्सिजनको अभावमा बिरामी छटपटाइरहेका, तर सरकारले वास्ता नगरेको उनको गुनासो छ । उनी भन्छन्, ‘स्थानीय सरकार पनि मौन छन् । सरकार नै मौन रहे बचाउने केले ? हामीलाई गाह्रो छ ।’ 

  • प्रकाशित मिति : बैशाख २१, २०७८ मंगलबार २०:५९:३८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया