कमिसन मागेर कोरोना खोप रोक्ने एजेन्टलाई नै खोप आयातको जिम्मा
गत माघ ८ गते भारतले अनुदानमा दिएको खोप लिन विमानस्थल पुगेको स्वास्थ्य सेवा विभागको गाडी ।

कोभिड–१९ विरुद्धको खोप निजी कम्पनीलाई समेत खरिदको अनुमति मिलेको छ। औषधी व्यवस्था विभागले दुई वटा निजी कम्पनीलाई खोप आयातको अनुमति दिएको हो। 

विभागका वरिष्ठ औषधि व्यवस्थापक तथा सूचना अधिकारी सन्तोष केसीले सेरम इन्स्च्यिुटले उत्पादन गरेको कोभिशिल्ड खोप ल्याउन हुकुम डिस्ट्रिब्यूसन एण्ड लोजिस्टीक कम्पनी र भारत बायोटेकको नेपालस्थित एजेन्ट इमराल्ड फर्मा काठमाडौंले अनुमति पाएको जानकारी दिए। 

हुकुम कोभिसिल्डको लागि नेपाली एजेन्ट हो। यो कम्पनीकै कारण नेपालमा थप खोज आउन रोकिएको थियो। भारतको सेरम इन्स्ट्च्यिुटबाट सरकारले खरिद गर्न लागेको कोभिसिल्ड खोपमा एजेन्टको नाममा १० प्रतिशत कमिसन माग गरेको थियो। सरकारले सिधै कम्पनीसँग खरिद गर्न लागेको खोपमा उसले कमिसन मागेको थियो। कमिसन नदिँदा अहिले खोप प्रक्रिया नै अवरुद्ध भएको छ। 

विभागले त्यही कम्पनीलाई खोप आयातको अनुमति दिएको हो। खोप प्रक्रिया नै अवरुद्ध गरेको कम्पनीलाई फेरि खोप आयातको अनुमति? भन्ने प्रश्नमा केसी भन्छन्, ‘प्रक्रिया पुराएर सबै कागजपत्र पेश गरेपछि अनुमति दिनै पर्‍यो। निजी क्षेत्रलाई पनि खोप आयात गर्न दिने सरकारले नै निर्णय गरेको छ। सबै प्रक्रियासहितको कागजात पेश गरेको थियो। नियमानुसार नै दुई कम्पनीले पाएका हुन्।’ 

यसरी असफल भयो खोप भित्र्याउने योजना

भारतले माघ ३ मा नेपाललाई १० लाख डोज खोप अनुदानमा दिने घोषणा गर्‍यो। माघ ८ गते १० लाख डोज खोप नेपाल आइपुग्यो। 
उक्त अनुदानमा खोप आएपछि सरकारले माघ १४ बाट नेपालका कोरोना खोप अभियान सुरु गर्‍यो ।  भारतबाट अनुदानको खोप ग्रहण गरेपछि स्वास्थ्य मन्त्रीले भनेका थिए, ‘अब खरिद प्रक्रियाबाट पनि खोप ल्याउने तयारीमा छौँ।’



फागुन ४ गते सरकारले भारतको सेरम इन्स्टिच्युटसँग खोप खरिदसम्बन्धी सम्झौता गर्‍यो। सेरमसँग २० लाख डोज खरिद गर्न मन्त्रिपरिषदबाटै निर्णय भएको थियो । प्रतिडोज ४ डलरका दरले २० लाख डोजको ८० लाख डलर (९३ करोड ६० लाख रुपैयाँ) नेपालले भुक्तान गर्ने सम्झौता भएको थियो । नेपालले त्यसको ८० प्रतिशत अर्थात ७४ करोड अग्रिम भुक्तानी पठाइएको थियो। 

सार्वजनिक खरिद नियमावली अनुसार सामग्री प्राप्त नहुँदै त्यति ठूलो रकम अग्रिम भुक्तानी दिन नमिल्ने भएपछि मन्त्रिपरिषद्बाटै निर्णय गरिएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता प्रा.डा. गौतमले बताए। 



त्यहीबेला सकारले खरिद गरेको खोपमा १० प्रतिशत कमिसनका लागि हुकम डिस्ट्रिब्युसन एन्ड लजिस्टिक प्रा.लि सक्रिय भइरहेको थियो। माघ १३ गते स्वास्थ्य सेवा विभागलाई पत्राचार गर्दै सेरमले प्रतिडोज ४.४ डलरमा खोप ल्याउने प्रस्ताव गरेको थियो। तर, २९ माघमा सेरमले फेरि अर्को पत्र पठाउँदै चार डलरमै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलसम्म डेलिभरी दिने प्रस्ताव विभागलाई पठायो।

कम्पनीले पहिलो चरणमा १० लाख डोज खोप चार अमेरिकी डलरसहित काठमाडौंको एयरपोर्टसम्म पुर्‍याउन तयार भयो। सोही अनुसार खोप नेपाल आयो। 

पहिलो चरणमा १० लाख डोज खोप आएपनि थप १० लाख डोज  दिन कम्पनीले आनाकानी गर्न थाल्यो। कारण यो थियो कि– नेपाली एजेन्टले सेरमका कर्मचारीलाई आफ्नो प्रभावमा पारिसकेका थिए। थप खोप आउन सकेन्। 

५० लाख डोज ल्याउन खोज्दा एजेन्ट हाबी 

त्यो २० लाख डोज खोपमा एजेन्टले आफ्नातर्फबाट पहल त गर्‍यो। तर, सकेन्। तर, अब थप ५० लाख डोज खोपमा आउने कमिसन भने छोड्ने पक्षमा थिएन। सोही आधारमा मन्त्रालयका अधिकारीलाई नभएर स्वास्थ्यमन्त्रीलाई नै प्रभाव पार्नेगरी चलखेल थाले। 

एजेन्टको चलखेलका कारण तीन महिनाभित्रमा खोप लगाइसक्ने सरकारको योजना असफल भएको प्रवक्ता डा. गौतम बताउँछन्।  

५० लाख डोज खोप खरिदका लागि हुकमले प्रतिडोज ५.५ डलरको प्रस्ताव गरेको थियो। त्यसमा थप १० प्रतिशत कमिसन जोडेर ६.०५ डलरमा खोप डेलिभरी दिने प्रस्ताव स्वास्थ्य सेवा विभागमा पेस गरेको थियो। यसअघि सरकारले तोकेको मूल्यभन्दा बढीमा किनाउने गरी फागुन १२ गते स्वास्थ्य सेवा विभागमा प्रस्ताव दर्ता गरियो ।

१२० दिनमा खोप भित्र्याउने प्रतिवद्धतासहित हुकमले प्रस्ताव गरेको थियो। उसले भित्र्याउने प्रतिडोज ६.०५ डलरको हिसाबले ५० लाख डोज खरिदमा तीन अर्ब ५६ करोडको सम्झौता गर्नुपर्ने थियो। जसले गर्दा हुकमले ३२ करोड ४३ लाख रुपैयाँ कमिसनको लक्ष्य राखेको थियो। 

चार डलरमा सरकारले सिधै कम्पनीसँग किनेको खोप किन त्यति बढीमा ल्याउने भन्दै मन्त्रालयले कम्पनीको प्रस्तावलाई बेवास्था गरेको थियो। जसले गर्दा उक्त निर्णय अहिलेसम्म अन्योलमा परेको प्रवक्ता गौतमको भनाइ छ।

सेरम नेपालको पुरानो खोपदाता कम्पनी

सेरम कोभिशिल्ड खोप मात्रै नभएर अघिदेखिकै खोप दाता कम्पनी भएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता गौतमले बताए।

नेपालले सेरमबाट अन्य विभिन्न खोप पनि किन्दै आएको तर, कोभिडको खोप ठूलो मात्रामा खरिद गर्ने प्रसंगमा एजेन्टहरू बीचमा प्रवेश गरेको उनको भनाइ छ। 

‘पहिला अन्य प्रकारका खोप किन्दा यी एजेन्टहरू कहाँ थिए? अहिले ठूलो मात्रामा खोप किन्दा हामीले सरकारलाई सहयोग गरेका हौं। कम्पनीसँग समन्वय गरेका हौं भन्दै कमिसन खोज्न आए। हामीले कहिल्यै पनि देशप्रति घात हुने काम गर्दैनौँ’ प्रवक्ता गौतम भन्छन्।

स्वास्थ्य सेवा विभागका महानिर्देशक दीपेन्द्ररमण सिंहले सरकारले सिधै कम्पनीसँग किन्ने खोपमा एजेन्टले कुनै पनि हालतमा कमिसन नपाउने बताए। 

निजी क्षेत्रबाट खोप ल्याउन सक्दैन

​ निजी क्षेत्रबाट खोप ल्याउने अनुमति पाएका दुई कम्पनीले खोप ल्याउन नसक्ने दावी प्रवक्ता गौतमको छ । 

‘यस्तो कुटनीतिक लबिङ गर्दा त सरकारले ल्याउन नसकेको अवस्था छ’ गौतम भन्छन्, ‘निजी कम्पनीले खोप ल्याउन सक्छ भनेर विश्वस्त हुन सकिन्न।’ 

मन्त्रिपरिषद् बैठकले नै निजी क्षेत्रलाई समेत खोप आयातको अनुमति दिएको थियो। सोही आधारमा औषधी व्यवस्था विभागले हुकम र इमराल्ड फर्माले अनुमति पाएका हुन्। 

उनीहरूले खोप ल्याएको खण्डमा मन्त्रालयले जारी गरेको निर्देशिका अनुसार मात्र खोप लगाउन र त्यही अनुसार मात्र शुल्क लिन पाउने प्रवक्ता गौतमले बताए। 

हुकमको प्रष्टीकरण :अनावश्यक रुपमा नाम जोडियो

खोप प्रकरणमा आफ्नो नाम मुछिएपछि हुकमले प्रष्टीकरण दिएको छ। आफ्नो कारण भन्दा पनि भारतमा बढेको कोरोना महामारीको दोस्रो लहरका कारण थप १० लाख डोज खोप आउन नसकेको प्रष्ट पारेको छ। 

दोस्रो लहरको महामारी र सिरम इन्स्टिच्युटको कारखानामा आगलागी भएर उत्पादनमा आएको कमीका कारण खोप निर्यातमा असहजता आएको हुकमको दाबी छ। सिरमले आयातमा सहजता आउनेबित्तिकै नेपालमा सम्झौता बमोजिमको दोस्रो लटको भ्याक्सिन निर्यात गर्न पहिलो प्राथमिकतमा राखेको जनाएको छ। 

नागरिकको जीवन रक्षालाई पहिलो प्राथमिकतामा राखेर भ्याक्सिन आयातका लागि आफ्नो तर्फबाछ सधै तत्पर रहेको समेत जनाएको छ। 

  • प्रकाशित मिति : बैशाख २३, २०७८ बिहीबार १५:३२:४९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया