अमेरिकाले आगामी जुलाई ४ सम्ममा देशका ७० प्रतिशत वयस्कलाई कोरोना भाइरस विरुद्धको खोप लगाइसक्ने लक्ष्य तय गरेको छ । राष्ट्रपति जो बाइडेनले जुलाई ४ मा अमेरिकाको स्वतन्त्रता दिवस मनाउने दिनसम्म अमेरिकालाई कोरोना भाइरसबाट खतरामुक्त बनाउने दाबी गरे ।
कोरोना भाइरस विरुद्धको लडाइ जित्नका लागि खोप अभियान नै सबैभन्दा प्रभावकारी र भरपर्दो उपाय हुने उनले विश्वास व्यक्त गरेका छन् ।
कतिपय मानिसले खोप लगाउन रुची नराखेकाले यो अभियान अपेक्षित रुपमा अगाडि बढ्न नसके पनि निर्धारित लक्ष्य पूरा हुने विश्वास उनको छ ।
अमेरिकामा अहिलेसम्म झण्डै ५६ प्रतिशत वयस्कले खोप लगाइसकेका छन् भने बाँकी झण्डै दुई महिनामा कुल ७० प्रतिशत वयस्कलाई खोप लगाइने छ ।
राष्ट्रपति कार्यालय ह्वाइट हाउसमा आयोजित पत्रकार सम्मेलनमा उनले भने, ‘सबैले खोप लगाउन अति नै आवश्यक छ, खोप नलगाएकालाई सङ्क्रमणको खतरा बढी हुने भएकाले सङ्क्रमणबाट जोगिन सबैलाई खोप लगाउन म आग्रह गर्दछु ।’
राष्ट्रपति बाइडेन प्रशासनले सुरुदेखि नै खोप लगाउने र मास्क लगाउने कार्यलाई अभियानकै रुपमा जोड दिँदै आएको छ ।
अमेरिकामा अहिलेसम्म १० करोड ५० लाख मानिसले खोप लगाइसकेका छन् भने दैनिक झन्डै १० लाख मानिसलाई खोप दिने गरिएको अधिकारीहरुले जनाएका छन् ।
खोप लगाउन सहजीकरणका लागि अमेरिकामा खोपसम्बन्धी छुट्टै वेबसाइट सञ्चालन गरिएको छ । सो वेबसाइटमा खोप लगाउन चाहनेले आफूलाई पायक पर्ने खोप केन्द्रमा नाम टिपाउन मिल्ने व्यवस्थासमेत गरिएको जनाइएको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।