अक्षय सहनी विराटनगर १७ का स्थायी बासिन्दा हुन् । उनी गएको स्थानीय तहको निर्वाचनमा वडा सदस्यमा उठेका थिए । तर, उनी विजयी हुन सकेनन् ।
निर्वाचन जितौँला र जनप्रतिनिधि भएर केही गरौंला भन्ने योजना पूरा भएन । तर, पनि उनी समाजसँग जोडिने योजनालाई भने त्यसले छेकेन ।
उनले विराट समाज भन्ने संस्था दर्ता गरे र सामाजिक काममा लागे । सुरुमा गरिब र विपन्न परिवारका सदस्यहरुको मृत्यु भएपछि कपडा र जलाउने दाउराको व्यवस्था गर्न थाले । उनी सम्झन्छन्, ‘नहुनेलाई अन्त्येष्टि र काजक्रिया गर्न नै समस्या भएपछि विराट समाजमार्फत् काम थालियो ।’
अहिले भने उनको दैनिकी फेरिएको छ ।
विराटनगर अहिले कोरोनाको हटस्पट बनेको छ । विराटनगरमा मात्रै प्रदेशका कुल संक्रमित मध्ये आधा संक्रमित छन् ।
विराटनगरमा कोरोनाको संक्रमण फैलिएपछि उनी अहिले संक्रमितको घर-घरमा पुगेर संक्रमण निर्मलीकरणका लागि केमिकल छर्छन् ।
कोरोना संक्रमण भएर मृत्यु भएकाहरुको घरमा पुग्छन् र विषादी छर्छन् ।
यो कामका लागि विराट समाजमा आबद्ध अरु युवाहरुले पनि साथ दिएका छन् ।
यो कामका लागि आवश्यक पर्ने केमिकल तथा अवश्यक स्वास्थ्य उपकरणका लागि समाजमा आबद्ध युवाहरुले पैसा उठाउँछन् ।
सहनी सहितको समूहले कोरोनाको लक्षण देखिएकाहरुको घरमै पुगेर ल्याबसँगको समन्वयमा पिसिआर परीक्षण समेत गराउँदै आएका छन् ।
गएको वर्षदेखि नै हामीले यो काम गरिरहेका छौं । सहनीले भने, ‘घर घरमा पुगेर विषादी छर्कँदा केही साथीहरु समेत संक्रमणमा परे तर हामीले काम रोकेका छैनौं ।
सुनसरी इटहरीका शुभेक्षु देवान केही वर्ष हङकङ बसे । उनले त्यहाँ बस्दा सामाजिक काम कसरी गर्नु पर्छ भन्ने देखे । घर फर्किएपछि उनलाई त्यहाँ भएको कामले प्रभाव पार्यो ।
अनि स्थापना गरे लिभरल सोसाइटी । अहिले आफू जस्तै युवाहरुको समूह लिएर शुभेक्षु कोरोना संक्रमित भएकाहरुको घर-घरमा पुगिरहेका छन् । उनी पुग्दा आफूसँग पोसिलो खानेकुरा समेत लिएर पुग्छन् ।
उनीहरुको अवस्था बुझ्छन् । आवश्यक सहयोग गर्छन् र घर आसपासमा कोरोना निर्मलीकरणका लागि विषादी छर्कन्छन् ।
गएको वर्षदेखि नै यो काम थालेको भए पनि यो वर्ष अझ बढी काम गरेको लिभरल सोसाइटीले जनाएको छ ।
हामीले यस वर्ष मात्रै एक सयभन्दा बढी घरमा विषादी छर्कने काम गरेका छौं ।
संक्रमितहरुलाई हौसला प्रदान गर्न सकियो मात्रै भने पनि उनीहरु कोरोना जित्न सफल हुन्छन् । शभेक्षुले भने, ‘हौसला बढाउनका लागि पनि हामी संक्रमितको घरमै पुगिरहेका छौं ।
शभेक्षुको समूहले सार्वजनिक स्थानहरुमा समेत निर्मलीकरणको काम गरिरहेको छ ।
जिल्लामा मानिसहरुको भिडभाड बढी हुने स्थानमा पुगेर सेनिटाइज गर्ने काम गरेको देवानले बताए ।
माक्स खै अभियान
संक्रमण रोकथामका लागि संक्रमित निर्मलीकरण अभियान मात्रै होइन युवाहरुले माक्स खै अभियान समेत सुरु गरेका छन् ।
माक्स नलगाई हिँड्नेहरूको संख्या बढेपछि विराटनगरका युवा परिस सुवेदी सहितको टिमले माक्स लगाउनु पर्छ भन्ने चेतना फैलाउँदै हिँडे । साथै गरिब र विपन्नहरुलाई माक्स समेत वितरण गरे ।
सुवेदी अहिले पनि माक्स बाँड्दै हिँड्छन् । सुरुमा सडकमा खटिने ट्राफिक प्रहरीलाई आवश्यक पर्ने स्वास्थय उपकरण वितरण गर्नमा लागे । त्यसपछि सडकमा व्यापार गरेर र रिक्सा कुदाएर जीविकोपार्जन गर्नेहरुका लागि माक्स वितरण गरे ।
माहामारीको रुपमा कोभिड फैलिएसँगै उनी अहिले फ्रन्टलाइनमा बसेर काम गर्नेहरुका लागि आवश्यक स्वास्थ्य उपकरण माक्स पिपिइ लगायतका सामग्री जुटाइ रहेका छन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।