ओली असफल पार्न प्रचण्ड-उपेन्द्रसँग मिसिए माधव, हात्तीवनमा वार्ता
हिजो पनि महाराजगञ्‍जमा चार नेता भेटे

प्रधानमन्त्री केपी शर्मा ओलीले वैशाख २७ गते विश्वासको मत लिने भएपछि उनी इत्तर दलहरु मोर्चाबन्दीमा जुटेका छन्। कांग्रेसको मंगलबार बसेको पदाधिकारी बैठकले ओलीलाई विश्वासको मतमा फेल बनाउने निर्णय गरेसँगै प्रतिपक्षी दलहरुले मोर्चा सुरु गरेका हुन्। 

कांग्रेस र माओवादीको बैठक लगत्तै मंगलबार महाराजगञ्‍जमा कांग्रेस सभापति शेरबहादुर देउवा, माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, एमाले वरिष्ठ नेता माधवकुमार नेपाल र जनता समाजवादी अध्यक्ष उपेन्द्र यादवबीच भेटवार्ता भएको खुलेको छ। उक्त वार्तामा चार नेताबीच ओलीलाई विश्वासको मतमा जसरी पनि असफल बनाइ छाड्ने सहमति भएको स्रोतले बताएको छ।

हिजोको भेटवार्तापछि आज पनि नेताहरुबीच वार्ता जारी छ। माओवादीले समर्थन फिर्ता लिएको दिन आज बिहान हात्तीवनस्थित उपेन्द्र यादव निवासमा तीन नेताबीच वार्ता भएको छ।

उक्त वार्तामा प्रचण्ड र नेता नेपाल सहभागी थिए। वार्ताका क्रममा ओलीलाई विश्वासको मतमा फेल बनाएर वैकल्पिक सरकारका सम्भावनाबारे नेताहरुबीच कुरा भएको स्रोतले बताएको छ। 

सर्वोच्च अदालतले फागुन २३ गते नेकपा खारेज गरिदिएर साविककै नेकपा एमाले र माओवादी केन्द्र ब्यूँताइदिएपछि ओली हटाउने अभियान जारी छ। माओवादीले ब्यूँतिएको दुई महिनापछि ओली सरकारको समर्थन फिर्ता लिनुअघि प्रचण्डले उपेन्द्र यादवलाई साक्षी राखेर नेता नेपालसँग वार्ता गरेका हुन्। 

उपेन्द्र यादव निवास हात्तीवनमा ओलीलाई असफल बनाउने विकल्पबारेमा नेताहरुले कुरा गरेका थिए। नेता नेपाल पक्षमा रहेका करिब २१ जना सांसदहरुले सामूहिक राजीनामा वा फ्लोर क्रस गरेर भए पनि ओलीलाई ढालि छाड्ने योजना बनाएका छन्। 



ओलीलाई बहुमतका लागि १३६ मत चाहिएको छ। एमालेसँग अहिले १२१ मत छ तर नेपाल पक्षका २१ सांसदले साथ नदिएमा ओली सरकार ढल्नेछ। नेता नेपाल जसरी पनि ओलीलाई पाठ सिकाउन अन्तिम लडाइँका लागि वैशाख २७ लाई प्रयोग गर्ने रणनीतिमा लागेका बेला विपक्षीहरु उनलाई आफ्नो पक्षमा तान्‍न लागिसकेका छन्। 
 



  • प्रकाशित मिति : बैशाख २२, २०७८ बुधबार १४:३३:०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया