स्रष्टाका सम्झनामा प्रेमध्वज

बिहीबार बिहानसम्म वरिष्ठ गायक तथा संगीतकार प्रेमध्वज प्रधानको स्वास्थ्य अवस्था ठिकठाकै थियो । केही दिनअघि छातीमा देखिएको इन्फेक्सन्का कारण सुन्धारास्थित न्युरो अस्पतालमा उपचार गराइरहेका उनी घर फर्किने आशामा थिए । तर, दिउँसो १.४५ बजे एक्कासि उनलाई हृदयाघात भयो र रोकियो हृदयको गति । नेपाली सुमग–संगीतका मूर्धन्य स्रष्टा प्रधानको निधन भयो । 

उनको निधनमा देश तथा विदेशमा रहेका नेपाली गीत–संगीतका पारखीले श्रद्धाञ्जली व्यक्त गरिरहेका छन् । प्रधानको निधनपछि वरिष्ठ गीतकार दिनेश अधिकारीले नेपाली संगीतको गौरव ढलेको बताए । प्रधानलाई नेपाली गीत–संगीतको लामो साधकका रुपमा सम्झना गर्दै उनले प्रधानको निधनसँगै देशले एक असल मान्छे गुमाएको बताए । 

गायक योगेश्वर अमात्य नेपाली गीतसंगीतको क्षेत्रमा सबैभन्दा नरम गायकका रुपमा प्रधानलाई सम्झना गर्छन् । अमात्यले प्रेमध्वजकै ‘घुम्तीमा नआउ है...’ गीतमा गीतार बजाउँदै हुर्केको सम्झना गर्दै सुनाए, ‘मेरो घरमा अहिले पनि मेरी श्रीमती उहाँको गीत गाइरहन्छिन् ।’ प्रधानलाई ह्यान्डसम गायकका रुपमा लिने अमात्यले एक समय बलिउडका अभिनेत्रीहरु पनि प्रधान भनेपछि हुरुक्कै हुने गरेको सुनाए । 

प्रधानको निधनको खबरले मर्माहत बनेका अमात्य अहिलेको समयका कारण झन् धेरै विक्षिप्त बनेका छन् । भन्छन्, ‘समयका कारण आफ्ना प्रिय गायकको अन्तिम बिदाइमा पनि सहभागी बन्न नपाउने भइयो ।’ 

संगीतकार आलोकश्रीले प्रधानको निधनसँगै नेपाली गीतसंगीतले असल अभिभावक  गुमाएको बताए । गत वर्ष मात्रै प्रधानसँग एक एल्बममा सहकार्य गरेका श्रीले आफ्नो आँखामा सँगै काम गरेका ती सबै समय नाचिरहेको सुनाए । भने, ‘उहाँजस्तो महान् युग गायक, एक असल मानवलाई गुमाउनुको पीडा आफ्नो ठाउँमा छ । एक असल अभिभावक  गुमाउनुपर्यो, नेपाली संगीतले ।’



गायक प्रेमध्वज प्रधानबाट नेपाली गीत–संगीतका मानिसहरुले सिक्नुपर्ने थुप्रै कुरा भएको वरिष्ठ गीतकार डा. कृष्णहरि बराल बताउँछन् । बराल भन्छन्, ‘मैले हेर्दा उहाँ निकै अनुकरणीय व्यक्ति हुनुहुन्छ । उहाँ बारम्बार सम्झाइरहनुहुन्थ्यो, गायकले आचारणमा बस्नुपर्छ भनेर ।’ प्रेमध्वजको आवाजमा १५–१६ वटा गीत रेकर्ड गराएका बराल प्रधानको जीवनशैलीबाट पनि नेपालीले थुप्रै शिक्षा लिनुपर्ने बताउँछन् । प्रधानको निधनले नेपाली गीत–संगीतमा ठूलो खाडल परेको बरालले बताए । 



  • प्रकाशित मिति : बैशाख २३, २०७८ बिहीबार १६:४३:२३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया