'अस्पतालमै सर्‍यो कोरोना, बिरामी छटपटाएको दृश्यले मन पोलिरहन्छ'
पिपिई लगाएर दैनिक १६ घण्टासम्म खटिन्छन्

कोरोनाको दोस्रो लहरले भयावह रुप लिइरहँदा फ्रन्ट लाइनका सिपाही बनेका छन् स्वास्थ्यकर्मी। दोस्रो लहरले डरलाग्दो संकट ल्याइरहँदा आफ्नो ज्यानको माया मारेर स्वास्थ्यकर्मीहरु कोरोनाविरुद्धको 'युद्ध मैदान'मा होमिएका छन्।

केही साताबीचमा कोरोनाले खतरनाक रुप लिइरहँदा फ्रन्टलाइनमा खटिएका स्वास्थ्यकर्मीले न आराम पाएका छन् त न बिदा! रातदिन संक्रमितको उपचारमा जुटेका स्वास्थ्यकर्मी नै यतिबेला संक्रमित हुन थालेका छन्। तर पनि उनीहरुले अस्पताल छाडेका छैनन्, स्वास्थ्यले साथ दिउञ्जेल संक्रमितको उपचारमा तल्लीन छन्। 

देशका साना ठूला सरकारी अस्पतालका बेड यतिबेला कोरोनाका बिरामीले भरिभराउ छन्। अस्पतालमा बेड मात्रै होइन स्वास्थ्यकर्मीहरु पनि निकै सीमित छन्।

कोरोनाको संकटको घडीमा नागरिकका लागि एक मात्रै सहारा भएका छन् चिकित्सक अनि स्वास्थ्यकर्मी। यस्तै एकजना फ्रन्टलाइनका योद्धा हुन् नेपालगञ्ज मेडिकल कलेजका डाक्टर विनोद प्याकुरेल। जो बिरामीको उपचारमा खटिँदा खटिँदै आफैं संक्रमित हुन पुगे।  

दैलेखमा जन्मिएर हुर्केका प्याकुरेलको परिवार काठमाडौंमा बस्छ। २८ वर्षका उनले  नेपालगञ्ज मेडिकल कलेजबाट नै आफ्नो पढाइ पूरा गरे । उनले त्यही अस्पतालमा काम गर्न थालेको ३ वर्ष भयो।

अहिले उनको काँधमा कोरोना संक्रमितको ज्यान जोगाउने महत्वपूर्ण जिम्मेवारी आइपरेको छ। उनी यो जिम्मेवारीमा सकेसम्म खरो उत्रिरहेका छन्। उनै फ्रन्टलाइनका एक योद्धाको एउटा फोटो गत मंगलबार सामाजिक सञ्जालमा भाइरल भयो। त्यो फोटोमा उनै डाक्टर विनोदका हात निरन्तर ग्लब्स लगाउँदा पसिनाले बाफिएर खुम्चिएका थिए।



नेपालगन्जको ४० डिग्री आसपासको गर्मीमा शरीर नै बाफिने पिपिई लगाएर उनी निरन्तर बिरामीको सेवामा जुटेका छन्। सानो लापरबाहीले धेरै ठूलो क्षति हुने उनले बुझेका छन्। तर अनेक सावधानी अपनाउँदा पनि उनलाई कोरोनाले भेट्यो।

केही दिनअघि भाइरल भएको तस्विर उनकै थियो। जसले अहिले कोरोनाविरुद्ध अग्रमोर्चामा खटिएका स्वास्थ्यकर्मीको अवस्था चित्रित गर्छ। ‘हातमा तीन पत्र ग्लब्स थियो। पसिना बाहिर निस्कन पाएन', उनले सुनाए, 'लामो समय लगाइरहँदा पसिना बाफिएर हात त्यस्तो भएको थियो।’ उनका हातमा मात्रै होइन, अनुहारमा पनि चस्मा र मास्कले बनाएका घाउ भइसकेको छ।



भाग्नु हुँदैन

उनी भन्छन्, ‘यो त मेरो कर्तव्य हो। यस्तो संकटको घडीमा जिम्मेवारीबाट भाग्नु त भएन नि', उनले सुनाए, 'यही काम गर्छु भनेर पढेको हो। बिरामी छटपटाएको त कसरी हेर्नु?’

उनी र उनका साथीहरुले यो संकटको बेला कति घण्टा ड्युटी गर्ने टुंगो छैन, उनी आफैंले पनि समय निर्धारण गरेका छैनन्। ‘जति सक्दो धेरै योगदान गर्ने हो। यही नै डाक्टरको धर्म हो’, उनले भने। 

अहिले उनी जस्ता डाक्टर र नर्सहरूको न खानको टुंगो छ न सुत्नै। ‘बिरामीको उपचारमा खटिँदा न खानको टुङ्गो हुन्छ न त सुत्नको। भोक, प्यास परको कुरा, शौचालय जाने समेत फुर्सद हुँदैन', उनले सुनाए, 'यो बेला केही नभनी काम गरिरहेका छौं।’

नेपालगञ्जको ४० डिग्री आसपास घुमिरहने गर्मीमा पिपिई सुट भित्रको शरीर बाफिएर हुने पीडा अर्कै छ। बाफिएको शरीरमा कहिलेकाहीँ त फोका पनि आउँछन्। एकजना बिरामीलाई हेर्न कम्तीमा पनि ३० मिनेट लाग्छ। बिरामीको चाप बढी भएका बेला हुने कष्टको उनी वर्णन गर्न सक्दैनन्।

अचानक संकटले छोप्दा

नेपालगन्ज अस्पतालमा वैशाख पहिलो सातासम्म सबै ठीक थियो। भारतको संकट सुन्दै गर्दा नेपालगन्जमा पनि एक्कासि कोरोनाका बिरामीको चाप बढ्यो। वैशाख ३ गतेसम्म ४-५ मात्रै बिरामी थिए। तर वैशाख ४ मा अचानक २० जनाभन्दा बढी बिरामी आए।

‘यस पटकका बिरामीहरु आइसियुमा भर्ना हुने गरी मात्रै अस्पताल आउनुभएको छ,’ उनले सुनाए। धेरैलाई स्वासप्रश्वासमा समस्या देखिएको प्याकुरेलले बताए। अहिले नेपालगञ्ज मेडिकल कलेजमा ७० जनाभन्दा बढी कोरोनाका बिरामी छन्। जसमा ६० प्रतिशतभन्दा धेरै सिकिस्त बिरामी छन्। 

अनि संक्रमण

बिरामीको सेवामा दिनरात खटिएका प्याकुरेललाई वैशाख १० गते अचानक हल्का ज्वरो आयो। कोभिडका पनि लक्षण देखिएपछि स्वाब परीक्षण गर्न दिए। रिजल्ट पोजेटिभ देखियो।

पहिलो भेरियन्टभन्दा छिटो संक्रमण हुने यो भेरियन्टले चिकित्सक आफैं संक्रमित बने। ‘शंका त लागेको थियो। पिसिआर रिर्पोट पोजेटिभ आएपछि होम क्वारेन्टिनमा छु’, उनले भने।

अन्य बिरामीलाई जस्तै उनलाई पनि सुरुका दुई तीन दिन निकै गाह्रो भयो। आफैं चिकित्सक भएकाले के-के गर्ने के नगर्ने थाहा थियो। त्यसैले घरमै बसेर आफ्नो स्वास्थ्यको हेरचाह गर्दैछन्, उनी। 

उनलाई कोरोनाको लक्षण देखिएको १४ दिन भयो। होम क्वारेन्टाइनमा बसेको १० दिन भएको छ। अस्पतालमा रहँदा उनी साताको सबै दिन दैनिक १६ घण्टासम्म बिरामीको उपचारमा सक्रिय भए।

यस्तो विपतको घडीमा आमाबुबाले पनि घर फर्किन नभनेका होइनन्। ‘सबै आमाबुबाको इच्छा हुन्छ, आफ्नो छोराछोरी सुरक्षित रहून्', उनले सुनाए, 'तर यो बेला आफ्नो कामबाट भाग्न मन लागेन, जिम्मेवारी छाडेर जान मन लागेन।’

ड्युटीको हुटहुटी

कोरोना भएपछि उनी अहिले आराम गरिरहेका छन्। तर उनलाई कहिले पिसिआर रिपोर्ट नेगेटिभ आउला जस्तो भइसकेको छ। 'डाक्टर हुँ। शरीरलाई अलिकति आराम भएर पिसिआर रिपोर्ट नेगेटिभ आउनेबित्तिकै बिरामीको सेवामा खटिनेछु,’ उनले आफ्नो प्रतिवद्धता सुनाए। 

कोरोनाको संकटयता उनले कयौँ बिरामीले प्राण त्यागेको देखिरहेका छन्। त्यो दृश्यले उनको मनलाई उद्वेलित बनाउँछ। सकेसम्म सबै बिरामीको उपचार गर्न चाहन्छन्। सास फेर्न नसकेर बिरामी छटपटाएको दृश्यले घरमा बस्दा उनको मन पोलिरहेको छ।

  • प्रकाशित मिति : बैशाख २२, २०७८ बुधबार १८:१९:५१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया