अक्सिजन सिलिन्डर ‘घर-घरमा छन्, अस्पतालमा छैनन्’

‘अक्सिजन सिलिन्डरमा न खाना पकाउन मिल्छ, न पानी भर्न । पैसा डिपोजिट गरेर लगेका हुन्छन्, ग्राहकले फिर्ता गर्दैनन् । उद्योगले २३ सय सिलिन्डरबाट सेवा थालनी गरेको हो । अहिले उद्योगमा करिब पाँच सय वटा मात्रै सिलिन्डर छन् । अक्सिजनको अभावमा बिरामीले ज्यान गुमाइरहेका छन् । सेवाग्राहीले अक्सिजन सिलिन्डर घरमै डम्प गरी राखेका छन् ।’ दाङ अक्सिजन उद्योगका सञ्चालक टोपाराम पौडेलले भने,‘घर-घरमा अक्सिजन सिलिन्डर, अस्पतालमा हाहाकार छ ।’

अक्सिजनको अभावका कारण बुधवार मात्रै दाङको बेलझुण्डीमा सञ्चालित कोरोना विशेष अस्पतालमा चार जनाले ज्यान गुमाइसकेका छन् । अस्पतालले पनि अक्सिजन अभावका कारण बिरामी भर्ना गर्न नसकिने भनिसकेको छ । घरघरमा सिलिन्डर डम्प हुँदा उद्योगले अस्पतालमा अक्सिजन पुर्‍याउन पनि सकेको छैन । बिरामीले पाउन पनि सकेका छैन ।

‘प्रदेशभर नै अक्सिजन पुर्‍याउन सक्ने सामर्थ्य उद्योगसँग छ । तर, हामीसँग सिलिन्डर नहुँदा यस्तो समस्या आएको हो’, पाैडेलले थप्नु भयाे ।  घोराही उप-महानगरपालिका-३ मा सञ्चालित उक्त उद्योगको उत्पादन क्षमता मासिक ६ हजार सिलिन्डर रहेको छ । तर, सिलिन्डर अभावमा पाँच सय सिलिन्डर पनि भर्न सकिँदैन ।

‘भर्ना गर्न सकिँदैन’

कोरोना विशेष अस्पताल बेलझुण्डीमा अहिले ५७ जना बिरामी भर्ना छन् । २५ जनाको अवस्था चिन्ताजनक छ । अस्पताललाई ती बिरामी बचाउने कसरी भन्ने पिरलो छ । तर, बचाउन अक्सिजन छैन । जसका कारण अस्पतालले बिरामी भर्ना गर्न अब नसकिने बताउँछ । अस्पतालका व्यवस्थापक दोर्ण वलीले भने,‘हामी सय जना बिरामी भर्ना गर्न सक्छौँ । तर, भर्ना गरेर मात्रै के गर्ने ? बचाउन सक्ने प्राणवायु हामीसँग छैन ।’

अक्सिजन अभावमा दिनैपिच्छे बिरामीले ज्यान गुमाउनु परिरहेको दुखेसो पोख्दै उनले यस्तो बताए । 



अक्सिजन व्यवस्थापनमा स्थानीय तह, प्रदेश र संघीय सरकारले वेवास्ता गर्दा अस्पतालमा बिरामीले मृत्युवरण गर्नु परिरहेको उनको भनाइ छ । सिलिन्डर अभावका कारण नेपालगन्ज, भैरहवा , बुटवलबाट ल्याउनुपर्ने बाध्यता छ । टाढाबाट ल्याउँदा आधा घण्टा मात्रै बिरामीले अक्सिजन नपाएर ज्यानै जानसक्ने अवस्था कतिपयको अवस्था रहेकाले भर्ना गरेर मात्रै राख्नुभन्दा अक्सिजन दिन सक्ने गरी भर्ना गर्न सकेमा अस्पतालमा बिरामी आएको साध्य हुने जनाउँछन् ।

 सिलिन्डर जोहो गर्दै अभियन्ता 



अक्सिजन हाहाकारपछि बिरामीको ज्यान गुमाउन परिरहेको छ । बिरामीको ज्यान बचाउन घोराहीका व्यवसायी नारायण भुषाल र सुरज बुढाथोकी अक्सिजन सिलिन्डर संकलनको जोहोमा लागेका छन् । अभियन्ताले हालसम्म विभिन्न ठाँउमा पुगेका ३२ वटा सिलिन्डर संकलन गरिसकेका छन् ।  यसका साथै उनीहरूले सिलिन्डरको खरिदका लागि एक हजार संकलन अभियानमा चार लाख रुपैयाँ समेत जम्मा गरिसकेका छन् ।

अभियान्ता भुषालले राज्यले सिलिन्डर व्यवस्थापन गर्न नसक्दा बिरामीको ज्यान जोखिममा परेकाले आफूहरूले स्वतस्फूर्त रूपमा अभियान सञ्चालन गरेको उनले बताए । उनले भने,‘घर, उद्योगमा रहेका सिलिन्डर खोज्दै नयाँ खरिद गर्ने समेतको तयारी अभियानले गरेको छ । ’ 

  • प्रकाशित मिति : बैशाख २३, २०७८ बिहीबार १४:५४:३५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया