कोभिड संक्रमणको उद्धारमा निजी एयर-लिफ्ट कम्पनी, अत्यधिक मागका कारण सेवा दिन मुस्किल

पछिल्ला केही दिनयता निरन्तर कोरोना संक्रमितको संख्या बढेसँगै कोभिडका बिरामीलाई एयर-लिफ्ट अर्थात् हेलिकप्टरबाट उद्धार गर्ने क्रम पनि बढेको छ । उपत्यका बाहिरबाट काठमाडौंका अस्पतालमा ल्याउनका लागि हेलिकप्टरकाे प्रयोग बढेको हो । काठमाडौं बाहिर आइसियु तथा भेन्टिलेटरसहितको राम्रा अस्पताल नहुँदा कोभिडका बिरामीलाई एयर-लिफ्ट गरी धमाधम काठमाडौं ल्याउन थालिएको छ ।  

 हवाइ सेवा कम्पनीका अनुसार गत वर्षको तुलनामा यो वर्ष बाहिरबाट हेलिकप्टर प्रयोग गरी काठमाडौं आउनेको संख्या बढेको छ । सिम्रिक एयरलाइन्सका अप्रेसन पाइलट सिद्धार्थ गुरुङले पहिलेभन्दा अहिले एयर-लिफ्ट  गर्नेको संख्या धेरै रहेको बताए । पछिल्ला दिनमा सबै कम्पनीको गरेर दैनिक ७/८ वटा कोभिड बिरामीको एयर-लिफ्ट भइरहेको उनको भनाइ छ ।  


गत वर्ष कोभिड संक्रमण उच्च बिन्दुमा पुग्दा हेलिकप्टरबाट कोभिड बिरामीको उद्धार नै भएको थिएन । यद्यपि नेपाल नागरिक उड्डयन प्राधिकरणले कार्यविधि बनाएर उद्धार उडान गर्न दिएको थियो । ‘गत वर्ष सुरुमा हामी तयार थिएनौँ, आइडिया पनि कम थियो’, गुरुङले भने, ‘अहिले हेलिकप्टर कम्पनी धेरै छन् । र, सोही अनुसार माग पनि बढ्दो क्रममा नै छ ।’  

स्वास्थ्य मन्त्रालयको दैनिक तथ्यांकअनुसार केही दिन यता संक्रमितको दर ह्वात्तै बढ्न थालेको छ । बिहीबार मात्रै नेपालमा ९ हजार ७० जना संक्रमित भएका छन् भने ५४ जनाको मृत्यु भएको छ । मृत्युको संख्या पनि विगतभन्दा अत्यधिक बढेको स्वास्थ्य क्षेत्रका विज्ञले बताइरहेका छन् । खासगरी यसपटक संक्रमितमा श्वासप्रश्वास लगायतका समस्या बढिरहेको छ । बिरामीलाई कुनै समस्या हुने बित्तिकै राजधानीका अस्पतालमा ल्याउन खोज्दा उद्धार उडान बढेको कम्पनीहरू बताउँछन् ।

श्री एयरलाइन्सले विगतभन्दा अहिले दैनिक कोभिड उद्धार बढेको जनाएको छ । श्री एयरलाइन्सका प्रबन्धक अनिल मानन्धरले भने,‘गत वर्षको तुलनामा यो वर्ष एयर-लिफ्ट प्रयोग गर्ने धेरै छन् । हामी मात्रै होइन, अरू हेलिकप्टर कम्पनीले पनि दैनिक एयर-लिफ्ट प्रयोग गर्दै आएका छन् । हामीले दैनिक १/२ वटा गर्दै आएका छौँ ।’ मानन्धरका अनुसार कुनै हेलिकप्टर कम्पनीले दैनिक ४/५ वटासम्म ‘रेस्क्यु’ गर्ने गरेका छन् ।

चार कम्पनीले लिए एयर-लिफ्ट अनुमति



यसैबीच, नेपाल नागरिक उड्डयन प्राधिकरणले कोभिड उद्धारको लागि हालसम्म चारवटा कम्पनीले अनुमति लिएको जनाएको छ ।
‘कोभिड बिरामीको रेस्क्युको लागि मापदण्ड तोकेर ४ कम्पनीलाई अनुमति दिइसकेका छौँ’, प्राधिकरणका उपमहानिर्देशक राजकुमार क्षेत्रीले भने, ‘सिम्रिक एयर, कैलाश हेलिकप्टर सर्भिस, अल्टिच्युट एयर र श्री एयरलाइन्सले अनुमति पाएका छन् ।’

हेलिकप्टर कम्पनीले ‘स्ट्यान्डर्ड अपरेसन प्रोसिड्युर’ पालना गरी उद्धार उडान गर्न अनुमति दिएको उनले बताए ।  



हवाइ उद्धारको माग धान्नै सकिएन

केही दिनयता हवाइ उद्धारको लागि माग बढेको छ । तर कम्पनीहरूले माग धान्नै नसकेको बताएका छन् । अल्टिट्युड एयरका बजार प्रमुख सीताराम सापकोटाले एयरलिफ्ट गर्न चाहने धेरै भए पनि मागअनुसार एयरलिफ्ट गर्न नसकिएको जानकारी दिएका छन् ।

कोभिड रेस्क्यु उडानको लागि हेलिकप्टरभित्र कोभिड चेम्बर, डाक्टर र अस्पतालमा आइसियु बेड आवश्यक रहेको उनी बताउँछन् ।
‘कोभिड बिरामीको लागि चेम्बर नभइ ल्याउन मिल्दैन’, सापकोटाले भने, ‘काठमाडौंमा एयरलिफ्ट हुँदै छ भने काठमाडौंका अस्पतालले आइसोलेसन वा भेन्टिलेटर बेड उपलब्ध छ भनेपछि मात्रै हामीले उद्धार गर्ने हो ।’

यस प्रकारको रेस्क्युको लागि डाक्टर र नर्स उपलब्ध हुनुपर्छ । बिरामीको लागि आइसियु भयो भने मात्रै उद्धार हुन्छ । हेलिकप्टरमा भेन्टिलेटरको इक्विपमेन्ट समेत हुनुपर्छ । 

मेडिकल टिमबिना रेस्क्यु गर्न नसकिने बताउँदै सापकोटा भन्छन्, ‘कुनै अस्पतालको मेडिकल टिमबिना हामीले त्यसै रेस्क्यु गरेर त भएन । यहाँको अस्पताल, बिरामीको आफन्तले हेलिकप्टर कम्पनीलाई रेस्क्यु गर्न आग्रह गर्यो भने अस्पतालको मेडिकल टिमसहित रेस्क्यु हुन्छ ।’

उनले हेलिकप्टरमा उपलब्ध हुने सामान्य अक्सिजनले कोभिड बिरामीका लागि काम नगर्ने उल्लेख गर्दै भेन्टिलेटरसहितका उपकरण अस्पतालले नै उपलब्ध गराउनुपर्ने बताए । त्यस्तै जहाँ कोभिडको उपचार भइरहेको छ, त्यहाँ हेलिकप्टर ल्यान्डिङको सुविधा पनि आवश्यक रहेको उनको भनाइ छ । हालसम्म अल्टिट्युड एयरले हेलिकप्टरबाट उद्धार गरेको कोभिड बिरामीलाई सिधै अस्पताल पु¥याउने गरेको छ ।

कुनै अस्पतालमा हेलीप्याडको व्यवस्था नहुँदा त्रिभुवन विमानस्थलबाट भेन्टिलेटरसहितको एम्बुलेन्समा लानुपर्ने हुन्छ । 
कैलाश हेलिकप्टरले कोभिड रेस्क्युको लागि तयारी गरिरहेको जनाएको छ । कम्पनीले केही दिनभित्रै कोभिड रेस्क्यु सुरु गर्ने जानकारी दिएको छ ।

यसै गरी प्रभु हेलिकप्टरले आफूहरूले कोभिड रेस्क्युको लागि नागरिक उड्डयन  प्राधिकरणसँग अनुमति नलिए पनि रेस्क्युको लागि धेरै माग आइरहेको बताएको छ । प्रभुले अरू रेस्क्यु उडान गरे पनि कोभिड बिरामीको रेस्क्यु भने गरेको छैन ।

एउटा एयर-लिफ्टको भाडा नै डेढदेखि दुई लाखसम्म

हेलिकप्टर कम्पनीले सामान्य अवस्थामा १ घण्टाको १८ सय अमेरिकी डलर (२ लाख १३ हजार रुपैयाँ) देखि दुई हजार अमेरिकी डलर (२ लाख ३७ हजार रुपैयाँ) भाडा लिने गर्थे । तर, गत वर्षदेखि कोभिडको कारण माग कम भएसँगै उनीहरूले १ घण्टाको १२ सय डलर (१ लाख ४२ हजार रुपैयाँ) सम्म उडान गरिरहेका छन् ।

सिम्रिकका अप्रेसन पाइलट गुरुङले कोभिडको लागि ठाउँ हेरेर १ लाख ५० हजारदेखि २ लाखसम्म थप शुल्क लिने गरेको बताए ।
‘स्यानिटाइजिङ, पिपिइ, कोभिड संक्रमणको रिस्क, कोभिड चेम्बर लगायतको कारण खर्च बढी लाग्ने हुँदा हामीले सामान्य मूल्यमा थप रकम लगाएका छौँ ।’

श्री एयरलाइन्सका मानन्धर हवाइ उद्धारको भाडा क्षेत्र अनुसार फरक पर्ने बताउँछन् । उनका अनुसार भौगोलिक क्षेत्र र समयको आधारमा रेस्क्यु रकम फरक पर्छ । यो वर्ष नेपालगञ्ज, दाङ, भैरहवा, वीरगञ्ज क्षेत्रबाट बढी एयरलिफ्ट माग भइरहेको उनले बताए ।

  • प्रकाशित मिति : बैशाख २३, २०७८ बिहीबार २२:२६:२५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया