भोक र लकडाउन

देशभर लकडाउन सुरु भएको 
आज दशौं दिन

फलफूल र प्रसाद लिएर
आउन छाडेपछि भक्तहरु मन्दिरमा 
पुजारी भोकाउँदै गयो 
कथित अछुतलाई
आँगनसम्म टेक्न नदिने
मन्दिरको त्यो पुजारीलाई
आएर अपरिचित मान्छेले रोटी दियो
थर गोत्र केही नसोधी 
पुजारीले चुपचाप खायो रोटी 
र फेर्यो जनै
बजायो घण्टी
सल्कायो धुप
जप्यो मन्त्र 
सम्झेँ-
भोकले भुँडी चिथोर्न छोडेपछि मात्रै रहेछ
मान्छेले पूजा गर्ने भनेको 
कविले देश लेख्ने भनेको
मान्छेलाई जब भोक लाग्छ 
सपनामा पनि केवल रोटी देख्दोरहेछ
मन र मस्तिष्क सप्पै, सप्पै 
भोकले खोक्रो बनाउँदोरहेछ
भित्रभित्रै धमिरा बनेर खाँदोरहेछ मृत्यु
वेद र बाइबलको पवित्र उपदेश पनि
वाहियात लाग्दोरहेछ
मान्छेलाई जब भोक लाग्छ

सानो छँदा 
एकदिन हजुरबाले भनेको सम्झिन्छु
नाति ! रिस-राग,अहंकार र इर्ष्याले
पापको घडा भरिएर यसरी पोखिने छ कि
धर्ती रुखो हुँदै जानेछ 
खडेरी पर्नेछ लामो समय
मालिक भन्ने छैन भोकले
सम्राट भन्ने छैन रोगले
साँच्चै ! मान्छेले मान्छे खानेछ त्यो दिन
लाग्छ मृत्युभन्दा ज्यादा खतरनाक हुँदोरहेछ भोक
भोक लागेका बेला
नजिस्काउनु कसैलाई 
र नदेखाउनु  तलाउमा ओर्लेको जून
नत्र कुनै पनि बेला हाम फाल्न सक्छ भोको मान्छे 
रोटी सम्झेर जूनको प्रतिबिम्बलाई 
अनि,
कसलाई दिनु फाँसीको सजाय 
भोकलाई कि तलाउलाई ?

कान्छी !
तिमीलाई दिने माया त मसँग छदैछ 
बाँचिएछ भने फेरि भेटौँला
र मनाउँला हनिमुन
अहिले 
घरमै सुरक्षित बसौं 
देशभर लकडाउन जारी छ ।





  • प्रकाशित मिति : बैशाख २५, २०७८ शनिबार ६:११:२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया