गाडी र कार्डवाला खुलेआम, निषेधाज्ञामा पैदल यात्रीलाई सजाय

दिउँसो १२ बजेको प्रचण्ड गर्मी । सुर्खेतको वीरेन्द्रनगर स्थित वीरेन्द्र चोकमा एक हुल मानिसहरूलाई प्रहरीले पहरा दिइरहेका थिए । अत्यधिक गर्मीबाट जतिसक्दो चाँडो त्यहाँबाट जान चाहन्थे मानिस । तर, प्रहरीले भने करिब एकदेखि दुई घण्टासम्म बस्नुपर्ने समय-सीमा तोकेको थियो । 

जारी निषेधाज्ञाको अवज्ञा गरेको भन्दै प्रहरीले उनीहरूलाई सडकमै होल्ड गरेर कारबाही गरेको हो । वीरेन्द्र चोक मात्रै नभएर मंगलगढी चोकमा पनि बिहानैदेखि एक हुल मानिसलाई प्रहरीले होल्ड गरेर राखेको थियो । 

कोरोना संक्रमितको संख्या बढ्दै गएपछि वैशाख १४ गते रातिबाट सुर्खेतमा जारी गरिएको निषेधाज्ञा वैशाख ३१ गते राति १२ बजे सम्मका लागि लम्ब्याइएको छ । 
निषेधाज्ञाको समयमा वीरेन्द्रनगर बजार-क्षेत्रमा पैदलयात्री भन्दा सवारी साधन धेरै हिँडिरहेको पाइन्छ । तर, चोक चोकमा पैदलयात्री मात्रै कारवाही भोगिरहेका छन् । विभिन्न किसिमका कार्डसहित गाडीमा बसेकालाई ट्राफिक वा जिल्ला प्रहरीको टोलीले अकस्मात रोके पनि कारवाही गर्न खुट्टा डगमगाउँछ । 

लामो समयसम्म निषेधाज्ञा भएपछि खाने खर्च जुटाउन माइत आएकी डिलमाया विक बुधबार मंगलगढी चोकमा सजाए भोगिरहेकी थिइन् । भेरीगंगा नगरपालिका सत्तरीबाट हिँडेर वीरेन्द्रनगर माइत आएकी उनी फर्किँदा ट्राफिक कारबाहीमा परेको बताइन् ।

न उनीसँग कुनै कार्ड थियो, न त सवारी साधन नै । त्यस कारणले चुपचाप सजाय भोगिरहेकी थिइन् । ‘गाडीवाला कार्ड देखाउँदै जान्छन्, हामी के देखाउने ?,’ उनले भनिन, ‘हामी आफ्नो घर समेत जान पाएका छैनौँ । यसरी जतिबेला पनि कार्ड देखाएर हिँड्न दिने पुलिसले हामीलाई पनि जान दिए हुने ।’

बजारमा खाद्यान्न सामग्री किन्न आउने क्रममा प्रहरीको कारवाहीमा परेको वीरेन्द्रनगर–३ का रमेश खत्रीले बताए । वीरेन्द्र चोकमा कारवाही भोगिरहेका रमेशले भने,‘आज पहिलो दिन बजार निस्केको थिएँ, कारवाहीमा परे । यस्तो हुन्छ भन्ने मलाई थाहा थिएन ।’ 



यता जिल्ला प्रहरी कार्यालय सुर्खेतले सवारी र पैदलयात्री दुबैलाई कारवाही गरेको बताएको छ । जिल्ला प्रहरी कार्यालयका प्रमुख एसपी राजेन्द्र भट्टले सवारी साधन र कार्डवालालाई निश्चित समयमा मात्रै हिँड्न दिने बताए । 

‘सरकारी कर्मचारीलाई बिहान साढे १० बजेभित्र अफिस गइ सक्नुपर्ने र बेलुका ५ देखि ६ मा घर पुग्न भनिएको छ,’ उनले भने, ‘अन्य विभिन्न क्षेत्रका कर्मचारीलाई पनि समय–सीमा तोकिएको छ । यस्तो अवस्थामा जथाभावी हिँडेपछि कारवाही भोग्न तयार हुनुपर्छ । यस अघि केही कमजोर भए पनि अब निषेधाज्ञा कडा पारिने छ ।’ प्रशासनको आदेशको अवज्ञा गर्ने सबैलाई कारबाही हुने उनले जनाए ।



काम नपाएर हिँडिरहेका, प्रष्ट नबोल्ने, प्रहरीलाई छल्दै हिँड्न खोज्ने जो कोहीलाई कारबाही गरिने सुर्खेतका प्रमुख जिल्ला अधिकारी छविलाल रिजालले बताए । 

‘इमरजेन्सी सेवाबाहेक अन्यलाई समयसीमा तोकिएको छ,’ उनले भने, ‘आ-आफ्नो सिफ्टमा सबैले ध्यान दिनुपर्छ । अवज्ञा गर्ने सबैलाई कारबाही हुन्छ । भोलिदेखि थप कडाइ हुनेछ ।’ 

निषेधाज्ञा अवज्ञा गरेकाे भन्दै कारबाही भाेगिरहेका एक हुल मानिस 

 

 

 

  • प्रकाशित मिति : बैशाख २२, २०७८ बुधबार १६:४६:३३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया