ओलीले कांग्रेससँग मागे विश्‍वासको मत, देउवाले जवाफमा भने : अहिले दिन सक्दैनौँ
तत्काल एमालेसँग कुनै सहकार्य हुन नसक्ने अडान

प्रधानमन्त्री केपी शर्मा ओलीले प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेससँग वैशाख २७ गते संसदमा विश्वासको मत दिन आग्रह गरेका छन्। 

एमालेका केही नेताहरु लिएर सभापति शेरबहादुर देउवा निवास बूढानीलकण्ठ पुगेका प्रधानमन्त्री ओलीले विश्वासको मत दिन आग्रह गरेका हुन्। 

उनले कांग्रेस सभापति देउवासहितका नेताहरुसँग करिब २ घण्टा भएको छलफलका क्रममा ओलीले सहकार्य गरेर अघि बढ्न प्रस्ताव गरेका थिए। 

वैशाख २७ मा विश्वासको मत लिने निर्णयपछि आफूविरुद्ध कांग्रेस, माओवादी केन्द्र, एमालेकै माधव नेपाल समूह र जसपाको उपेन्द्र यादव समूहले घेराबन्दी गरेपछि ओली देउवा निवास पुगेका थिए।

तर कांग्रेस सभापति देउवाले अहिले कांग्रेसले अन्य दललाई समेत जुटाएर सरकारको विपक्षमा मत हाल्ने जवाफ दिएका थिए। 'अहिले हाम्रो राजनीतिक लाइन भनेकै यो सरकारविरुद्ध विश्वासको मतको विपक्षमा उभिने हो', बैठकपछि कांग्रेस सह-महामन्त्री डा. प्रकाशशरण महतले भने, 'कांग्रेसले अहिले एमालेसँग सहकार्य गर्न सक्दैन।'

भेटघाटका क्रममा देउवाले कांग्रेस विपक्षमा रहेको हुनाले सत्तारुढसँग सहकार्य हुन नसक्ने अडान राखेका थिए। 'प्रधानमन्त्रीसहित एमालेका साथीहरू आउनुभएको थियो। उहाँहरुले विश्वासको मत लिने प्रक्रियामा सहयोग गर्न आग्रह गर्नुभयो', महतले अगाडि भने, 'तर सभापतिजीले विपक्षी पार्टीले प्रधानमन्त्रीलाई मत दिन नसक्ने जवाफ दिनुभएको छ।'



उक्त भेटमा प्रधानमन्त्री ओलीले लोकतन्त्रका लागि कांग्रेस र एमाले एकसाथ संघर्षमा होमिएको भन्दै अबका दिनमा पनि मिलेर जान भनेका थिए। 'लोकतन्त्रका लागि कांग्रेस र एमालेले सँगै संघर्ष गरेका हुन्', उनले बैठकमा भने, 'आगामी दिनमा पनि सहकार्यको सम्भावना छ। कांग्रेस र एमाले नमिल्दासम्म संसदले नयाँ सरकार दिने सम्भावना छ। त्यसैले हामी मिलेर जाऊँ।'

तर कांग्रेस नेताहरुले ओली नेतृत्वको सरकारले लोकतन्त्रमाथि निरन्तर प्रहार गरिरहेको बताएका थिए। सरकारले आफ्नो रवैयामा सुधार नगरेको भन्दै तत्कालै सहकार्यको कुनै सम्भावना नरहने उनीहरुले  बताएका थिए। ओली सरकारले नै लोकतन्त्र संकटमा पारेको भन्दै कांग्रेस नेताहरुले अहिलेलाई सहकार्यको सम्भावना नरहेको जवाफ दिएका छन्। 



  • प्रकाशित मिति : बैशाख २२, २०७८ बुधबार १८:३७:३८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया