ह्याम्स र केएमसीलाई स्पष्टीकरण, बढी शुल्क असुल्ने अस्पताललाई कारबाही हुने

सरकारले चर्को शुल्क असुल्ने काठमाडौंका अस्पतालहरुलाई स्पष्टीकरण सोधेको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौंले काठमाडौं मेडिकल कलेज (केएमसी) र ह्याम्स अस्पताललाई स्पष्टीकरण सोधेको हो । 

कोरोनाका बिरामीसँग सरकारले तोकेभन्दा बढी शुल्क लिएको उजुरीपछि काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले दुवै अस्पतालका सिइओसँग स्पष्टीकरण सोधेका हुन् ।

अस्पतालले कोरोना संक्रमित बिरामीलाई बेड चार्जसहित उपचार शुल्क अत्यधिक असुल गरेको उजुरी परेपछि प्रशासनले स्पष्टीकरण सोधेको हो । जिल्ला प्रशासन कार्यालयले दुवै अस्पताललाई उजुरीको सम्बन्धमा लिखित जवाफसहित हाजिर हुन निर्देशन दिएको छ । 

यसैबीच, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले तोकिएको भन्दा बढी शुल्क असुल गर्ने अस्पताललाई कारबाही गर्ने भएको छ । मन्त्रालयका सहप्रवक्ता डा। समीरकुमार अधिकारीले बढी शुल्क लिने अस्पतालका बारेमा मन्त्रालय र स्थानीय प्रशासनमा परेको उजुरीका आधारमा कारबाही गरिने बताए । 

‘महामारीको यो सङ्कटमा हामीले एकले अर्कालाई सेवभावले सहयोग गर्नुपर्ने समयमा अनावश्यक दुःख दिने, समस्या बढाउने कार्यप्रति मन्त्रालयको गम्भीर ध्यानाकर्षण भएको छ’, अधिकारीले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘अनावश्यक बढी शुल्क लिने लगायतका गैरकानूनी गतिविधि गर्ने जुनसुकै व्यक्ति वा संस्था उपर यस्ता गतिविधि नगर्न नगराउन हुन सचेत गराइन्छ ।’

केएमसी र ह्याम्स अस्पतालले सूचना नै जारी गरेर एक दिनको उपचार शैय्या शुल्क ५० हजारसम्म असुल्ने बताएका थिए । दुवै अस्पतालले कोरोनाका बिरामीसँग सरकारले तोकेको मापदण्डभन्दा अत्यधिक शुल्क लिएको भन्दै सामाजिक सञ्जालमा आलोचना भएको थियो ।





  • प्रकाशित मिति : बैशाख २३, २०७८ बिहीबार ८:२६:३५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया