माधव समूहमा छलफलः प्रधानमन्त्रीलाई विश्वासको मत लिन सहयोग गर्ने !

प्रधानमन्त्री केपी शर्मा ओलीले २७ वैशाखमा विश्वासको मत लिने निर्णय गरेपछि नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल समूह अहिले आन्तरिक छलफलमा जुटेको छ ।

दुई दिनअघि अचानक प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिने बताएपछि नेपाल समूह अचम्ममा मात्र परेन, यसलाई ओलीको नयाँ रणनीति मान्दै के गर्ने भन्ने विषयमा छलफलमा जुटेको हो । 

नेपाल समूहका एक प्रभावशाली नेताले फरकधारसँग कुरा गर्दै ओलीलाई नेपाल समूहले यो विश्वासको मतमा सहयोग गर्नेबारे पनि छलफल भएको बताएका छन् । 

‘पार्टी एउटै भएकाले र एउटै पार्टीबाट हामी सांसदमा निर्वाचित भएकाले प्रधानमन्त्रीलाई सहयोग गर्न हामी तयार हुनुपर्छ,’ ती नेताले भने, ‘पार्टीभित्र अहिले पनि विद्रोह चलिरहेको छ, पार्टी सुधारका लागि हामी आन्दोलनमा छौँ । तर, पार्टीप्रति हामी इमान्दार हुने हो भने अहिले कानुनी रुपमा हाम्रो पार्टी एउटै हो, त्यसलाई हामीले बिर्सनु हुँदैन ।’

तर, यसका लागि केही सर्तहरु आफूहरुसँग भएको पनि ती नेताले बताएका छन् । आन्तरिक छलफलमा जुटेको यो समूहले यी सर्तहरुमाथि पनि छलफल गरिरहेको ती नेताले बताएका छन् । 

उनले भने, ‘तर, पार्टीमा यो अवस्था आउन हामी जिम्मेवार छैनौँ, प्रधानमन्त्री ओली नै जिम्मेवार छन् भन्ने सबैले बुझेका छन् । त्यसैले प्रधानमन्त्री ओलीले लचक भएर पहिले भएका सहमतिलाई आधार बनाउने हो र ३ जेठमा फर्किने हो भने पार्टी फेरि एक ढिक्का हुनेछ ।’



उनले यसका लागि २७ वैशाख अघि नै ओलीले आफ्नो समूहसँग वार्ता गरेर सहमति बनाउनु पर्ने सर्त आफूहरुको भएको पनि बताएका छन् ।

‘हिजो गरेका गल्तीहरुलाई उहाँले माफी मागेर अगाडि बढ्ने हो भने हामीले उहाँलाई साथ दिन सक्छौँ,’ उनले भने, ‘यसले एमालेलाई थप सुदृढीकरणमा लैजाने विश्वास लिएकैले यस विषयमा पनि छलफल भएको हो ।’



  • प्रकाशित मिति : बैशाख २२, २०७८ बुधबार ४:८:३७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया