संकटमा ओली : विश्वासको मत पाउने सम्भावना कति ?
ओलीलाई जताततै खतरा, यस्तो छ संसदीय अंक गणित

नेकपा माओवादी केन्द्रले विश्वासको मत फिर्ता लिएपछि प्रधानमन्त्री केपी शर्मा ओली अल्पमतमा परेका छन् । माओवादीले बुधबार ओली सरकारलाई दिएको समर्थन फिर्ता लिएसँगै विपक्षी गठबन्धन समेत निर्माण भएको छ ।
 
संसदको दोस्रो ठूलो दल नेपाली कांग्रेस, माओवादी केन्द्र, जनता समाजवादी पार्टी सहित नेकपा एमालेको माधव नेपाल समूहबीच ओलीविरुद्धको गठबन्धन बन्ने संकेत देखिएको छ । 

यसै सन्दर्भमा सरकारलाई दिएको समर्थन फिर्ता लिएसँगै बुधबार नै माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, एमाले नेता माधवकुमार नेपाल र जसपाका नेता उपेन्द्र यादवबीच भेटवार्ता भएको छ । 

जेठ ६ गते हुन गइरहेको राष्ट्रियसभाको उपनिर्वाचनमा साझा उम्मेदवार बनाउने उक्त गठबन्धनको निर्णय बाहिरिएसँगै वैशाख २७ गते प्रधानमन्त्री ओलीले विश्वासको मत लिँदा ओलीविरुद्ध गठबन्धन बन्ने निश्चितप्रायः देखिन्छ । 

ओलीलाई जताततै खतरा 
प्रधानमन्त्री ओलीले वैशाख २७ गते प्रतिनिधिसभामा विश्वासको मत लिँदै छन् । विश्वासको मत लिने घोषणा गरिरहँदा दुईवटा विकल्पमा चर्चा चलिरहेको थियो । एउटा एमालेको असन्तुष्ट माधव नेपाल पक्षलाई फकाएर ओलीले मत प्राप्त गर्न सकेमा ओलीको निरन्तरता हुन्छ । अर्को नेपाल पक्षले फ्लोर क्रस गर्दा पनि जसपाको महन्थ ठाकुर पक्षले ओलीलाई मत दिँदा आवश्यक मत नपुगे पनि ओली नै सरकारमा दोहोरिन्छन् ।
 
तर, बुधबारसम्मको स्थिति हेर्दा त्यो सम्भावना क्रमशः क्षीण हुदै गएको देखिन्छ । किनभने अहिलेसम्म माओवादीले ओलीलाई दिएको समर्थन फिर्ता लिइसकेको छ भने ओलीविरुद्ध कांग्रेस, माओवादी र जसपा उपेन्द्र यादव पक्षको गठबन्धन तयार हुँदैछ । यसले ओलीको पराजय निश्चित देखिन्छ । 

यस्तो छ अंक गणित
२७५ सदस्यीय प्रतिनिधिसभामा हाल जम्मा २६६ जना सांसद छन् । त्यसमध्ये सभामुख र चारजना निलम्बित सांसदले मतदान गर्न पाउँदैनन् । कांग्रेसका २, जसपाका २ जना निलम्बनमा छन् । माओवादी केन्द्रका ४ सांसद पदमुक्त भएपश्चात प्रतिनिधिसभामा एमालेको एक्लै १२१ मत छ । 

त्यस्तै, कांग्रेसको ६१, माओवादी केन्द्रको ४९, जसपाको ३२ र साना दलको ३ मत छ । विश्वासको मत लिँदा प्रधानमन्त्री ओलीलाई बहुमत पुग्न १३६ सांसद आवश्यक पर्छ । एमालेका सबैले एकजुट भएर मत हालेको खण्डमा थप १५ सांसद भए ओलीलाई आवश्यक पर्ने बहुमत पुग्छ । 



जसपाको महन्थ ठाकुर पक्षले ओलीलाई सहयोग गर्ने तयारीमा छ । जसपा ठाकुर समूहले ओलीलाई मत दिँदा विश्वासको मत पुग्ने अवस्था आउँछ । तर, ओलीले अहिलेकै अवस्थामा आफ्नै पार्टीबाट मत पाउन सक्ने अवस्था छैन । किनभने अहिले पनि नेपाल पक्ष विपक्षी गठबन्धनसँग छलफलमा छ । त्यसकारण नेपाल पक्षको कम्तिमा पनि २० जना सांसदले मत नदिएमा/फ्लोर क्रस गरेको खण्डमा ओली स्वतः फेल हुने देखिन्छ ।
 
प्रतिनिधिसभामा ओली फेल हुँदा उता कांग्रेस, माओवादी र जसपाको गठबन्धन अगाडि बढ्ने संकेत देखिएको छ । तर, त्यो गठबन्धनलाई पनि सहज भने छैन । किनभने कांग्रेस, माओवादी र जसपा उपेन्द्र यादव पक्ष र ३ साना दलको मतले मात्र पनि प्रतिनिधिसभामा बहुमतका लागि आवश्यक पर्ने बहुमत पुग्दैन । त्यसका निम्ती विपक्षी गठबन्धनले माधव नेपाल पक्षको साथ लिनुपर्ने हुन्छ । अहिलेसम्म नेपाल पक्षले कता सहयोग गर्ने खुलिसकेको छैन ।

तर, विपक्षी गठबन्धनसँगै छलफलमा रहेकाले त्यता सहयोग गर्न सक्ने देखिन्छ । त्यसो त २ दिन यता नेपाल पक्षका प्रत्यक्ष निर्वाचित सांसदहरुले सामूहिक राजीनामा दिने चर्चा पनि चलिआएको छ । वैशाख २७ गते वा त्यस दिनभन्दा अगाडि त्यो समूहले के गर्ला त्यो भने हेर्न बाँकी नै छ । 



के ओलीलाई आफ्नैबाट खतरा छ ?
संसदमा विपक्षी गठबन्धनले अविश्वासको प्रस्ताव दर्ता गर्न नसकेपछि ओली आफैले विश्वासको मत लिने घोषणा गरेका छन् । त्यसैको तयारीमा अहिले दलहरु लागिपरेका छन् ।
 
ओलीले जुन उद्देश्यका साथ विश्वासको मत लिने घोषणा गरेका थिए अहिले परिस्थिति भने त्यस्तो अनुकूल छैन । किनभने अहिलेसम्म ओलीले आफ्नै पार्टीभित्रको द्वन्द्व मिलाउन सकेका छैनन् । जसको घाटा स्वयं ओलीलाई नै हुनेछ ।
 
नेपाल पक्षले अहिलेसम्म ओलीलाई सहयोग गर्छन् वा के गर्छन् भन्नसक्ने अवस्था छैन । नेपाल पक्षको फ्लोर क्रसको चर्चासँगै सामूहिक राजीनामाको कुरा समेत अहिले चर्चामा आएको छ । यस्तो अवस्थामा ओलीले नेपाल पक्षको साथ पाउँछन् वा पाउँदैनन् यसै भन्न सकिने अवस्था छैन । यद्यपि नेपाल पक्षका नेताहरुको अभिव्यक्ति भने मिश्रित देखिन्छ । 

सामूहिक राजीनामा दिन्नौँ, विश्वासको मत दिन्छौँ : पाण्डे
ओलीले वैशाख २७ गते विश्वासको मत पाउने वा नपाउने अन्योलताका बीच एमाले नेपाल समूहका नेता सुरेन्द्र पाण्डेले एमाले अध्यक्ष तथा प्रधानमन्त्री ओलीलाई विश्वासको मत दिने बताएका छन् । ओलीले विश्वासको मत लिने तयारीकै बीचमा नेता नेपाल विपक्षी दलहरूसँग गठबन्धनमा लागिरहेका बेला पाण्डेले भने बुधबार यस्तो बताएका हुन् ।
 
नेता पाण्डेले नेपाल समूहले सामूहिक राजीनामा नदिने समेत स्पष्ट पारे । ’हामी प्रधानमन्त्रीलाई विश्वासको मत दिन्छौँ । अरु के भन्छन् तर हामी सबैले विश्वासको मत हाल्छौँ’, नेता पाण्डेले भने, ’वैशाख २७ अघि हामी सामूहिक राजीनामा दिँदैनौँ । विश्वासको मत दिन्छौँ भनेपछि हामीले राजीनामा दिने कुरा हुँदै भएन ।’

पाण्डेले नेपाल पक्षमा रहेका सबै सांसदले प्रधानमन्त्रीलाई विश्वासको मत दिने तर फागुन २८ को निर्णयलाई लिएर नेपाल पक्षको अडान भने अहिले पनि कायम रहेको बताए । ’हामी सबैले विश्वासको मत हाल्छौँ । तर, फागुन २८ को निर्णयलाई लिएर हामी अहिले पनि अडानमै छौँ । अन्तरसंघर्ष पार्टीमा जारी छ’, उनले भने, ’सबै नेताको राजनीतिमा आफ्नो आफ्नो किसिमको भूमिका र योगदान छ । त्यस हिसाबमा पार्टीमा भएका मतभेद र संघर्षलाई अघि बढाइरहने छौँ ।’ 

सहयोग माग्दै देउवा निवासमा ओली
यसैबीच आफू सरकारमा अल्पमतमा परेपछि प्रधानमन्त्री ओलीले विपक्षी दल नेपाली कांग्रेसलाई सहयोग गर्न आग्रह गर्दै सभापति शेरबहादुर देउवा निवास पुगेका छन् । बुधबार माओवादी केन्द्रले ओली सरकारलाई दिएको समर्थन फिर्ता लिएको थियो । प्रधानमन्त्रीले आफू अल्पमतमा पर्नुअघि नै वैशाख २७ गते विश्वासको मत लिने घोषणा गरेका थिए । 

सोही सन्दर्भमा विश्वासको मतमा सहयोग गर्न आग्रह गर्दै प्रधानमन्त्री ओली देउवा निवास बुढानिलकण्ठ पुगेका हुन् । बुधवार एमालेका केही नेतासहित देउवा निवास पुगेर प्रधानमन्त्री ओलीले वैशाख २७ गते विश्वासको मत लिँदा आफूलाई सहयोग गर्न कांग्रेस नेताहरुसँग आग्रह गरेका थिए ।

तर, कांग्रेसका नेताहरुले विपक्षी पार्टी भएकाले ओलीलाई साथ दिन नसक्ने जवाफ फर्काएको कांग्रेसका सहमहामन्त्री प्रकाशशरण महतले जानकारी दि ए। ’विश्वासको मतमा कांग्रेसको सहयोगको अपेक्षा गर्दछु भनेर प्रधानमन्त्रीले भन्नुभयो,’ नेता महतले भने, ’हामी विपक्षी पार्टी हो । अहिले हामीले तपाईंलाई सहयोग गर्ने अवस्था छैन भनेर हामीले आफ्नो धारणा राख्यौँ ।’
 
डुब्न लागेको पार्टी जोगाउन आग्रह
नेपाल पक्षका नेता रामकुमारी झाँक्रीको अभिव्यक्तिले पार्टी डुब्न लागेको कुराको संकेत गर्दछ । आफू त डुब्ने नै हो सँगै ओली समूहलाई पनि लिएर डुब्ने भन्दै उनले सामाजिक सञ्जालमा पोष्ट गरेको भनाइले पनि त्यस्तै संकेत गरेको छ । 

’हामी त डुब्छौँ नै । हामी सत्यानाश हुनु नै छ, तिमीलाई पनि लिएरै डुब्छौँ’, झाँक्रीले लेखेकी छन्, ’यदी तिम्रो सत्यानाश हुनबाट र डुब्नुबाट जोगिनु छ भने किनारा खोज । विचार गर, दम्भ, अहङ्कार र जिद्दी छोड ।’ सँगै उनले दम्भ र अहंकार छाडेर मिलाउनतर्फ लाग्न समेत ओलीलाई आग्रह गरेकी छन् । उनी भन्छिन्, ’हिन्दीमा एउटा कहावत छः हम तो डूबेंगे ही सनम्, आपको भी ले डूबेंगे‘ अगर डुब्नें से बच्ना है तो किनारा ढुढों ।’

नेपाल समूहका नेता ठाकुर गैरे विगतबाट सिक्दै रुपान्तरित हुन चाहने हो भने कर्णाली, गण्डकी र लुम्बिनीका संसदीय गतिविधिहरूबाट प्रयाप्त सिक्न सकिने बताउँछन् । नेता गैरेले वैशाख २७ अघि नै एमालेको एकता र आन्दोलनको रक्षा आजको आवश्यकता भएको औंल्याए ।

’वैशाख २७ पुग्नुअघि सर्वोच्चको फैसला बमोजिम नेकपा एमाले केन्द्रीय कमिटी र दलको बैठक आयोजना गरी एकढिक्का एमाले संसदमा प्रस्तुत भै सकारात्मक सन्देश दिन सक्नु पर्दछ’, गैरेले भने ।

  • प्रकाशित मिति : बैशाख २३, २०७८ बिहीबार १०:९:४०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया